coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालगृहलाई घडेरी बेचेर ४० लाख

बेसीसहरस्थित आदर्श महिला तथा सीप विकास बहुद्देशीय केन्द्र अन्र्तगत वालगृहलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सहयोगदाता सानुमाया गुरुङ। तस्बिरः नागरिक

लमजुङ – क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ गाउँकी ८० वर्षीया सानुमाया गुरुङ सानैदेखि अलि विद्रोही स्वभावकी। ‘छोराले पढ्दा, छोरीले मेलापात र घरधन्दा मात्रै गर्नुपर्ने किन ?’, ‘छोरालाई जागिरमा लगाउने छोरीलाई विहेदान गरेर पठाइहाल्नु पर्ने कारण के हो ?’, ‘छोराले मात्रै अंश पाउने छोरीलेचैं अंश नपाउने किन ?’ यस्तै अनेकौं अमिल्दा अवस्थाका प्रश्नहरू उनको मनमा खेलिरहन्थे।

अनुत्तरित त्यस्ता प्रश्नहरूको मुर्छनाहरू झेल्दै हुर्किएकी तीनै सानुमाया कालान्तरमा छोरी पढाउने अभियान्त बनिन्, बेसाहराको साहरा अनी अनाथहरूकी अभिभावक बनिन्। पढ्न नपाएका महिलालाई सीप दिने उद्देश्यले ०४६ सालमा आदर्श महिला तथा सीप विकास बहुउद्देशीय केन्द्र स्थापना गरेर महिला हितको अभियान सुरु गरेकी उनले अहिले सोही संस्थालाई ४० लाख रुपैयाँ दान गरेकी छन्।

सदरमुकाम बेसीशहरस्थित आर्दश महिला तथा बाल विकास केन्द्रमा मुठीदान बाट सञ्चालित बालगृहमा स्थापित अक्षयकोषका लागि उनले सोे रकम सहयोग गरेकी हुन्। बालगृहका संस्थापक अध्यक्ष स्वर्गीय लेखनाथ अधिकारीको पाँचौ स्मृतिको अवसरमा सो संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले कोषाध्यक्ष धनुदेवी पिया र सचिव हुमा गुरुङलाई ४० लाख ११ हजार १ सय ११ रुपैयाँको  चेक हस्तान्तरण गरिन्। पोखराको लालीगुराँस टोलमा रहेको घडेरी बेचेर बालबालिका पढाउन सहयोग पुर्याउने उद्देश्यले दान गरेको गुरुङले बताइन्।

सानै देखिको पेवा संगालेर उनले ०३७ सालमा पोखरामा १ रोपनी जग्गा किनेको र सोही मध्येको जग्गा बिक्री गरेर बालगृहलाई सहयोग गरेको उनको भनाई छ। ‘सबैले आफूले सक्ने सघाउ गरे अनाथ र दीन दुःखीलाई हेर्न सकिन्छ,’ उनले भनिन्, ‘हामी सक्नेहरूले नै नसक्नेहरूलाई सघाउ गरे पुण्य मिल्ने त हो नि।’ अहिलेपनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण बेग्लै रहेको र छोरीमाथि गर्ने व्यवहार नै फरक रहेको उनको भनाई छ। समाजसेवा र महिला अधिकारका पक्षमा वकालत गर्दै आएकी उनले विवाह गरेर गृहस्थ जीवन नरोजेको संस्थाकी कोषाध्यक्ष धनुदेवी पियाले बताइन्। उनले छोराछोरी समान हुन् र समान व्यवहार गर्नु पर्छ, उनीहरूलाई अवसर दिनुपर्छ भन्ने आवाज उठाउँदै आएको पिया बताउँछिन्।

संस्थामा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आर्थिक सहयोग जुटाइएकोमा उनले सो रकम उपलव्ध गराएपछि कोषको रकम ७६ लाख रुपैयाँ पुगेको सचिव हुमा गुरुङ बताउँछिन्। संस्थाका तत्कालिन अध्यक्ष अधिकारीले आफ्नो अंशको जग्गा बिक्रीबाट आएको आधा रकम १० लाख रुपैयाँ जम्मा गरेर अक्षय कोषको थालनी गरेका थिए। देशमा १० वर्षे द्वन्द्वका क्रममा बालबालिका टुहुरा र अनाथ हुन थालेपछि ०६० मा स्वर्गीय लेखनाथ अधिकारीको अयक्षतामा द्वन्द्वपीडित तथा असाहय बालबालिका संरक्षण गृह स्थापना भएको हो।

त्यतिबेला ७ जना द्वन्द्वपीडित बालबालिका राखेर सेवा थालनी गरिएको बालकेन्द्रमा हाल ५ बालिका सहित १३ बालबालिका रहेका छन्। केन्द्रका अनुसार यसअघि १६ जनालाई परिवारमा पुनःस्थापना गरिएको छ। आश्रीत मध्ये केशमान विकले ओभरसियर, प्रतिक्षा केसीले डिप्लोमा अध्ययन गरिरहेका छन् भने शान्ता विकले कक्षा १२ उतिर्ण गरिसकेकी छन्।

अक्षय कोषमा हालसम्म ६४ जनाले सहयोग उपलब्ध गराएका छन् भने कोषको रकम ७६ लाख पुगेको छ। त्यसैगरी दैनिक १ रुपैयाँ दानगर्नेहरू १ सय ५५ जना रहेको बताइएको छ। मुठीदान, जन्मदिन, पितृस्मरण, वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरमा जुट्ने आर्थिक तथा जिन्सी सामानले बालगृहको नियमित सेवामा सहयोग पुगेको बताइएको छ। आश्रित बालबालिकाको अध्ययनमा बेसीसहरस्थित विद्या विकास वोर्डिङ स्कुलले समन्वय गर्दै आएको विद्यालयका संस्थापक अरुण चुडाल बताउँछन्।

स्थानीयतह अधिकार भइसकेको अवस्थामा नगरपालिकाका तर्फबाट आवश्यक सहयोग जुटाउने बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए। असहाय बालबालिकाको आश्रयस्थल भएकाले धेरैको भविष्य निर्माण गर्नमा बालगृहको ठूलो भूमिका रहने उनी बताउँछन्। सरकारी तथा गैह्र सरकारी क्षेत्रबाट यस्ता ठाउँमा सहयोग जुटाउनु सबैको दायित्व भएको समेत उनको भनाई छ।

प्रकाशित: १८ चैत्र २०७४ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App