coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी साधनमा टाँसिदै भाडादर

सवारी साधनमा भाडादरको सूची टाँस्दै जिल्ला ट्राफिक प्रमुख पदम राई र पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष गृष्म सुब्बा। तस्बिर : नागरिक

इलाम – तोकिएभन्दा बढी भाडा यात्रुबाट लिएको गुनासो बढेपछि प्रत्येक सार्वजनिक यातायातका साधनमा भाडा सूची अनिवार्य गरिएको छ। जिल्ला ट्राफिक प्रहरी पूर्वेली जिप तथा ट्याक्सी व्यवयासी संघले बुधबार सवारी साधनहरूमा भाडा दरको सूची राख्ने कार्यको थालनी गरे।

ट्राफिक प्रमुख पदम राई र संघ अध्यक्ष गृष्म सुब्बाले यात्रुको सुविधा ख्याल गर्दैै सबै यात्रुले देख्नेगरी सवारी साधनमा भाडासूची राख्न अनुरोध गरेका थिए। त्यसक्रममा राईले जिल्लामा चालू आर्थिक वर्ष बढी भाडा लिएका तीन सवारी साधनलाई कारबाही गरिएको बताए। ‘विशेषगरी चाडबाडका बेला, जिल्लामा सभा–समारोह, खेलकुदजस्ता उत्सवहरूमा सवारी साधनले बढी भाडा लिने गरेको गुनासो यात्रुले गर्ने गरेका छन्,’ राईले भने, ‘उजुरी आए यातायात कार्यालयसँग समन्वय गरेर तत्काल कारबाही गराउँछौं।’

कुनै पनि सवारी साधनले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिए उसलाई जरिमाना गराउने र लिएको बढी भाडा फिर्ता पनि गराउने प्रमुख राईले बताए। उनले तोकिएभन्दा बढी कुनैपनि हालतमा भाडा नलिनेगरी नियमन गर्न माथिल्लो तहबाट निर्देशन आएकाले जिल्लामा त्यहीअनुसार भाडादर कार्यान्वयन गराउने बताए। ‘अब प्रत्येक सार्वजनिक सवारीमा भाडाको सूची हुनेछ, यात्रु पनि आफूले तिर्नुपर्ने भाडादरबारे सचेत हुनुपर्छ,’ उनले भने, ‘कसैले बढी भाडा लिए उजुरी गर्नुस्, दोषीलाई कारबाही गर्नेछौं।’

संघ अध्यक्ष सुब्बाले यात्रुको सेवा–सुविधालाई ध्यानमा राख्नु सार्वजनिक सवारी साधनको पहिलो कर्तव्य भएको बताए। ‘हामीले सकेसम्म यात्रुलाई सुविधा दिनुपर्छ,’ उनले यातायात व्यवसायी र मजदुरहरूसँग भने, ‘तोकिएभन्दा बढी भाडा कहिल्यै लिन हुँदैन। यात्रुलाई सन्तुष्ट बनाउनुपर्छ।’ अध्यक्ष सुब्बाले ट्राफिक नियम पालना गर्न, यात्रुमाथि अभद्र व्यवहार र बोलीबचन नगर्न पनि यातायात मजदुरलाई आग्रह गरे।

भाडादर स्पष्ट नहुँदा यात्रु र यातायात मजदुरबीच बेला–बेला झगडा, मनमुटाव हुने गरेको व्यवसायी बताउँछन्। ‘भाडादरबारे दुवै पक्ष स्पष्ट नहुँदा जिल्लामा भाडाको विषयलाई नै लिएर कुटाकुटसमेत हुने गरेका समस्या आउँछन्,’ अध्यक्ष सुब्बाले भने, ‘यात्रुले आफूले तिनुपर्ने भाडा कति हो भन्ने थाहा पाऊन् भन्ने उद्देश्यले सरकारले तोकेको भाडादर सवारी साधनमा कार्यान्वयन गराउन खोजिएको हो।’ उनले जिल्लाका सडकहरूमा कुद्ने सवारी साधनमा भाडाको सूची राख्न र यात्रुले चाहेका बेला इमान्दारीपूर्वक देखाउन पनि आग्रह गरिएको बताए।

प्रकाशित: ७ चैत्र २०७४ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App