४ वैशाख २०८१ मंगलबार
खेल

पारस आइसिसीका स्टार खेलाडी

काठमाडौं – आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्र्तगत समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङमाथि ५ विकेटका सहज विजय हासिल गरे पनि सुपर सिक्समा स्थान बनाउन सकेन । बरु नेपालले जस्तै एक खेल मात्र जितेको अफगानिस्तान राम्रो रनरेटका कारण अघिल्लो चरण प्रवेश ग¥यो।

कमजोर रनरेटका कारण सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले हङकङलाई हराएसँगै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाउने ढोका खुला राखेको छ । नेपालले बिहीबार प्लेअफमा समूह ‘ए’ को पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खेल्नेछ । हङकङले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सबाहेक प्रतियोगिताका शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् । तीनमध्ये दुई एसोसिएट स्कटल्यान्ड र युनाइटेड अरब इमिरेट्स(युएई)ले एकदिवसीय मान्यता पाइसकेका छन् । बाँकी एक स्थानमा नेपाल, हङकङ र पिएनजीमध्ये एकले एकदिवसीय मान्यता पाउनेछ । नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुका साथै नेपालले पिएनजीलाई हराए नेपालले एकदिवसीय मान्यता पाउनेछ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग १ सय १६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले हा¥यो । तेस्रो खेलमा नेपाल चिरप्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । सबै खेलमा नेपालको कमजोर ब्याटिङले निरन्तरता पायो भने बलियो पक्ष बलिङले पनि आशातीत प्रदर्शन गर्न सकेन।

त्यसका बावजुत नेपालका कप्तान पारस खड्काको प्रदर्शन प्रशंसनीय रह्यो । स्कटल्यान्ड र अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गरेका पारसले समूह चरणमा १ सय ८९ रन बनाइसकेका छन् । स्कटल्यान्डविरुद्ध खेलबाट लिस्ट ‘ए’ खेलमा १ हजार रन पूरा गरेका पारसलाई आइसिसीले मंगलबार उदीयमान खेलाडीका रूपमा प्रस्तुत गरेको छ । पारससँगै १७ वर्षे लेग स्पिनर सन्दीप लामिछानेलाई पनि आइसिसीले नेपालबाट राम्रो प्रदर्शन गर्ने खलाडीको सूचीमा राखेको छ । समूह चरणको प्रत्येक खेलमा विकेट लिन सफल सन्दीपले चार खेलमा ७ विकेट लिएका छन्।

सुपर सिक्समा पुग्न असफल भए पनि राम्रो प्रदर्शन गर्ने खेलाडीको सूचीमा आइसिसीले पारस र सन्दीपबाहेक पिएनजीका टोनी उरा, तीव्र गतिका बलर नर्मन भनुवा र एलेई नावलाई पनि समेटेको छ । टोनीले प्रतियोगिताको बलियो टोलीमध्येको एक आयरल्यान्डविरुद्ध १ सय ५१ रन बनाएका थिए भने नर्मनले ८ तथा एलेईले ६ विकेट लिएका थिए । त्यस्तै, दुई अर्धशतक बनाएका हङकङका अंशुमन रथ र ११ विकेट लिएका अफस्पिनर इसन खानलाई पनि आइसिसीले समेटेको छ।

हङकङको जितमा युवा खेलाडी रोहितकुमार पौडेल र आरिफ शेखले छैटौं विकेटका लािग गरेको ८९ रनको साझेदारी मुख्य रह्यो । तथापी बलरले पनि राम्रो प्रदर्शन गरेका थिए । ८६ बलमा ५ चौकासहित अविजित ४८ रन बनाए रोहितकुमारलाई अफगानिस्तानका कप्तान असघर स्टानिकजाईले आफ्नो ब्याट उपाहर दिएका छन् । नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तान सुपरसिक्समा प्रवेश गरेको थियो । त्यसैले हङकङविरुद्ध  राम्रो प्रदर्शन गरेका कारण स्टानिकजाईले रोहितकुमारलाई आफ्नो ब्याट उपहार दिएका हुन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App