coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्पतालमा बिरामी आफैं जेनेरेटर चलाउन बाध्य

आफैं जेनेरेटर ल्याएर बिरामी आमालाई अक्सिजन दिँदै सोल्माका सन्तोष राई। तस्बिर : नागरिक

खोटाङ – जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिमा समस्या आउँदा श्वास–प्रश्वासका समस्या भएका बिरामीका आफन्त आफैं जेनेरेटर चलाउन बाध्य बनेका छन्। सोमबार साँझ परेको चट्याङको असरका कारण जिल्ला अस्पतालको विद्युत आपूर्तिमा समस्या आएपछि उपचारमा आएका श्वास–प्रश्वासका बिरामीका आफन्त आफैं जेनेरेटर चलाउन बाध्य भएका हुन्।

विद्युत आपूर्तिमा समस्या देखिएको र जिल्ला अस्पतालसँग जगेडा जेनेरेटर नहुँदा श्वास–प्रश्वासमा समस्या भएका बिरामीलाई अक्सिजन दिने उपकरण चलाउनका लागि समस्या भएको हो। अस्पतालमा बिस्तार गरिएको विद्युतको भोल्टेज नपुग्दा र अस्पतालसँग जेनेरेटर नहुँदा बृद्ध आमाका लागि अक्सिजन दिन भाडामा जेनेरेटर अस्पतालमा ल्याउनु परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सन्तोष राईले बताए। ‘अस्पतालमा विद्युत छ, भोल्टेज पुगेन। अस्पतालसँग अर्को जेनेरेटर रहेनछ,’ राईले भने, ‘आमालाई अक्सिजन दिनका लागि विद्युत चाहिएपछि आफैं जेनेरेटर ल्याएर चलाइरहेको छु।’

वर्षासँगै परेको चट्याङको असरले अस्पताल लगिएको विद्युतको लाईन बिग्रेको र मर्मत गरिएपनि भोल्टेज नपुग्ने समस्या देखिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए। ‘चट्याङले विद्युत बिग्रीयो, विद्युत प्राधिकरणलाई भनेर मर्मत गरियो,’ डा. केसीले भने, ‘तर, लाईन बनेपनि भोल्टेज नपुग्दा समस्या आएको हो।’ अस्पतालको जेनेरेटर समेत २ महिनादेखि चालू अवस्थामा नरहेको बताइएको छ। अस्पतालसँग जेनेरेटर नहुँदा बिरामीका आफन्त आफैं जेनेरेटर चलाउन बाध्य भएका हुन्।

स्थापना भएदेखि नै जिल्ला अस्पतालले विद्युतको समस्या झेल्दै आएको छ। अस्पतालमा आवश्यक भोल्टेज व्यवस्थाका लागि ट्रान्फर्मर राख्ने प्रकृया अघि बढेपनि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रले ढिलासुस्ती गरिरहेको पाइएको छ। ट्रान्फर्मर राख्नका लागि विद्युतलाई ९ लाख रुपैयाँ दिएको लामो समयसम्म आलटाल भएको अस्पताल बिकास समितिका अध्यक्ष गणेश राईले बताए।

चट्याङसँगै परेको वर्षाका कारण मुहान बिग्रँदा अस्पतालमा सोमबारदेखि पर्याप्त पानी समेत पुग्न सकेको छैन। पानी अभावमा अस्पतालका बिरामीले प्रयोग गर्ने शौचालय जाम भएको बिरामीका आफन्तको गुनासो छ। पटक–पटक पानी बन्द हुँदा अस्पतालमा नजिकैको धारामा पाइप जोडेर लैजाने गरिएको छ। अस्पतालमा देखिएको विद्युत र खानेपानीको समस्या तत्काल हल गरिने डा. केसीले बताए।

प्रकाशित: ३० फाल्गुन २०७४ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App