coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुर्का उघारियो, थपिए चुनौती

बाँकेकाे डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानाे । तस्बिर : कमल खत्री

काठमाडौं – चुलोचौको र सरसफाइलगायत घरव्यवहार गर्ने र श्रीमान्सहित परिवारका सदस्यलाई सघाउने साहिदा बानोको आठ महिनाअघिको दैनिकी फेरिएको छ । २२ वर्षअघि बुहारी बनेकी साहिदाको दैनिकीमा अचानक परिर्वतन आएको होइन । जीवनमा नसोचेको परिस्थिति आएपछि उनीघरको साँघुरो घेराबाट निस्केर जनसेवक बन्न पुगिन् । अहिले उनी हजारौं गाउँलेको सपना पूरा गर्ने नेतृबनेकी छिन् ।उनको अनुहारबाट बुर्का हट्यो तर उनको काँधमा चुनौतीथपिएका छन्।

घरबाहिर निस्कने र सार्वजनिक हितका काम गर्नुपर्ने उनले कल्पनासम्म गरेकी थिइनन् ।तर, उनलाई डुडुवा गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिने प्रस्ताव आयो । चुनाव लड्न सहज थिएन । घरबाहिर निस्कँदा नकाब लगाएर हिँडनुपर्ने र घरमा बस्दा घुम्टो काढ्नुपर्नेउनको स्थिति थियो । आफन्तको चाहनाले उनीघुम्टो र बुर्काउघार्दै चुनावमा होमिइन्। उनले भनिन, ‘सुरुमा पापा(ससुरा) ले चुनाव लड्ने कुरा गर्दा रिस उठेको थियो । यो राम्रो होइन भनेँ। मुस्लिम महिला भएर चुनाव लड्यो भनेर सबैले कुरा काट्छन् ।पछि सबैले मलाई सम्झाएपछि चुनाव लड्न तयार भएँ।’ 

चुनाव जितेर गाउँपालिका उपाध्यक्ष बनिन् ३७ वर्षे साहिदा। उपाध्यक्ष बनेसँगै उनको शरीरबाट बुर्का टाढियो। तर, थुप्रै चुनौती नजिकिए । औपचारिक अध्ययनगर्ने अवसर नपाएकी उनले बिहा हुनुअगावै माइतमा उर्दु र अरबी भने पढेकी थिइन् । आठ महिनाअघिसम्म उनका लागि नेपाली पढ्न, लेख्न र बोल्न असम्भवजस्तै थियो । जनप्रतिनिधि भएपछि उनका लागि नेपाली लेखपढ गर्नैपर्ने भयो । बिस्तारै पढ्नुपर्छ भन्ने सोचले उनले घरमै स्थानीय कमला बोहरासँग ट्युसन लिन थालिन्। आजभोलि उनले बिहान डेढ घण्टालेखपढ सिक्न खर्चेकी छिन् । उनी नेपालको कानुन बुझ्ने कोसिसमापनि छिन्।

ट्युसन पढनका थालेको एक महिनायता नेपाली बोल्न र पढ्नमा उनले निकै प्रगति गरेकी छिन् । ‘उहाँमा सिक्ने रहर छ । राम्रो सिकाइ भएको छ,’ कमलाले भनिन्, ‘नेपाली कसरी बोल्ने भनेर सिकाउने गरेकी छु । अहिले त उहाँ फोन नम्बर टिप्नेसम्मको भैसक्नु भएको छ ।’कानुनी सल्लाहकार र शिक्षिका कमलाबाट उनले कानुनका बारेमा बुभ्mने गरेकी छिन् । कमला भन्छिन्, ‘राम्ररी लेखपढ गर्न जान्नेलाई कानुन बुझ्न सहज हुँदैन । उहाँले भर्खर नेपाली अक्षर चिन्न थाल्नुभएको छ । कानुन पढेर बुझ्न केही समय लाग्छ।’ 

गत फागुनमा डुडुवा गाउँपालिकाको कार्यक्रममा साहिदाले सुरुमै आफूलाई नेपाली बोल्न नआउने भन्दै अवधि भाषामा भनाइ राखेकी थिइन् । त्यसको एक महिनापछि कार्यालयमा भेट्दा साहिदा गुनासो लिएर आउने जनता, कर्मचारी र पत्रकारसँग नेपालीमा कुरा गर्ने कोसिस गरिरहेकी थिइन् । सकेसम्म नेपालीमै कुरा गर्ने प्रयास थियो उनको । मद्रसामा पढेको अनुभव खेर गएको छैन । त्यहाँ प्राप्त ज्ञानले केही काम गर्न सघाएको छ । तर, नयाँ कामका लागि त्यो लेखपढ पर्याप्त छैन । गाउँपालिका प्रमुख, कर्मचारी र कानुनी सल्लाहकारको सहयोगले न्यास संयोजनको काम गरिरहेको साहिदाले बताइन् । उनको गाउँपालिकामा आउने मुद्दामा सम्बन्धविच्छेद र घरजग्गासम्बन्धी विवाद धेरै हुन्छन्। 

सम्बन्धविच्छेदका लागि आएका ६ मुद्दामध्ये २ वटामा मिलापत्र गराउन साहिदा सफल भइन् । २ वटा मुद्दा अदालतमा पुगेका छन् भने २ मुद्दामा छलफल भैरहेको छ । त्यसबाहेक ८ महिनामा प्राप्त उपलब्धिमा मन्दिर, मस्जिद, बाहिरबाट आउने कम्पनी र कलकारखानाबाट उठाउने कर संकलन गर्ने कानुन निर्माणहो ।बहसका लागि २ नम्बर वडाको बेतहनीमा इजलासकक्ष बनिरहेको छ।

बाँकेका सात स्थानीय तहमध्ये तीव्र गतिमा विकास गरिरहेको गाउँपालिका हो डुडुवा। गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच, निःशुल्क पशुचिकित्सा सेवा, बालबालिकालाई अनिवार्य शिक्षाजस्ता कार्यक्रम सञ्चालनमा छन् । गाउँपालिकाबाट भइरहेकाकामको अनुगमनमा साहिदा सक्रिय हुने गरेकी छिन् । उनको राजनीतिक करिअर सफल बनाउन परिवारले पनि साथ दिइरहेको छ । उनलाई ससुरा र श्रीमान् सलिमले निकै सहयोग गरिरहेका छन् । स्थानीय तह चुनावअघि साहिदा बानुलाई सलिमकीश्रीमती भनेर चिन्थे धेरैले । चुनावपछि भने उनी आफ्नै नामले चर्चित छिन्।
 
उपाध्यक्षकारूपमा उनले काम गर्न थालेको एक वर्ष पुग्न लाग्दैछ। योे अवधिमा उनले धेरै समस्या समाधान गरेकी छिन्। उनले भनिन्, ‘राजनीतिमा आउनु र चुनाव जितेर जनताको सेवा गर्ने काम मेरो लागि सहज थिएन । अझै पनि कठिन भैरहेको छ। चुनौती छन्। तर,चुनौतीपार गर्छु भन्ने लाग्छ। जनतासँग जेजति वाचा गरेको छु । त्यो पूरा गर्ने प्रयास गर्छु।’ गाउँपालिकाको कामले साहिदालाई राजनीति, समाज र नेतृत्वका बारेमा धेरै कुरा सिकाइसकेको छ । जनप्रतिनिधिलाई आउने दबाब र प्रभावका बारेमा पनि उनी बुझ्ने भैसकेकी छिन् । उनले भनिन्, ‘अरूले भन्दा मैले राम्रो गर्न सक्छु भनेर जनताले भोट दिए । गलत काम गर्दिनँ।’

प्रकाशित: ८ चैत्र २०७४ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App