४ वैशाख २०८१ मंगलबार
प्रवास

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्।

सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय अध्ययनरत छिन्। प्रतियोगितको टाइटल हात पारेपछि खुसी हुँदै उनले आगामी दिनमा परोपकारी काम गरेर मानवीय सहयोगमा जुट्ने प्रतिबद्धता जनाइन्। प्रतियोगितामा प्रशंसा लिम्बूले फस्ट रनर अपको उपाधि हासिल गरिन्। त्यस्तै सेकेन्ड रनर अप विभिया श्रेष्ठ भइन्। इभेन्ट एन्ड आइडियाजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौ संस्करण हो। प्रतियोगिताको प्रमुख कोरियोग्राफर तथा प्रशिक्षक नायिका प्रियंका कार्की थिइन्। उनी सोही प्रतियोगितका लागि दुईसातादेखि बेलायतमै छन्।

कार्यक्रम उद्घाटन गर्दै  प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत शरद आरनले प्रतियोगिताले बेलायमा रहेको नयाँ पुस्तामा रहेको प्रतिभाका कदर हुने बताउँदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । गैरआवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्यले मिस यूके नेपालमा सहभागीले गैरआवासीय नेपाली संघको अभियानमा समेत उल्लेख्य भूमिका खेल्न सक्ने बताउँदै अभियानलाई सुझाव र सल्लाह दिन आग्रह गरे।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, कार्यक्रम संयोजक शान्ति गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  करिब ५ सय दर्शक उपस्थित प्रतियोगितामा गायिका श्रेया सोताङ, गायक धर्मेन्द्र सेवा र आरके स्क्वायर ब्यान्डले आ–आफ्नो प्रस्तुति दिए। नायिका अनिता लिम्बु, रिस्मा गुरुङ,  सागर र काजोल, जीवन पुनलगायतले नृत्य प्रस्तुत गरे। यसअघि बेलायतको विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको निर्णायक मण्डल गठन गरिएको थियो। कार्यक्रममा मिस यूके नेपाल सफल पार्न सहयोग गर्ने बिभिन्न मिडियाहरुलाई प्रशंसापत्रद्वारा सम्मानसमेत गरिएको थियो।

निर्णायक मण्डलमा कमल भण्डारी, प्रसुना कँडेल, गौमाया गुरुङ, नरेश खपांगीमगर,  डा. प्रियम्बडा पौडेल, राष्ट्र राई  र केन्द्र गुरुङ थिए।

तस्बिरहरुः मिलन तमू

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App