coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जहाजबाट आँगनमै ओर्लिदा दङ्ग हजुरबा

बागलुङ- बागलुङ नगरपालिका—३ का कृष्णप्रसाद सापकोटा जहाजबाट आफ्नै आगनमा ओर्लन पाएकोमा दङ्ग छन्। २६ वर्षदेखि बन्द रहेको बागलुङ बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि ८० वर्षीय सापकोटाले यस्तो सुविधा पाएका हुन्। उनी पत्नी कौशिला सापकोटासंगै काठमाडौंबाट तारा एयरको पहिलो उडान मार्फत शुक्रबार घर फर्किए। २६ वर्ष अघि विमानस्थल बन्द नहुँदै आफन्तहरुलाई छोड्न बलेवा विमानस्थल पुगे पनि त्यहाँबाट जहाज नचढेका उनले सहज रुपमा आफ्नै घर आगनमा अवतरण गर्न पाउँदा खुशी लागेको बताए। ‘एयरपोर्ट बन्द हुनु पहिले आफन्तहरुलाई छोड्नका लागि त यहाँ आएको थिएँ,’ उनले भने,‘आज सहज रुपमा आफ्नै गाउँठाउँमा आईपुग्दा निकै खुशी लागेको छ ।’ उनले हवाई सेवा निरन्तर आफुहरु जस्तो उमेर पाका भएकाहरुलाई निकै सहज हुने सुनाए।

 ‘लामो समय गाडीमा यात्रा गर्न गाह्रो हुन्छ,’ उनले भने,‘यसले निकै सजिलो बनायो । अब यसलाई निरन्तरता दिनुपर्छ ।’ जैमिनी नगरपालिका—४ की विजया पौडेललाई त हवाई सेवा वरदान नै सावित भएको छ । उनी भन्छिन्,‘मलाई त गाडी लागेर हैरान हुन्थ्यो, जहाजमा सिधैं आउन पाउँदा त निकै ठूलो सुख भयो ।’ बागलुङ नगरपालिकाले आर्थिक जोखिम समेत बहन गर्ने गरी हवाई कम्पनीहरुसंग सम्झौता गरेपछि शुक्रबारदेखि बागलुङ—काडमाडौं नियमति हवाईसेवा सञ्चालन भएको हो । हवाई सेवाको पहिलो उडानबाट बागलुङ आउने यात्रु तथा चालक दलका सदस्यलाई बलेवा विमानस्थलमा बाजागाजा सहित दोसल्ला र अविर लगाएर स्वागत गरियो। पहिलो उडानबाट आएका यात्रुलाई बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का लगायत नगरभित्रका वडाध्यक्षहरुले विमानस्थलमा स्वागत गरेका थिए।

तारा एयरको नाईन एन एईटी जहाजमा १५ जना यात्रु सहित चालक दलका तीन सदस्य शुक्रबार दिउँसो बलेवा विमानस्थल अवतरण गरेका थिए। विमानमा क्याप्टेन सञ्जीव श्रेष्ठले उडान र अवतरणका लागि कुनै समस्या नभएको बताए। ‘आज त मौसम पनि सफा थियो, उडान अवतरणका लागि कुनै समस्या छैन,’ उनले भने,‘हामीले भने अनुसार रुखहरु पनि काटिएका छन्। अब यात्रुको फ्लो बढाउन सके राम्रो हुन्छ ।’ काठमाडौंबाट उडान भरेको ३८ मिनेटमा बलेवा अवतरण गरेको उनले सुनाए । एयर ट्राफिक कन्ट्रोलर नागरिक उड्यन कार्यालय पोखराका प्रवन्धक ईमानाथ अधिकारीले नगरपालिकाको पहलमा उडानका लागि बेसिक उपकरण उपलब्ध भएको जानकारी गराए। ‘हामीसंग अहिले बेसिक उपकरण मात्रै छन् एचएफ र भिएचएफ छ,’ उनी भन्छन्,‘सहज उडान र अवतरणका लागि सहज हुने गरी तामक्रम र हावाको चाप मापन गर्ने यन्त्र अहिले छैन ।’ जीर्ण भएका कारण टर्मिनल हल पनि मर्मत गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए।

बलेवा विमानस्थलमा जहाज आएको खुशी भएका यहाँका स्थानीय भाडादर सुनरे भने झस्किएका छन् । एयरलाईन्स कम्पनीले सुरुवातमै छ हजार सात सय भाडा उल्लेख गरेपछि यहाँका स्थानीय झस्केका हुन् । हवाई भाडादर महङ्गो भएको उनीहरुको गुनासो । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले हवाई भाडा घटाउनगरी छलफल भैरहेको बताए। ‘हामीले नागरिक उड्ड्यन प्राधिकरणसंग छलफल गरेर भाडादर निर्धारण गर्दा न्यूनतम चार हजा पाँचसय देखि अधिकतम छ हजार सातसयसम्म हुने भन्ने भएको हो,’ उनले भने,‘एयरलाईन्स कम्पनीले सिधै अधिकतम भाडा भनिदिएपछि जनतामा चिसो पसेको हो। त्यसलाई पनि कम गर्न सकिन्छ कि भन्ने प्रयासमा छौं ।’ बलेवा विमानस्थललाई नियमित सञ्चालनका लागि सडकको समस्या पहिलो समाधान गर्ने उनले बताए । ‘बागलुङ बजारबाट एयरपोर्टसम्म आउनका लागि पक्की सडक नहुँदा अलि समस्या छ,’ उनले भने,‘कालिगण्डकी करिडोरलाई जतिसक्दो छिटो कालोपत्रे गराउने गरी मन्त्रालय र विभागमा कुरा भएको छ।’

प्रकाशित: ९ चैत्र २०७४ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App