४ वैशाख २०८१ मंगलबार
अर्थ

चिया कारखानामा चिनियाँ राजदूत

इलामको कन्याम चिया कारखानामा उत्पादित चियाको बासना लिँदै चिनियाँ राजदूत यु होङ। तस्बिर : भीम

कन्याम (इलाम)- तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

राजदूत होङले सोमबार जिल्लाको कन्याम चिया कारखाना र चियाबारीको भ्रमण गरिन्। कारखानामा हरियोपत्ती प्रशोधनप्रक्रिया, तयारी चियाको गुणस्तरलगायतबारे उनले जिज्ञासा राखेकी थिइन्। राजदूत होङले ट्रफमा ओइलाइएको हरियोपत्तीदेखि रोलिङ, ड्राइङ र प्याकेजिङसम्म गर्दाको प्रशोधनप्रक्रियाबारे जानकारी लिएकी हुन् । कारखानाको भ्रमणपछि उनले कन्याम चियाबारीमा पुगेर हरियोपत्तीको गुणस्तरबारे चासो राखेकी थिइन्।

कारखाना र बगानको निरीक्षणपछि राजदूत होङले चीनमा नेपाली चियाको बजार सम्भावना उच्च रहेको बताइन्। ‘नेपाल र त्यसमा पनि इलामको चिया निकै प्रख्यात छ,’ उनले नागरिकसँग भनिन्, ‘यो कारखानाको चियामा फरकखालको बासना, कुनै फलफूलको जस्तो मीठो रहेछ, यहाँको ब्ल्याक टी चीनमा राम्रो मूल्यमा बिक्री हुन्छ भन्ने लाग्यो ।’ चीनमा आउने पर्यटकले चिया पिएपछि स्थानीय व्यवसायीलाई ‘यो नेपालको चिया हो ?’ भनेर सोध्ने गरेको पनि उनले बताइन् ।

राजदूत होङले यहाँको चिया राम्रो छ भनेर चीनमा बजारीकरण गर्न सुझाइन् । ‘हुन त म चियाको विज्ञ होइन तर यहाँका चिया उद्योगको भविष्य उज्वल देखिन्छ,’ उनले भनिन्, ‘गुणस्तरीय चिया उत्पादन गर्दा नेपाली चियाले बजारको अवसर लिनसक्ने रहेछ ।’ उनले चीन सरकारले चियाको आयात–निर्यातमा करछुटको सुविधा दिएर चियाको बजारलाई प्रोत्साहन गरिरहेको पनि बताइन् । राजदूत होङले कन्याम, कन्यामकै सूर्योदय चिया उद्योग र सुन्दरपानीस्थित अर्गानिक चिया उत्पादक गोर्खा टी स्टेटको भ्रमणगरी त्यहाँ उत्पादित चियाको स्वाद चाखेकी थिइन्।

चियाको फस्टफ्लस (पहिलो टिपाइ) सुरु भएपछि स्वदेशी र विदेशी चिया व्यापारी धमाधम इलामका चिया कारखानामा आइरहेका छन् । यहीक्रममा चिनियाँ राजदूतसमेत विशेष चासोका साथ चिया कारखानाहरूमा आएपछि उद्योगी र किसान नै उत्साही छन् । गोर्खा टी का सञ्चालक उदय चापागाईंले चिनियाँ राजदूतको भ्रमणले नेपाली चियाको बजार सम्भावना उच्च बनाउने अपेक्षा गरे । ‘हामीले अहिले तेस्रो मुलुकमा चिया बेच्न विभिन्न झन्झट बेहोर्नुपरेको छ,’ उनले भने, ‘चिनियाँ राजदूतको भ्रमणले अब चीनमा चाहिँ नेपाली चिया चिनाउन त्यति गाह्रो पर्दैन भन्ने विश्वास छ।’ उनले जर्मनी, अमेरिका, रुस, न्युजिल्यान्ड, फ्रान्सलगायतका मुलुकबाट पनि चिया व्यापारी आएर फस्टफ्लसको चिया अर्डर गरिरहेको बताए।

कन्याम चिया बगानका प्रबन्धक रजनीश मुदालियारले नेपाली चिया दार्जिलिङको भन्दा कान्छो भएकाले गुणस्तर राम्रो भएको बताए। उनले भारत र अन्य देशका व्यापारी पनि नेपाली चियाप्रति आकर्षित हुने गरेको बताए। ‘हाम्रो चिया कलिलो भएकाले पनि व्यापारीले दार्जिलिङको चियाभन्दा मन पराउने सम्भावना छ,’ उनले भने, ‘हावापानी राम्रो भएकाले यहाँको चिया बेच्न समस्या चाहिँ छैन।’

 

 

प्रकाशित: १९ चैत्र २०७४ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App