८ वैशाख २०८१ शनिबार
समाज

चिठ्ठा प-यो भन्दै ठगी : सहयोगी पक्राउ, मुख्य अभियुक्त फरार

पाँचथर– इमो तथा भाइबरमा चिठ्ठा प-यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन्। चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढिरहेको छ।

चिठ्ठाका लागि पैसा पठाएर ठगिएपछि प्रहरी कहाँ आउने गरेका छन्। पछिल्ला दिनमा यसरी ठगिनेहरु प्रहरीको टाउको दुखाईको विषय बनिरहेको छ। ठगीमा संलग्न भएको अभियोगमा विभिन्न ठाउँबाट समेत पक्राउ परेका छन्। तर पक्राउ परेकाहरु मुख्य अभियुक्त नभई सहयोगीहरु बढी रहेका छन्। विभिन्न ठाउँबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै फोन तथा म्यासेज आउने गरेको छ। यहि लैई लैईमा लागेर पैसा पठाउनेहरु ठगिदै छ। देशका विभिन्न जिल्ला प्रहरी कार्यालयले ठगीका उजुरीका आधारमा अनुसन्धान गरेको छ। पक्राउ परेकाहरु सहयोगीमात्र रहेका खुल्न आएको छ।
मुख्य अभियुक्तले एजेण्टको रुपमा प्रयोग गरेका व्याक्तिहरु पक्राउ पर्ने गरेका छन्। विभिन्न ठाउँमा पैसा झिक्नका लागि प्रयोग गरेका व्यक्तिहरुलाई प्रहरी पक्राउ गरी ठगीमा मुद्दा चलाएको हो। चिठ्ठाको लोभमा ३० हजार देखि ५ लाखसम्म ठगी भएको सार्वजनिक भएको छ।

‘समुह बनाएर ठगी गरेको पाइएको छ। देशका विभिन्न जिल्लामा मुद्दा चलिरहेको अवस्था छ। ठगीका बारेमा अनुसन्धान भइरहेको छ’ नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने, ‘ठगीमा जसरी संलग्न भएपनि त्यो दोषी हो। विभिन्न प्रलोभन देखाएर ठगी गर्ने ठुलै समूह सक्रिय भएको हुन सक्छ। मुख्य दोषीको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सुरुमा चिठ्ठा परेको भनेर खबर गरेपछि चासो देखाउनेलाई विभिन्न तरिकाबाट फकाएर फर्काउने गरेको पाइएको छ।’ उनका अनुसार यस किसिमको ठगिका घटना देशभरबाट आइरहेका छन्। 

विभिन्न जिल्ला तथा इलाका प्रहरी कार्यालमा उजुरी भएपछि अनुसन्धान भइरहेको छ। भारत तथा पाकिस्तानबाट फोन गर्ने गरेको अनुसन्धानमा सलग्न प्रहरीको बुझाई छ। नेपालमा पैसा झिक्न प्रयोग गरिएका व्यक्ति पक्राउ परेका हुन। प्रविधीको मिस युज गर्दै ठगी गरको पाइन्छ। मुख्य दोषी पक्राउ गर्न निक्कै कठिन भएको बताईन्छ। प्रदेश–१ का  मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, उदयपुर जिल्लाका बासिन्दा ठगिएका छन्। ललितपुर, चितवन, रुपन्देही लगायतका जिल्लामा पनि ठगी भएको बताइन्छ। चिठ्ठा पर्यो भन्दै मख्ख परेर पैसा पठाईदिनेहरु ठगिएका छन। नेपालका विभिन्न बैँक तथा मनि ट्रान्सफर्सहरुमा पैसा पठाईदिने गरेका छन्। पैसा झिक्नेले अर्कोलाई दिने वा पठाईदिने गरेको पाइएको छ। चिठ्ठा पर्यो भन्दै फसाउने नजिक प्रहरी पुगको छैन। भारत तथा पाकिस्तानमा बसेर बढी काम भइरहेको अनुमान छ। कतिपय नेपालबाट पनि भइरहेका हुन सक्ने बताइन्छ। कमिसन दिएर पैसा झिक्न लगाउने गरेको प्रहरीको बुझाई छ।  सात जनालाई एक पछि अर्को गर्दै पैसा हस्तान्तरण गरेको समेत पाइएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए। 

‘हाम्रोमा र देशका विभिन्न विभिन्न प्रहरी कार्यालयमा उजुरी आएका छन्। हामीले अनुसन्धान गरिरहेका छौँ। देशका विभिन्न प्रहरी कार्यालयमा आएका उजुरीका आधारमा पक्राउ गर्न सहयोग गरिरहेका छौँ। प्रविधिको दुरुपयोग गर्दै यस किसिमको ठगी भएको छ। ठगीमा भुमिका खेलेकाहरु पक्राउ परेका छन्। यस प्रकारका ठगीबारे अनुसन्धान भइरहेको छ’ सिआइवीका प्रवक्ता श्रेष्ठले भने, ‘हामीले टेलिफोन सेवा प्रदायकबाट ठगिन सक्ने भएकाले सचेत हुन भनेर म्यासेज पठाउन लगाएका छौँ। आम नागरिक सचेत भएर यस किसिमका बहानाको पछि लाग्नु हुँदैन।’ गलत कुराको पछि लाग्न नहुने उनको भनाई छ। 

पैसा झिक्नेको ठेगाना, सिसीटिभि फुटेज तथा अन्य अनुसन्धानबाट प्रहरीले पक्राउ गरिरहेको छ। पक्राउ परेकाहरुलाई ठगी मुद्दा चलाइएको छ। विभिन्न ठाउँमा ठगिएको खबर प्राप्त भएपनि ठगिने क्रम रोकिएको छैन। पाँचथरकी युवतीलाई ठगी गरेको आरोपमा पक्राउ परेका सप्तरीका  महेश मण्डलले आफूलाई कतारमा रहेका काकाले पैसा झिक्न लगाएको प्रहरीलाई बताएका छन्। पक्राउ परेकाहरुले आफू सहयोगी मात्र रहेको दाबी गर्ने गरेका छन्।

यसरी हुन्छ ठगी 

इमो तथा भाईवरमा चिठ्ठा पर्यो भन्दै कल तथा म्यासेज आउछ। इमोमा बढी रहेको छ। बढी हिन्दी भाषाको प्रयोग हुन्छ। २५ लाखसम्म चिठ्ठा परेको भन्दै बधाई दिने गरेका छन्। मख्ख पर्दै उनीहरुसँग चिठ्ठाको पैसाको आशमा परेपछि ठगीको खेल सुरु हुन्छ। चासो देखाउन थालेभने ठगहरुले विभिन्न बहाना बनाउने गरको प्रहरी प्रवक्ता न्यौपाने बताउँछन्।
चिठ्ठा पर्यो भन्दै मोरङको पथरी सानमाई नपाकी एक महिलाले दुई पल्ट गरी १ लाख ८० हजार रुपैँया पठाएपछि प्रहरीकोमा उजुरी गर्न पुगिन। उजुरीपछि अछाम घर भई काठमाडौं बस्ने बसन्त कठायत र राजेन्द्र बहादुर कठायतलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलायो। यिनीहरु मुख्य अभियुक्त भने हैनन। यिनीहरुको नाममा महिलाले पैसा पठाएकी थिइन। यसप्रकारका चार जनाको उजुरी आएको प्रहरी इक्पेक्टर विजय श्रेष्ठले बताए। यस्ता घटना विभिन्न ठाउँमा छन् । 

विश्वासका लागि टिभि स्क्रोल देखाउने, चिठ्ठा परेकाभन्दै विभिन्न डकुमेन्ट देखाउने, अरुलाई चिठ्ठाको पैसा दिएको तस्विर देखाउने गरेको पाइएको मोरङको रंगेलीका प्रहरी इक्पेक्टर सञ्जीव बावु खडकाले बताए। निकै दिमाख लगाएर ठगीको काम भइरहेको उनको भनाई छ। पैसा झिक्न भने नेपालकै मान्छे खटाइएको छ। एक जिल्लाकोलाई ठग्न अर्को जिल्लाकोमा पैसा पठाउन लगाईएको पाइएको उनले बताए। 

प्रकाशित: ४ चैत्र २०७४ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App