८ वैशाख २०८१ शनिबार
अर्थ

१६ करोड लगानीमा ह्याचरी उद्योग

टीकापुर – कैलालीको जोशीपुर गाउँपालिका बौनियामा करिब १६ करोड रुपैयाँ लागतमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ । क्वालिटी ह्याचरी एन्ड एग्रिकल्चर प्रालिले सञ्चालनमा ल्याएको उक्त उद्योगले उत्पादन सुरु गरेको छ।

एक सातामा ४० हजार कुखुराका चल्ला उत्पादन गर्दै आएको उद्योगको क्षमता त्यो भन्दा पनि दोब्बर रहेको प्रबन्ध निर्देशक रुपराम चपाँईले जानकारी दिए । उनले यो ह्याचरीमा पश्चिम नेपालको सबैभन्दा ठूलो उद्योग भएको बताए । ‘चितवनभन्दा पश्चिममा यति ठूलो ह्याचरी उद्योग छैन,’ उनले भने, ‘लगानी र उत्पादन दुवै हिसाबले ठूलो उद्योग हो।’

उद्योगमा हाल १० हजार कुखुरा राखिएका छन् । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भएको उद्योग वातानुकूलित छ । कुखुराका लागि मौसम अनुसारको तातोचिसो वातावरण स्वचालित रुपमा सञ्चालन हुन्छ।

कुखुराका निम्ति दाना र पानी वितरणको व्यवस्थासमेत सिस्टममार्फत नै हुने गरेको प्रबन्ध निर्देशक चपाँईले बताए । ‘एक ठाउँमा दाना र पानी राखेपछि त्यो सबै कुखुरासम्म सिस्टमले नै पुर्‍याउछ । जसका कारण मान्छेले कुखुरालाई छोइराख्नु पर्दैन,’ उनले भने, ‘यसो गर्दा मान्छेका कारण कुखुरा बिरामी हुने सम्भावना ज्यादै कम हुन्छ।

कुखुराको नियमित स्वास्थ्य उपचारका लागि उद्योगले एकजना बंगलादेशी नागरिकलाई पशु चिकित्सकका रुपमा जागिरे राखेको छ । कुखुरामा कुनै स्वास्थ्य समस्या देखिए ती पशु चिकित्सकले उद्योगस्थलमै रहेको प्रयोगशालामा जाँच गरेर औषधोपचार गर्ने गरेका छन्।

उद्योगले छोटो समयमै पश्चिम नेपालका धेरै जिल्लामा आफ्नो उत्पादन पुर्‍याउन सफल भएको छ । प्रबन्ध निर्देशक चपाँईका अनुसार रोल्पा, रुकुम, प्युठान, दाङलगायत जिल्लामा समेत चल्ला खपत भइरहेको छ । यसका साथै सुदूर तथा मध्यपश्चिमका जिल्लामा समेत उद्योगले नियमित चल्ला पुर्‍याइरहेको छ।

‘अरु धेरै जिल्लाबाट समेत माग भैरहेको छ,’ प्रबन्ध निर्देशक चपाँईले भने, ‘माग भएअनुसार बजार विस्तारका क्रममा छौं ।’करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको उद्योग टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाँईलगायत पाँचजनाले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन्।

सञ्चालकले उद्योगलाई अझै अत्याधुनिक प्रविधिसँग जोडेर कुखुरा व्यवसायलाई व्यवसायीकरण गर्ने योजना रहेको बताए । उद्योगले कुखुरा व्यवसायलाई व्यवसायीकरण मात्रै गरेको नभई रोजगारीसमेत सिर्जना गरेको छ । उद्योगमा हाल ५० जनाले रोजगारी पाएका छन्।
 

प्रकाशित: २१ चैत्र २०७४ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App