७ वैशाख २०८१ शुक्रबार
अन्य

बिरामीलाई ‘गेट वेल सुन कार्ड’

भक्तपुरमा बिहीबार ‘गेट वेल सुन कार्ड’को  जानकारी दिँदै आयोजक । तस्बिर : उपेन्द्र

अस्पतालमा भर्ना भएका बिरामी भेट्न जाँदा तपाईं के लैजानुहुन्छ ? फलफूल, जुस वा पुष्पगुच्छा ? तर, बिरामीलाई आर्थिक सहयोग गर्न मन लाग्यो भने ? पक्कै पनि तपाईंलाई अप्ठेरो पर्न सक्छ । न सीधै पैसा दिन्छु भन्नु, न त बिल तिरिदिनु ? 

यस्तै समस्या समाधानका लागि भक्तपुरका तीन र काठमाडौंको एक अस्पतालमा भने ‘गिफ्ट’ दिन मिल्ने ‘क्यास कार्ड’ सेवा सुरु हुन लागेको छ । यी अस्पतालमा बिरामी हेर्न आउनेले ‘गिफ्ट’ दिन मिल्ने ‘गेट वेल सुन कार्ड’ सुरु गर्न लागिएको हो।  

यो सेवा सुरु भएपछि बिरामी हेर्न आउनेले अस्पतालका काउन्टरबाट दुई सय ५०,  पाँच सय र एक हजार रुपैयाँ दरका  कार्ड  किनेर बिरामीलाई दिन सक्नेछन् । अस्तपालमा यस्तो सेवा सुरु गर्ने अभियान समाजवाद अध्यन केन्द्र चाँगुनारायणले चलाएको हो। 

बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले यसले बिरामीलाई आर्थिक सहयोग पुग्ने बताए । ‘यसले अस्पतालको सरसफाइमा समेत सहयोग पुग्नेछ,’ उनले भने। 

भक्तपुरका तीन र काठमाडौंको एक अस्पतालमा भने ‘गिफ्ट’ दिन मिल्ने ‘क्यास कार्ड’ सेवा सुरु हुन लागेको छ । यी अस्पतालमा बिरामी हेर्न आउनेले ‘गिफ्ट’ दिन मिल्ने ‘गेट वेल सुन कार्ड’ सुरु गर्न लागिएको हो।  

उनका अनुसार हाल भक्तपुर क्यान्सर र भक्तपुर जिल्ला अस्पताल एवं मानव अंग प्रत्यारोपण केन्द्रमा यो सेवा सुरु गरिनेछ । यसैगरी काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पनि यस्तो सेवा सुरु गर्न लागिएको छ । 
‘भक्तपुर र क्यान्सर अस्पतालमा चैत २४ गते स्वास्थ्य दिवसको अवसर पारेर सेवा सुरु गर्दै छन्,’ उनले भने, ‘अन्य अस्पतालमा त्यसपछि क्रमशः सुरु गरिनेछ।’ 

अस्पतालमा बिरामी भेट्न आउनेले ल्याएका फलफूल तथा अन्य खाद्यपदार्थ धेरै जम्मा हुने तथा बिग्रने गरेको पाइएकाले यस्तो अभियान सुरु गरिएको उनले बताए । ‘आगन्तुकले ल्याउने फलफूल तथा जुसले भन्दा ‘गेट वेल सुन कार्ड’ले बिरामीलाई सहयोग पुग्नेछ,’ उनले भने।

अभियानलाई सकारात्मक रूपमा लिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सरिता श्रेष्ठले बताइन् । ‘यसले आर्थिक अवस्था कमजोर हुने बिरामीलाई सबैभन्दा धेरै राहत दिनेछ,’ श्रेठले भनिन्, ‘कार्यक्रमलाई हामी स्वागत गर्छौं ।’ 
भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले यस्तो कार्डले डिस्चार्जदेखि औषधि खरिदसम्म बिरामीलाई सहयोग गर्ते बताए । ‘क्यान्सर उपचार गर्न धनी–गरिब सबैलाई आर्थिक भार पर्छ,’ उनले भने, ‘यस्ता कार्यले केही राहत दिनेछ ।’ गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोमप्रसाद बजगाईंले यो कार्य प्रशंसनीय भएको बताए । 

बिरामीलाई प्रदान गरिने ‘गेट वेल सुन कार्ड’ले डिस्चार्जका बेला अन्तिम बिलबाट कट्टा गर्न सकिन्छ । यसैगरी बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेस गरी कार्ड बराबरको रकम समेत लिन सकिन्छ । यसबापत अस्पतालले अतिरिक्त शुक्ल नलिने केन्द्रले जनाएको छ । 
 

प्रकाशित: २ चैत्र २०७४ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App