७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘नयाँ संरचनालाई सफल बनाउन सहयोग गर्नुहोस्’

लमजुङ- प्रदेश ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ सेवामा लाग्न निर्देशन दिएका छन्।

मध्यपहाडी लोकमार्गका विषयमा अध्ययन तथा अन्तरक्रिया गर्न जिल्ला आएका मन्त्री थापाले बिहीबार विहान कर्मचारीलाई निर्देशन दिदै सकरात्मक र आशावादी भएर अघि बढ्न निर्देशन दिएका हुन्।

संक्रमणकालको अन्त्य भईसकेकाले मुलुकको सम्वृद्धिका लागि कर्मचारीहरु ईमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार भएर आफ्नो सेवामा लाग्न कर्मचारीलाई मन्त्री थापाले निर्देशन दिए। ‘कर्मचारीतन्त्र एउटा स्थायी सरकार हो, त्यसैले विचलित हुन जरुरी छैन,’ मन्त्री थापाले भने, ‘मुलुक नयाँ संरचनामा गईसकेको अवस्थामा यसलाई सफल बनाउने तर्फ लाग्नुस् ।’

कार्यक्रममा नयाँ जोश, जाँगर र उत्साहका साथ निजामति सेवामा प्रवेश गरेका युवाहरुलाई स्थानीयतहमा पठाईने उनले बताए। स्थानीयतह आफैंमा कार्यकारी स्थानमा भएकाले त्यहाँ रहेर सेवा गर्न संकोच नमान्न उनले कर्मचारीलाई आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जिल्लाको अवस्था बारे प्रष्ट पार्दै कर्मचारीका तर्फबाट संघीय संरचनालाई सकरात्मक सहयोग भईरहेको बताए। जिल्लामा ५ सय वढी निजामति कर्मचारी सेवारत रहेकामा ८९ जना स्वेच्छिक अवकाशमा जान ईच्छुक रहेको प्रजिअ मैनालीले बताए । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: १ चैत्र २०७४ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App