६ वैशाख २०८१ बिहीबार
समाज

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

बीपी प्रतिष्ठानको मर्चरीअघि दोलख चन्दका श्रीमतीसहित आफन्तजनहरु । तस्बिर : नागरिक

धरान – फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो। 

खुशी साटेको अर्को रात अर्थात चैत १२ गते बिक परिवारको लागि बज्रपात भइदियो। बढुवाको फुली लगाएको एक दिन नबित्दै ३० बर्षीय भरतले देहत्यागे। उनकै आड र भरोसामा चलेको परिवार अहिले अकल्पनीय पीडाबाट गुज्रिरहेको छ। ‘घरको त मुल खाबो नै ढल्यो’, भरतका साढु दाई कालुराम बिकले भने, ‘आमा बुबा छैन, उनकै कमाईले परिवार चलेको थियो।’

भरत परिवारको माइलो छोरा हुन्। आमा बुबा सानैमा बितेपछि उनलाई जेठा दाजु भागीरामले हुर्काए। सेनामा भर्ती भएपछि भने घरको जिम्मेवारी भरतको काधमा आएको थियो। जेठा दाईसँग अलग्गिएर कान्छा भाई विनयसँगै उनको परिवार बस्दै आएको थियो। अलग भएपनि दाजुलाई पनि उनले सहयोग गर्न छोडेका थिएनन् भने कान्छा भाईको सबै जिम्मेवारी लिएका थिए। भाईको मृत्यु भएको खबर सुनेदेखि जेठा दाईको बेहोसी झै भएको साढुदाई कालुरामले बताए।

भरतको श्रीमती शान्ता गर्भवती छिन्। डाक्टरले चैत २८ गतेको डेलिभरी डेट दिएकोले उनी शव बुझ्न आइनन्। भरतको करिब ७ र ४ बर्षको दुई छोरी छन्। दाईको शव बुझ्न बुधबार धरान आइपुगेका कान्छा भाई विनय बोल्नसक्ने अवस्थामा थिएनन्। उनले नागरिकसँग संक्षिप्त कुरा गर्दै भने, ‘चैत ११ गते बिहान दाईसँग कुरा भएको थियो, त्यही नै अन्तिम भयो।’ 

सबुज गणमा कार्यरत भरतसँगै अर्का लेसनायक दोलखबहादुर चन्दको पनि सोमबार राति मृत्यु भएको थियो। सल्यान छत्रेश्वरी गाउँपालिका १ का चन्द घरका जेठा छोरा हुन्। घरमा एक वृद्ध आमा, कान्छा भाई छन् भने श्रीमती निर्मला, २ भाई छोरा र एक छोरी छन्। ‘परिवारको मुल मान्छे नै दोलख थियो’, काका जीवन चन्दले भने, ‘उसैको सहरामा परिवार चलेको थियो, अब निक्कै गाह्रो पर्छ।’ शव बुझ्न दोलखकी श्रीमती निर्मला आएकी छिन्।

पोष्टमार्टम गरेर शव परिवारको जिम्मा

बीपीको मर्चरीअघि भरत बिकको भाई विनयलाई सम्झाउँदै आफन्तजन ।

मृतक दुवैको परिवारजन सल्यान र बर्दियाबाट बुधबार दिउसो इटहरीस्थित पृर्वी पृतना आइपुगेको थियो। पृतनाले परिवारजनसँग आवश्यक छलफल गरेपछि परिवारले शव बुझेर लैजान राजी भएपछि साँझ सवा ५ बजेतिर पृतनाको टोलीसहित परिवारजन धरान आएको थियो।

सेना र प्रहरीको बिशेष आग्रहमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अबेरसम्म पर्खेर पोष्टमार्टम गरेको थियो। ‘दुवैको पोष्टमार्टम भएर परिवारले जिम्मा लिएका छन्, एक जनाको शव इटहरीमा दाहसँस्कर गर्ने र अर्को घर लैजानेछन्’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले भने। चन्दका आफन्तले इटहरीमा नै दाहसँस्कार गर्ने भएका छन् भने बिकको शव वर्दिया लैजाने भएका छन्। 

घटनाको आन्तरिक छानविन गरिदै 

सोमबार राति इटहरीस्थित पूर्वी पृतनाको पोखरीमा डुबेको अवस्थामा चन्द र बिक फेला परेको घटनाबारे नेपाली सेनाको पुर्वी पृतनासँगै हेडक्वार्टरले छानबिन शुरु गरेको छ। 

पृतनाका एक अधिकृतका अनुसार पृतनामा रहेको कानुनी शाखाले घटनाको छानबिन शुरु गरिसकेको छ भने माथिल्लो निकाय हेडक्वार्टरबाट पनि अनुसन्धान थालिसकेको छ। ‘दुई जनाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु भइसकेको छ। पृतनामा कानुनी शाखा हुन्छ, त्यो निकायले छानबिन थालिसकेको छ, माथिल्लो निकायबाट पनि छानबिन हुदैछ’, ती अधिकृतले भने, ‘३५ दिनको म्याद हुुन्छ, छानबिन गरेर रिपोर्ट बुझाउछौं।’

पूर्वी पृतनास्थित सबुज गणमा कार्यरत चन्द र बिकको सोमबार राती रहस्यमय मृत्यु भएको थियो। पृतनास्थित पोखरीमा माछा मार्न गएका दुवैको करेन्ट लागेर मृत्यु भएको भनिदै आएको छ। यद्यपी, घटनाको विस्तृत विवरणबारे सेनाले बताएको भने छैन। नाम नखुलाउन आग्रह गर्दै ती अधिकृतले भने, ‘दुवै जना पोखरीमा डुबेको देखेपछि निकाल्दा पल्स थियो। त्यसैले डक्टर आफैले बीपी लिएर आउदै गर्दा बाटोमा मृत्यु भयो।’

प्रकाशित: १४ चैत्र २०७४ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App