७ वैशाख २०८१ शुक्रबार
कला

किन विश्वभर रुचाइँदैछ ‘ब्ल्याक प्यान्थर’ ?

लस एन्जल्स – हाल प्रदर्शनरत हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा एक अर्ब डलरभन्दा बढी रुपैंयाँ कमाई गरिसकेको छ । डिज्नीको मार्वल युनिभर्सको यो पाँचौं फिल्म हो जसले कमाईमा किर्तिमान कायम गरिरहेको छ।

फिल्मले वकान्डा नामक एक काल्पनिक अफ्रिकी देशको कथा समेटेको छ जहाँ अभिनेता चैडविक बाजमैन अपराधसँग लड्ने एक शासकको भूमिका निर्वाह गरेका छन् । यो देशलाई पृथ्वीको सबैभन्दा उच्चतम प्रविधि रहेको देशको रुपमा कल्पना गरिएको छ। 

यो फिल्ममा ओस्कार विजेता लुपिता न्योंगो, माइकल बी जोर्डन र डैनियल कलुयाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्ममा ‘द होबिट’का स्टार मार्टिन फ्रिमेन पनि छन् जसले सिआइए एजेन्ट एवरेट रोसको भूमिका निर्वाह गरेका छन्।

फिल्म हेर्ने अधिकांशले फिल्मलाई ‘गेम चेञ्जर’का रुपमा तारिफ गरेका छन्। पूर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले फिल्ममा धेरै संख्यामा अस्वेत कलाकार राखिएकोमा त्यसको तारिफ गरेकी छन् । फिल्मका निर्देशक रेयान कुगलर पनि अश्वेत हुन् । हलिउड बक्स अफिसका विश्लेषक जेफ बोकले फिल्मको कमाईले नयाँ कोशेढुंगा कायम गरेको बताएका छन्।  ‘ब्ल्याक प्यान्थरले अश्वेत कलाकारको फिल्म चल्दैन र ती फिल्मको कमाई धेरै हुँदैन भन्ने मान्यतालाई तोडेको छ,’ उनले भनेका छन्। 

डिज्नीको टिकट विक्री आँकडा अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अर्ब कमाईको आँकडा छोइसकेको छ । फिल्मबारे जानकारी दिने वेभसाइट आइएमडीबीका अनुसार हालसम्म ३२ फिल्मले मात्र बक्स अफिसमा एक अर्ब डलरको आँकडा छुने किर्तिमान कायम गर्न सफल भएका छन् । यसमा सन् २०१२ को जेम्स बोन्ड  सिरिजको ‘स्काइफल’, २०१७ को ‘ब्युटी एन्ड द बिस्ट’ र ’फ्रोजेन’ आदि फिल्म सामेल छन्।

गत साता ब्रिटेनको बक्स अफिस आँकडाले ‘ब्ल्याक प्यान्थर’ले ‘आइरन मेन’, ‘थोर’ र ‘क्याप्टन अमेरिका’ जस्ता सुपरहिरो फिल्मलाई पछाडि पारेको देखाएको थियो ।  फिल्मले तीन सातामा करिब ३ दशमलब ५ करोड पाउन्डको कमाई गरेको छ।

ब्रिटेनमा हालसम्म रिलिज भएका मार्वेल स्टुडियोको १८ फिल्ममध्ये दुई फिल्मले मात्र ‘ब्ल्याक प्यान्थर’भन्दा बढी कमाई गरेका छन् ।  सन् २०१५ मा ‘एभेञ्जर्स एज अफ एल्ट्रोन’ ले चार करोड पाउन्ड र २०१२ मा ‘एभेञ्जर्स’ले पनि चार करोड पाउन्डको कमाई गरेको थियो।

फिल्म विश्लेषकले यो फिल्मले सुरुवातदेखि नै राम्रो कमाई गर्नेमा अनुमान लगाएका थिए । अमेरिका र क्यानाडामा सप्ताहको सुरुवातमा जति कमाउला भन्ने आशा राखिएको थियो, फिल्मले त्यसको दुई गुणा बढी कमाई गरेको थियो। 

गत महिना फिल्मका निर्देशक कुगलरले एक भावुक पत्र लेख्दै समर्थकलाई धन्यवाद दिएका थिए । ‘म यो क्षणमा आभार कुन शब्दले व्यक्त गरुँ, मैले सम्झनै सकेको छैन ।’ उनले पत्रमा लेखेका थिए ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App