८ वैशाख २०८१ शनिबार
समाज

चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

काठमाडौं – नेपाल वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन। आएदेखि ‘घाममा सेकाएर’ राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ‘ह्यांगर’ छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको ‘बी ७६७’ सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको थियो। ‘यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो, ठेगान छैन,’ निगमका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, ‘एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले थन्किन पुगेको छ।’

निगमसँग रहेको ‘वाई१२–ई’ सिरिजको कलसाइन ‘९एन–एकेभी’ भएको जहाजको पुच्छरमा संयुक्त राष्ट्रसंघको साढे २ सयभन्दा बढी सिट क्षमताको बी ७६७ जहाजले ठक्कर दिएको थियो। यो एक साताअघिको घटना हो। त्यसैगरी यही सिरिजको कलसाइन ‘९एन–एकेयू’ भएको अर्को जहाज ह्यांगरमा बडी घुमाउँदा नाकपट्टिको भाग चर्किएपछि थन्किएको छ। निगम व्यवस्थापनले दुवै घटना गुपचुप राखेको छ।
‘राष्ट्रसंघको बोइङलाई सानो गाडीले तानेर ल्याउने क्रममा उसको पखेटाले चिनियाँ जहाजको पुच्छरमा रहेको ‘रडर’ मा ठक्कर दियो,’ ती अधिकारीले भने, ‘क्षति सामान्य देखिए पनि सामान नै फेर्नुपर्ने भयो, चीनबाट सामान मगाइएको छ।’

उनका अनुसार चिनियाँ जहाजको रडरका केही सामान फेर्नुपर्ने भएको छ। चीनबाट सामान आउने क्रममा छ। राष्ट्रसंघको जहाजले ठक्कर दिएको विषयमा छानबिन भइरहेको छ। ‘दुवै नयाँ चिनियाँ जहाज उडानमा थिए भने मर्मत पनि चाँडै भइसक्थ्यो होला,’ ती अधिकारीले भने, ‘तर काठमाडौं आएदेखि एकपटक पनि नउडेका जहाज मर्मत गर्न त्यति हतार गरेको देखिएन।’

दुई नयाँमात्र होइन, अहिले निगमसँग रहेका १७ सिट क्षमताका चारवटै चिनियाँ वाई १२–ई जहाज र ५८ सिट क्षमताको अर्को एकथान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको जहाज गरी पाँच जहाज थन्किएका छन्। त्यसमाथि ती जहाज उडाउन पाइलटको चरम अभाव छ।

सम्बद्ध अधिकारीका अनुसार दुई नयाँसँगै कलसाइन ९एन–एकेएस र ९एन–एकेटी भएका वाई १२–ई थन्किएका हुन्। एकेटी कलसाइनको जहाज थन्किएको ६ महिना भइसकेको छ। यो जहाजको इन्जिनमा समस्या आएपछि मर्मत गर्न क्यानडा पठाइएको छ। एकेएस कलसाइनको जहाजमा पनि प्राविधिक समस्या आएपछि थन्किएको दुई दिन भइसकेको छ।

‘आन्तरिक उडानमा यति गम्भीर समस्या भइसक्दा पनि व्यवस्थापन के हेरेर बसेको छ,’ निगमका एक वरिष्ठ पाइलटले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आक्रोश पोखे, ‘महाप्रबन्धकज्यूलाई अन्तर्राष्ट्रिय उडानमा वाइड बडी थप्नेबाहेक अरू ध्यान छैन, आन्तरिक सेवातिर के हेर्न भ्याउनुहुन्थ्यो!’

अर्को अचम्म के छ भने चारथान वाई १२–ई जहाज उडाउन निगमसँग अहिले जम्मा एकजना क्याप्टेन छन्। ती जहाज ‘कमान्ड’ गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन्। उनलाई साथ दिन कोपाइलट चारजनामात्र छन्। खासमा निगमसँग चारथान वाई१२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पा, वरिष्ठ क्याप्टेनमा भट्टराई र सञ्जय बादे श्रेष्ठ र क्याप्टेनमा उद्धव घिमिरे छन्। तीमध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा दुई महिनादेखि अमेरिकामा रहे पनि निगमको सम्पर्कबाहिर छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन्। अर्का क्याप्टेन अनिषमान शाक्यले भने राजीनामा दिएका छन्। त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा आएको हो। अहिले चारवटै जहाज थन्किएका कारण भट्टराईलाई पनि ‘राहत’ मिलेको छ। 

ती जहाज उडाउन कोपाइलटहरू लिबर्टी भण्डारी, सिर्जना रावत, प्रचण्ड खड्का, राकेशकुमार काफ्ले, विजय अवाले, रविन केसी र महेशराज पाण्डे छन् । तीमध्ये खड्काको ‘पाइलट प्रोफिसिएन्सी चेक’ (पिपिसी) पूरा भएको छैन भने केसी र पाण्डेको प्रशिक्षक पाइलट (आइपी) उडान अवधि पूरा नभएका कारण जहाज उडाउन पाउँदैनन्।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एकथान सानो जहाज उडाउन क्याप्टेन र कोपाइलट गरी पाँचजना चाहिन्छ। यसको अर्थ दुई क्याप्टेन र तीन कोपाइलट वा तीन क्याप्टेन र दुई कोपाइलट हुनुपर्छ भन्ने हो।

प्रकाशित: ९ चैत्र २०७४ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App