८ वैशाख २०८१ शनिबार
कला

माहुरी मेहनत

चितवनकी गीता देवकोटाले उमेर छँदै पति वियोगको पीडा सहनुप-यो। २०४५ मा विवाह गरेकी उनी २०४९ मै एकल महिला हुन पुगिन्। 

तीन वर्षको छोरा हुर्काउँदै उनी केही वर्ष घरमै बसिन्। समाजमा घुलमिल हुन सकिनन् हिले उनी उद्यमी समाजमा समृद्धिको उडान उड्दै छिन्।
 
‘मौरी नै मेरो एकल जीवनको सम्पूर्ण सहारा बन्यो,’ महिला उद्यमी महासंघ नेपालले राजधानीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी उनले नागरिकसँग भनिन्, ‘यही व्यवसायले अहिले मलाई घरको कोठाबाट खुला आकाशमा उड्न सक्षम बनाएको छ।’

दुई घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय ५, ४०, ५०, एक सय हुँदै अहिले एक सय ७५ घार पुगेको छ । व्यवसायबाट वार्षिक पाँच हजार केजी मह उत्पादन हुन्छ, प्रतिकेजी पाँच सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन्।

महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी उद्यमी महिलाका संघर्ष कथा ।

‘आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि यो व्यवसायले मलाई अगाडि बढायो,’ उनी भन्छिन्, ‘आर्थिक रूपमा सम्पन्न भएपछि महिलाले समाजमा अगाडि बढ्न सहज हुँदो रहेछ।’
 
उनको यो सहज यात्रामा कष्टकर समय पनि गुज्रेको छ। दुई घार मौरी घरमा ल्याएकी उनले तालिम लिन कक्षाको झ्यालबाट बाहिर बसरै सिक्नु परेको तीतो अनुभव छ। ‘मौरीसम्बन्धी तालिममा भित्र बस्न नपाएपछि बाहिरै उभिएर सिकँे,’ उनले भनिन्, ‘त्यही सिकाइले अहिले मलाई सबैको अगाडि उभिन सिकाएको छ।’

मौरी व्यवसाय अगाडि बढाउने क्रममा उनले थुप्रै दुःख पनि भोगिन्। मौरीलाई चराउन लैजाँदा तोरीवाला किसानले हाम्रो फूल मौरीले चुसेर खाइदिन्छ भनेर राख्न नदिएको अनुभव पनि उनीसँग छ। अझ २०६२ मा त निजगढको भमरा पुलनजिक उनले मौरी चराउन लैजाँदा कसैले फूलमा विषादी छर्केको उनले सुनाइन्। ‘४५ घारमध्ये ३० घार मौरी त्यहीँ मरे,’ उनले भनिन्, ‘जीवनमा मैले भोगेको कठिन क्षण त्यो पनि रह्यो।’ 

यस्ता दुःखलाई शक्ति बनाउँदै अगाडि बढेकी उनले त्यसपछि दुःखका दिन देख्नुपरेन। सानातिना समस्या नआएका होइनन्। तर, उनले त्यसलाई जित्दै अगाडि बढिन्। मौरी आफूले मात्र पालिनन्, अरुलाई पाल्न उत्साहित बनाइन् । त्यसैले उनी गाउँमा ‘मौरीकी गीता दिदी’को नामबाट पनि चिनिन्छिन्।

‘अहिले त मौरी मेरो आफ्नै सन्तानजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘यसको भुनभुनाहटले मेरो मनमा शान्ति दिन्छ।’ मौरीले थोपा–थोपा गरेर जम्मा गरेको महजस्तै उनले एक–एक गरेर जम्मा गरेको घारले अहिले उनलाई सक्षम महिलाको दर्जामा पु¥याएको छ। उनी समाजका विभिन्न क्षेत्रमा सहभागी हुन्छिन्। त्यसमा सहयोग पु¥याउँछिन्। ‘गाउँका सहकारीदेखि अन्य सामाजिक कार्यमा सहयोग पु-याउने गरेकी छु,’ उनले भनिन्, ‘मौरीको विषयमा तालिम पनि दिन थालेकी छु।’ आफूले कक्षाबाहिर बसेर सिकेको ज्ञानले अन्यलाई कक्षा भित्रै बाँड्न पाउँदा गर्व लागेको उनले बताइन्। 

उत्पादन गरेर मात्र नपुग्ने उत्पादित वस्तु बजारमा पु¥याउने अर्को जिम्मेवारी भएको उनले बताइन्। यसका लागि महिला उद्यमी महासंघले पुलको काम गरेको उनले सुनाइन्। ‘गाउँघरमा सीमित उत्पादन देश–विदेशमा पुग्ने समय आएको छ,’ उनले भनिन्, ‘हामीले यहाँ सिकेका कुरा आफ्नो क्षेत्रमा लगेर बताउनेछौँ।’

मौरीको जस्तो मेहनत गर्ने देवकोटाजस्तै मुलुकका विभिन्न ठाउँबाट आएका उद्यमीले राजधानीमा आफ्नो संघर्षको कथा सुनाए। पूर्वको तेह्रथुमदेखि पश्चिमको कञ्चनपुरसम्मका महिला उद्यमीले ल्याएको उत्पादनले मेलामा सिंगो नेपाल झल्कन्थ्यो।

तेह्रथुम म्यालुङको श्री सरस्वती महिला बहुउद्देश्यीय संस्थाकी अध्यक्ष उषा श्रेष्ठले आफूहरूले २०५२ सालबाटै ढाकाका उत्पादन गर्न थालेको सुनाइन्। बजारको ज्ञानको अभावमा व्यवसाय फैलिन नसकेको उनको बुझाइ छ।

‘यहाँ आएपछि हामीले केही ठाउँ पाएको महसुस गरेका छौँ,’ उनले भनिन्, ‘विभिन्न ठाउँका ग्राहक एकै ठाउँमा पाउँदा खुसी लागेको छ।’

बिहीबार मेलाको पहिलो दिन उनको पहिलो ग्राहक नै प्रधानमन्त्री केपी शर्मा ओली रहे। तेह्रथुम जन्मघर भएका प्रम ओलीले आठ हजार मूल्यको ढाकाको सारी किनेको उनले बताइन्। ‘उहाँलाई हामीले तपाईंको जन्मघरको स्टल हो, केही किन्नुस् भन्यौँ,’ संस्थाकी उपाध्यक्ष वसन्ती गुरुङले भनिन्, ‘उहाँले नीलो रङको ढाकाको सारी आठ हजार तिरेर किन्नुभयो।’ प्रधानमन्त्रीले आफ्नो सामान किनेकामा हर्षित उनले यसले आफूहरूलाई हौसला बढाएको बताइन्। ‘हामी मात्र हैन, संस्थामा आबद्ध झन्डै ६ सय सदस्यका लागि यो खुसीको कुरा हो,’ उनले भनिन्, ‘यहाँको अनुभव हामी गाउँमा पुगेर साट्नेछौँ।’ 

२०६३ मा स्थापित संस्थामा विभिन्न जातजातिका मानिस आबद्ध भएको गुरुङले बताइन्। ‘बाहुन, क्षेत्री, जनजाति, दलित समुदायको उल्लेख्य सहभागिता छ,’ उनी भन्छिन्, ‘उद्यमले समाज जोड्दो रहेछ।’
 
यस्तै अनुभव छ, सुदूर पश्चिमको कञ्चनपुरबाट आएकी सरला खड्काको पनि। नेपाल महिला उद्यमी संघ कञ्चनपुरको प्रतिनिधित्व गरेर आएकी सरलाले स्थानीयस्तरबाट उत्पादित विभिन्न थरीका गुन्द्रुक, मस्यौरा र विजय सालका काठबाट बनेका गिलास ल्याएकी थिइन्। 

‘हाम्रो गाउँघरको तरकारीले राजधानीको बजार पाउने आशा गरेका छौँ,’ उनले भनिन्, ‘यो मेलाले हामीले सिक्ने मौका दिएको छ।’
 
कञ्चनपुरकी सरलाले यहाँ आएर सिक्दै गर्दा राजधानीका प्रतिष्ठित व्यवसायीका परिवार पनि आफ्नो व्यवसाय गर्ने थलोका रूपमा मेलालाई उपयोग गर्दै थिए। 
‘हामीले अल्लो र बम्बोको सारी नेपालमा मात्र होइन, अर्डरअनुसार विदेशमा पनि निर्यात गर्छौं,’ व्यवसायी प्रतिमा दुगडले भनिन्, ‘यस्ता मेला व्यापार प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ।’ 

दुगडले यसो भन्दै गर्दा सोनी जोशी आफ्नो स्टलमा भक्तपुरमा बनेका ढलोटका आकर्षक भाँडा मिलाउँदै थिइन् । कलात्मक बुट्टामा कुदिएका विभिन्न भाँडाकुँडा हेर्दैमा लोभ लाग्ने थिए। ‘परम्परागत भाँडामा कलात्मक बुट्टा भरेर आधुनिक रूप दिएका छौँ,’ उनले भनिन्, ‘मेलामा आगन्तुकले निकै ध्यान दिएर नियालेका छन्।

नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले आयोजना गर्न लागेको मेलाका एक सय स्टलमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्डलगायत देशका महिला उद्यमीद्वारा उत्पादित सामग्री राखिएको छ। 

मेलामा ललितपुर महापालकी लक्ष्मी नकर्मीले बनाएका खोस्टाका कलात्मक आकृतिले पनि धेरैको ध्यान तानेको थियो। खेर जाने खोस्टालाई रंगीन बनाएर विभिन्न आकृति दिँदै आएकी उनले यसले विदेशीसँगै नेपालीको पनि ध्यान तान्न थालेको बताइन्। विगत २४ वर्षदेखि यस पेसामा लागेकी उनले अहिलेसम्म नौ सय जनालाई आफ्नो सीप बाँडिसकेको बताइन्। 

‘सुरुका दिनमा नेवारी महिला तथा पुरुषको आकृति दिन थालेकी थिएँ,’ उनले भनिन्, ‘पछिल्लो समय ठाउँअनुसार राई, गुरुङ, मगर, बाहुन, क्षेत्री समुदायका अनुहार र वेशभूषाको पनि आकृति दिन थालेकी छु।’ स्टलमा रहेका आकृतिले पनि सिंगो नेपालको झल्को दिन्छ।

तेह्रथुमबाटै आएकी मीरा सुब्बा तानमा बसेर ढाकाको कपडा उन्दै थिइन्। उनले धागोसँग खेल्न थालेको ४३ वर्ष भइसकेको बताइन्। 

‘काममा निरन्तर लागेकी छु,’ उनले भनिन्, ‘अब काम रहर बनिसकेको छ।’ धागोका विभिन्न उल्झन सुल्झाउँदै आएकी उनले जीवनमा पनि विभिन्न थरीका उल्झन आउने सुनाइन्। 

मेलामा आकर्षणका रूपमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरेलु सामान, कागज र प्लास्टिकजन्य वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, गरगहना र सजावटका सामान छन्।

महासंघकी तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको उद्देश्य ग्रामीण महिलालाई स्वावलम्बी बनाउने रहेको बताइन्। ‘यो उनीहरूको उत्पादित सामग्री भेला गर्ने चौतारी हो,’ उनले भनिन्, ‘यहाँबाट उनीहरूले आ–आफ्नो क्षेत्रमा गएर अन्यलाई पनि उद्यमको बाटोमा हिँडाउने विश्वास छ। महासंघको अहिले ३० जिल्लामा शाखा छन्, यसको अभियान भनेको सातै प्रदेशका महिलालाई आत्मनिर्भर बनाउने हो।’

प्रकाशित: १० चैत्र २०७४ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App