coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाली साहित्यमा अनुवाद प्रसंग


काठमाडौं – अनुवाद भन्नु शब्द वा अक्षरको भाषिक रूपान्तरण मात्रै हैन । अनुवाद साहित्यिक कलासँगै छुट्टै विधाको रूपमा विश्व साहित्यमा स्थापित भइसकेको छ । कसैकसैले अनुवादले मौलिकता हराउँछ भन्ने मानसिकता राखे पनि यसले विभिन्न भाषाको साहित्यिक कृतिको रसास्वादन गर्ने नौलो अनुभूति प्रदान गर्छ।

यही धारणकाबीच नेपाली साहित्य फाँटमा आजकल विश्वचर्चित र ओझेलमा परेका विदेशी भाषाका पुस्तक र नेपाली साहित्यका कृतिको अनुवाद गर्ने चलन बढ्दै गएका छन् । अनुवादको महत्वलाई लेखकहरूले महसुस गर्न थालेकैले यसको चर्चा–परिचर्चा र सिकाइको क्रम पनि बढेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले यस विषयमा गरेको छलफलका सहभागीहरूले अनुवादको स्वाद हरेक भाषाको लेखनीबाट लिनुपर्ने धारणा राखे । छलफलमा नेपालीमा अनुदित हिन्दी साहित्य र नेपालीमा अनुदित अंग्रेजी साहित्यका बारेमा नेपाली साहित्यकर्मी र लेखकमाझ बहस भएको थियो।

‘नेपालीमा अनुदित अंग्रेजी साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बलराम अधिकारीले अंग्रेजीबाट नेपाली अनुवादको सुरुवात त्रिविको स्थापनापछि बढेको बताए । ‘नेपाली साहित्यका थोरै संगालोले नपुग्ने भएपछि त्यो बेलामा अंग्रेजी साहित्यको नेपाली अनुवाद थाल्नुको विकल्प थिएन,’ अधिकारीले भने, ‘नेपाली साहित्यका खुराक विदेशीमाझ पु¥याउन पनि अनुवाद जरुरी छ ।’ उनका अनुसार बेलायती साम्राज्यवादसँगै अंग्रेजी भाषाको विस्तार पनि त्यही रफ्तारमा बढेको थियो । पश्चिमा मुलुकमा अंग्रेजी भाषाको सम्बन्ध त्यही साम्राज्यवादको उपजको रूपमा रहिरह्यो।

देवनागरी लिपीका कारण हिन्दी र नेपाली निकट भएकाले पनि यसको अनुवादको वर्चश्व अरु भाषाभन्दा उच्च छ । आर्यकालीन संस्कृति र युगका कृतिहरू हुँदै आधुनिक साहित्यिक कृतिले पनि बजारमा स्थान ओगटेको छ।

नेपालीमा अनुदित अंग्रेजी साहित्यको इतिहास दुई सय वर्ष पुग्न तीन वर्षमात्र बाँकी रहेको अधिकारीले बताए । उनका अनुसार नेपाली इतिहासको प्रारम्भिक काल १३९० देखि १९२३, विकास काल १९२४ देखि २००७, आधुनिक काल २००८ देखि २०५८ र २०५९ सालदेखि हालसम्मको समसामयिक काल गरी चार कालमा विभाजित छ । १८७० ताका मुन्सीको ‘तीन आहान’ कथा संग्रहको नेपाली अनुवाद नै पहिलो रहेको अनुवाद सिद्धान्त प्रतिवेदनमा उल्लेख छ।

अधिकारीको कार्यपत्रमा अनुवादको लामो कालखण्डमा आदिकवि जोफ्री चौसर, जोन गोवर, विलियम ल्याङल्याण्ड र एडमण्ड स्पेन्सर, मानक निर्धारक कविका काव्य, मार्लो, सेक्सपियरका नाटक, मिल्टनका महाकाव्य, रिचार्डसन, जेन अस्टिन, किप्लिङ, हार्डीलगायतका उपन्यास अनूदित भएको उल्लेख गरिएको छ । त्यस्तै विलियम ब्लेक, वर्डसवर्थ, कोलेरिज, किट्स र वाइरनका स्वच्छन्दवादी एवं रहस्यमयी कविता र टिएस इलियटका अमूर्त कविताले नेपाली स्वरूप पाएको कार्यपत्रमा उल्लेख छ । अधिकारीले नब्बेको दशकमा ग्रीस रोमका दन्त्यकथाले पनि अनुवादमा महत्व पाएको दाबी गरे । ‘आधुनिक कालसँगै संस्कृत वाङमयको स्थान अंग्रेजीले लिँदै गएको छ,’ उनले भने, ‘साहित्यमा आधुनिकताको खोजी, राजनैतिक र सांस्कृतिक परिवर्तनका रूपले पनि अंग्रेजी साहित्य नेपालमाझ फस्टाउने पहल बन्यो।’

लेखक तथा साहित्यकार रामदयाल राकेशले ‘नेपालीमा अनुदित हिन्दी साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा देवनागरी लिपीका कारण हिन्दी र नेपाली निकट भएकाले पनि यसको अनुवादको वर्चश्व अरु भाषाभन्दा उच्च रहेको उल्लेख छ । आर्यकालीन संस्कृति र युगका कृतिहरू हुँदै आधुनिक साहित्यिक कृतिले बजारमा स्थान ओगटेको दाबी राकेशको छ । उनले आवश्यकता र गुणात्मकताको विषय हिन्दीबाट नेपाली रूपान्तरमा अचेल खोज्न थालिएको स्वीकारे।

संस्कृतिविद् सत्यमोहन जोशीले अनुवादले साहित्यिक आदानप्रदानसँगै लेखनीको विकासमा पनि सहयोग पु¥याउने सुनाए । जोशीले अंग्रेजीको नेपाली अनुवाद मात्र नभई नेपालीका राम्रा कृति अंग्रेजी अनुवादमा आफ्नै हैसियत बनाउँदै लैजानुपर्ने दर्शाए।

साहित्यकार अभि सुवेदीले अनुवाद भाषागत हिसाबले मात्र नभई शैक्षिक गुणस्तरका लागि पनि आवश्यक रहेको सुझाए । उनका अनुसार नेपालीमा अनुदित अंग्रेजी कृतिले जति ज्ञान दिन्छ, त्यसले साहित्यिक फाँटका लागि पनि नयाँ खुराक दिने गर्छ।

अनुवाद विभागकी प्रमुख उषा ठाकुरले अनुवादको आवश्यकतालाई महसुस गरेर अनुवादक र अनुवादका विषयलाई महत्व दिइरहेको औंल्याइन् । पुराना संग्रहको अंग्रेजी अनुवाद र विश्व साहित्यमाझ चर्चित बनेका विदेशी कृतिलाई नेपालीमा अनुदित गर्ने कार्य जारी रहेको उनले जनाइन् । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अनुवाद अनुवादमात्र नभई देश देशबीचको संस्कार, परम्परा तथा भाषिक विकास बताउने पाटो रहेकाले पनि सरकारी प्रयासमा अनुवादकसँग जोडिएर त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गरे।

प्रकाशित: १ चैत्र २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App