१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कसमस र टियुको जित

काठमाडौं – कसमस कलेज र त्रिभुवन विश्वविद्यालय (टियु) ले युनिभर्सिटी क्रिकेटमा मंगलबार जित हात पारेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा कसमसले न्यु समिटलाई ४७ रन तथा त्रिभुवन विश्वविद्यालयले क्यारेवियन कलेजलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

विश्वविद्यालय मैदानमा मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा १ सय ५० रनको लक्ष्य पछ्याएको न्यु समिटले  निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय २ रन बनाउन सक्यो । खेलमा न्यु समिटका करण शाहले सबैभन्दा धेरै ३१ रन बनाए पनि हार टार्न सकेनन् । यस्तै, शरद खड्काले २५, जन्मेजय यादवले १२ तथा अनुप श्रेष्ठले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । किफायती बलिङ गरेको कसमसका कुशल भुर्तेलले ३ तथा विवेक साउद, सन्दीप जोहोरा, कमलसिंह ऐरी र दीपेश श्रेष्ठले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कसमसले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४९ रन बटुल्न सफल भएको थियो । खेलमा कसमसका लागि कमलसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ३९ बल सामना गरेका ऐरीले ४ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडेका थिए । यस्तै, योगेन्द्रसिंह कार्कीले २५ रन जोड्दा सन्दीप जोहराले २४ तथा कुशल भुर्तेलले १३ रन जोडेका थिए भने बाँकी ब्याट्सम्यानले  दोहोर अंक जोड्न सकेनन्।

बलिङतर्फ न्यु समिटका लागि जन्मेजय यादवले ४ तथा राजेश यादव र अनुप श्रेष्ठले समान २–२ विकेट लिए।

मंगलबारै भएको दोस्रो क्वार्टरफाइनल खेलमा २ सय ८ रनको लक्ष्य पछ्याएको क्यारेबियनले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ७१ रन जोड्न सक्यो । क्यारेबियनका लागि जयप्रकाश गुप्ता, अमित कुशवाह र सञ्जीव अधिकारीले १३, १४ र १६ जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । क्यारेबियनको इनिङलाई सस्तैमा समेट्न टियुका विक्रम सोब, सागर ढकाल र पृथु बास्कोटले समान ३÷३ विकेट लिए भने क्षितिज सिंहले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको टियूले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २ सय ७ रनको विशाल स्कोर बनाएको थियो । टियुका ओपनर ईशान पाण्डे एक्लैले नटआउट १ सय २६ रन जोडे । ७० बल सामना गरेका पाण्डेले १६ चौका र ५ छक्का प्रहार गरेका थिए । अर्का ओपनर रविन जोशी गोल्डेन डकआउट हुँदा पृथु बास्कोटाले ३२, तथा सुवास खकुरेलले २४ तथा सोनु तामाङले १२ रन जोडेका थिए।

बलिङतर्फ क्यारेबियनका तक्षक सिंखडाले २ तथा आसिफ पौडेलले १ विकट लिए । विजयी कसमसले टियुसँग बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगितामा बुधबार शंकरदेव कलेज र डिएभी तथा जनता र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच तेस्रो र चौथो क्वाटरफाइनल खेल हुनेछन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App