८ वैशाख २०८१ शनिबार
समाज

ल्याइयो बिस्केट जात्राको लिंगो

विस्केट जात्राका लागि आवश्यक लिंगो तानेर ल्याइँदै ।

भक्तपुर – प्रत्येक नयाँ वर्षको चार दिन अगाडि र पछाडि गरी आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध विस्केट जात्राको तयारी सुरु भएको छ । काठमाडौं उपत्यकामै प्रख्यात भक्तपुरको विस्केट जात्राको तयारीस्वरुप गुठी संस्थानको भक्तपुर शाखाले जात्राको आवश्यक तयारी सुरु गरेको हो।

जात्राको मुख्य आकर्षणका रूपमा रहेको लिंगो उठाउने कामका लागि आवश्यक लिंगो जात्रास्थल भेलुखेल ल्याइपुर्याइएको छ। भक्तपुरको साविक चित्तपोल गाविस हाल सूर्यविनायक नगरपालिकास्थित लिंगो बनबाट रूख काटेर डोरीको सहायताले तानेर लिंगो उठाउने ठाउँ भक्तपुर ल्योसिंखेलमा ल्याइपुर्याइएको हो।

गुठी संस्थान भक्तपुरका शाखाका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि दुई वटा लिंगो ल्योसिंखेल भेलुखेल पुर्याइएको बताए। एक पटकमा दुई वटा लिंगो ल्याउने परम्परा अनुसार यो वर्ष पनि दुई वटा लिंगो ल्याइएको सुवेदीले जनाए।

जात्राका लागि प्रत्येक वर्ष नयाँ लिंगो ल्याँइदैन पुरानो लिंगो नै उठाउने गरिन्छ । तर पुरानो लिंगो काम नलाग्ने भएपछि नयाँ लिंगो ल्याइन्छ। पुरानो लिंगो उठाउने क्रममा भाँच्चिएपछि नयाँ लिंगो ल्याउने गरिन्छ।

जात्रामा करिब ५५ हात लामो लिंगो उठाउने गरिन्छ । लामो लिंगोलाई सयौं जात्रालुले ६ वटा डोरीहरूको सहायताले तानेर उठाइन्छ। यो जात्राको मुख्य आकर्षण पनि हो । प्रत्येक वर्षको अन्तिम दिन साँझ लिंगो भक्तपुरको ल्योसिंखेलमा ठड्याइन्छ । लिंगोलाई प्रत्येक वर्षको नयाँ वर्ष वैशाख १ गते ढाल्ने गरिन्छ।

जात्राका लागि आवश्यक भैरवनाथको रथ निर्माणको काम पनि सुरु गरिएको सुवेदीले जनाए । भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर टौमढीमा राखेर रथ बनाउने काम सुरु भएको पनि उनले बताए । रथ तीन तले प्यागोडा शैलीमा काठैकाठ जोडेर बनाइन्छ।

भक्तपुरमा प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिबाट जात्रा सुरु हुन्छ । जात्रा वैशाख ५ गतेसम्म चल्छ । भक्तपुरको टौमढीमा राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते भैरबवाथकै रथ तानेर सम्पन्न हुने परम्परा छ।
 

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App