coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुस्सुले चिया टिपाइ ढिलो

इलामको कन्याम बगानमा गत सिजनमा चिया टिप्दै मजदुर । तस्बिर : भीम/नागरिक

इलाम – गत वर्षहरूको तुलनामा यो वर्ष पहिलो चिया टिपाइ (फस्ट फ्लस) ढिलो भएको छ । हिउँदमा सुक्खा र यतिबेला मौसम धुम्म भएकाले हरियो पत्ती पलाउन नसकेको चिया किसान र उद्योगीले बताएका छन् । गत पुस–माघमा पानी नपरेर चियाको हरियो पत्ती पलाउन ढिलो भएको हो।

फागुन अन्तिमतिर चाहिँ पानी परेर मौसम नखुलेकाले हरियो पत्तीमा असर पुगेको उद्योगी र किसानले बताए । इलाम चिया बगानकी इन्दिरा गुरुङले अहिलेसम्म चिया टिपाइ सुरु हुन नसकेको बताइन् । ‘पोहोर फागुन अन्तिममा चिया टिपाइ सुरु भएको थियो,’ उनले भनिन्, ‘यो वर्ष चैत पहिलो साता बित्दा पनि सुरु भएको छैन । अझै पहिलो टिपाइका लागि दुई सातासम्म लाग्न सक्ने उनले जनाइन्।

‘गएको हिउँदमा पानी नपुगेर पत्ती पलाउन नसकेको हो,’ गुरुङले भनिन्, ‘गतवर्ष पनि पत्ती उत्पादन घटेको थियो, यो वर्ष पनि उही अवस्था होलाजस्तो छ ।’ इलाम चिया बगानमा गत सिजनमा ८ हजार किलो तयारी चिया उत्पादन भएको थियो । सरकारले त्रिवेणी सांघाई समूहलाई लिजमा दिएकामध्ये इलाम चिया बगानमा मात्रै अर्गानिक चिया उत्पादन हुन्छ । जिल्लाकै कन्याम चिया बगानमा पनि टिपाइ सुरु हुन सकेको छैन । पानी अभावले चियापत्ती नै ढिलो पलाएको बगानले जनाएको छ।  

किसानका अनुसार यो वर्षको पुस–माघमा पानी परेन । तर, चैतमा चाहिँ मौसम नखुलेर पत्तीमा असर पुगेको छ । साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनालीले यतिबेला घाम लागिदिए हरियो पत्ती उत्पादन राम्रो हुने बताए । ‘बेलामा पानी नपरेर पत्ती घटेको थियो, अहिले घाम नलागेर झन् बिग्रिँदै छ,’ मैनालीले भने, ‘पत्ती नै नभएकाले टिपाइ ढिलो भएको छ।’

हिमालयनले अब सुरु हुने सिजनका लागि किसानलाई दिने हरियो पत्तीको मूल्यसमेत तोकिसकेको छ । मैनालीका अनुसार किसानलाई सामान्य अर्गानिक हरियो पत्तीको प्रतिकिलो एक सय एक र विषादीरहित पत्तीको प्रतिकिलो ८५ रुपैयाँ तोकिएको हो । ‘नर्मल पत्तीमा प्रतिकिलो सय रुपैयाँ नघाएको यो पहिलो हो,’ उनले भने, ‘गतवर्ष त्यसको मूल्य प्रतिकिलो ७५ मात्र थियो।’

चमैतास्थित तीनजुरे चिया कृषक सहकारीका सरद तिम्सिनाले यो वर्ष चिसो बढी भएकाले पत्ती नपलाएर टिपाइ ढिलो भएको बताए । ‘बेलामा वर्षा भएन, अहिले घाम लागेन,’ उनले भने, ‘मौसम नमिलेर उत्पादन ढिलो भयो ।’ उनले ढिलो गरी टिपाइ हुँदा उत्पादन घट्न सक्ने बताए । ‘समयमै टिप्न पाइएन भने उत्पादनमा असर पुग्छ,’ उनले भने, ‘मौसम मिलेन भने गुणस्तरमा समेत समस्या हुनसक्छ।’

सहकारीमा गतवर्ष २७ हजार किलो हरियो पत्ती उत्पादन भएको थियो । सहकारीले नै उद्योग सञ्चालन गरी चिया प्रशोधनसमेत गरिरहेको छ । यहाँको चियाको बढी माग काठमाडौं, धरान, पोखरलगायतका बजारमा भएपनि फ्रान्स, रुसलगायत देशमा समेत निर्यात गर्ने गरेको उनले बताए ।केन्द्रीय चिया सहकारी संघले देशका कम उचाई भएका स्थानमा समयमा वर्षा अभावले चिया टिपाइ टिपाइ ढिलो भएको जनाएको छ।

संघका महासचिव रविन राईले औलाली भेगमा टिपाइ ढिलो भएपनि लेकाली भेगमा चिया टिप्ने समय हुँदै गरेको बताए । ‘छिटफुट सहकारीका किसानले चिया टिप्न थालेका छन्, धेरैले टिप्न थालेका छैनन्,’ उनले भने, ‘यो वर्ष वर्षा कम भएकाले उत्पादनमा असर पुग्ने सम्भावना छ ।’सहकारीमा इलाम, पाँचथर, धनकुटा, झापा, ताप्लेजुङ, तेह्रथुम, ललितपुरलगायत जिल्लाका सय चिया सहकारी संस्था आबद्ध छन्। ती सहकारीमा ७५ हजार किसान आबद्ध रहेको महासचिव राईले जनाए । चिया सहकारीले १७ उद्योग सञ्चालन गरेको र थप १४ उद्योग सञ्चालन हुने प्रक्रियामा रहेको संघले जनाएको छ ।

‘सहकारीस्तरबाट चिया उत्पादनको अवस्था राम्रो छ तर तेस्रो मुलुकमा बिक्रीका लागि किसानको पहुँच पुग्न सकेको छैन,’ उनले भने, ‘किसानले दर्जनौं समस्या झेल्नुपरेको छ।’     जिल्लामा सरकारीबाहेक निजी ठूला चिया उद्योगसमेत सञ्चालनमा छन् ।नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा दुई अर्ब ४१ करोड तीन लाख ११ हजार रुपैयाँको तयारी चिया विदेश निर्यात भएको छ । कुल उत्पादनमध्ये अर्थाेडक्सको ५५ लाख र अर्गानिकको हिस्सा तीन लाख किलो छ।

घरेलु प्रयोगबाहेक उत्पादनको करिब ८० प्रतिशत चिया भारत र २० प्रतिशत चाहिँ तेस्रो मुलुक निकासी हुने गरेको हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले जनाएको छ । ‘तेस्रो मुलुक जाने गरेकोमध्ये पनि ६० प्रतिशत जर्मनी र बाँकी अन्य मुलुकमा निर्यात भइरहेको छ,’ होट्पाका प्रमुख कार्यकारी अधिकृत तथा चियाविज्ञ चन्द्रभूषण सुब्बा भन्छन्, ‘अहिले निजी क्षेत्र मात्र होइन, सरकारी बगान, सहकारी संस्थालगायतले पनि स्पेसल टी उत्पादन गर्न थालिसकेका छन्, उनीहरू सबैको व्यापार टार्गेट नै तेस्रो मुलुक हो।’  

 

 

प्रकाशित: १२ चैत्र २०७४ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App