coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अधुरै रह्याे गाउँमा अस्पताल खाेल्ने सपना

बनेपाको प्रतिभा सम्मान प्रबन्ध गुठीका तर्फबाट गत वर्ष वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापालाई सम्मान गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजू श्रेष्ठ । तस्बिर सौजन्यः गौतम शाक्य

कुशादेवी – ब्रेन ट्युमरका सयौं बिरामीलाई मृत्युको मुखबाट बचाउने वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापा आफू भने सोमबारको युएस–बांगला विमान दुर्घटनामा अस्ताए। बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका न्युरो सर्जरी विभाग प्रमुख डा. थापाको अल्पायुमै निधनले उनको जन्मथलो पनौतीमा सामुदायिक अस्पताल खोल्ने र भरतपुरको क्यान्सर अस्पताललाई एसियाकै उत्कृष्ट बनाउन बुनेको योजनासमेत अधुरै हुने देखिएको छ।

‘भीमदाइ, न्युरोका डाक्टर काठमाडौंबाहिर जान नमान्ने अवस्थामा मैले बाहिरै बसेर लामो समय उपचार सेवा दिएँ । भरतपुर क्यान्सर अस्पताललाई एसियाकै नमुना बनाएर गाउँ फर्कन्छु। पनौतीमा एउटा सामुदायिक अस्पताल बनाउने धोको छ’, स्थानीय तह निर्वाचनताका जन्मथलो पनौती–३, कुशादेवी आएका थापाले हालका मेयर भीम न्यौपानेलाई भनेका थिए।

पनौतीमै अस्पताल बनाउन सोही भेगका वरिष्ठ डाक्टरले चासो देखाएपछि न्यौपाने पनि हौसिएका थिए, ‘काठमाडौं विश्वविद्यालय (केयू) ले नगरपालिकालाई बर्सेनि दिने छात्रवृत्तिमा डाक्टरी पढेका सबैजनाको सूची तयार गरेका थियौं । यस्तै पनौती घर भएका डाक्टर तथा अस्पतालका लागि आवश्यक स्वास्थ्यक्षेत्रका जनशक्तिको सूची र योजना बनाउँदै थियौं। अचानक नसोचेको घटना आइलाग्यो’, न्यौपानेले भने । पनौती नगर बृहत् भएकाले कम्तीमा ५० शड्ढयाको अस्पताल बनाउनुपर्ने डा. थापाले सुझाएका उनको भनाइ छ।

जन्मथलो पनौतीमा सामुदायिक अस्पताल र अधुरै रह्यो भरतपुर क्यान्सर अस्पताललाई एसियाकै उत्कृष्ट बनाउने योजना ।

गाउँठाउँका क्यान्सरका बिरामी भरतपुर जानुपर्दा डा. थापालाई खबर गरेर मात्रै जाने परम्परा नै बसेको न्यौपानेको भनाइ छ। ‘उहाँले डाक्टरमात्रै नभई अभिभावकका हिसाबले सबैलाई सेवा दिनुभएको थियो । उपचारको चाँजोपाँजो मिलाइदिएर निको भएपछि घर फर्कन खर्चबर्चसमेत दिएर पठाएका कैंयौं उदाहरण छन्’, उनले थपे।

विमान दुर्घटनामा डा. थापाको निधन भएको खबर फैलिएपछि कुशादेवी गाउँ यतिखेर शोकाकूल छ । सोमबार साँझै बस रिजर्भ गरेर डेढ सयभन्दा बढी गाउँले थापाको पार्थिव शरीर दर्शनका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

‘सोमबार अस्पतालमा पुगेर शव हेर्याैं। सबै शव डढेका थिए । उहाँको शव चिन्न सकिने अवस्थामा थिएन अनि राति नै गाउँ फक्र्यौं । आज (मंगलबार) पनि अस्पताल आएका छौं । बुधबार राति उहाँका छोरा र छोरी अस्ट्रेलियाबाट नेपाल आइपुग्दैछन् । त्यसपछि सनाखतको काम हुन्छ’, न्यौपानेले भने।

तत्कालीन कुशादेवी गाविस–३ थापागाउँमा २०२४ माघ ४ गते जन्मिएका डा. थापाले गाउँकै कुशादेवी माविबाट २०४१ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि त्रिवि, इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) बाट हेल्थ असिस्टेन्ट (एचए) को पढाइ सकेका हुन् । उनले पढाइलगत्तै सेभ द चिल्ड्रेनले बाग्लुङमा सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा २०४६ सालसम्म काम गरेका थिए।

‘ऊ (बालकृष्ण) मभन्दा एक वर्ष जुनियर हो । हामी दुवैले बाग्लुङमा २०४६ सालसम्म काम गर्याैं। त्यति नै बेला पनि जहाँ जस्तो सामान उपलब्ध छ, त्यसैको सही प्रयोगले उपचार सेवा पुर्याउनुपर्छ भन्दै सेवा गथ्र्यो । त्यति खेर पनि हामी मिलेर ससानो शल्यक्रिया गथ्र्यौं । बिरामीको उपचार र हेरचाहमा ऊसँग मिलेर ‘इन्नोभेटिभ आइडिया’हरु निकाल्थ्यौं’, केयू, स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजूले स्मरण गरे।

बाग्लुङको स्वास्थ्यकेन्द्रको जागिरदेखि सँगै सुरु भएको डा. थापा र डा. कोजूको अध्ययन यात्रा आइओएमको एमबिबिएस दसौं ब्याच हुँदै बंगलादेशको बंगबन्धु शेखमुजिब मेडिकल युनिभर्सिटीमा ‘रुम मेट’ का रुपमा पनि निरन्तर रह्यो । थापाले न्युरो साइन्समा एमएस र कोजूले कार्डियोलोजीमा एमडी गरेका हुन्।

‘एमबिबिएसको प्रवेश परीक्षामा एक नम्बरमै नाम निकालेका थापा त्यसपछि कहिल्यै दोस्रो भएनन् । २०५१ सालमा एमबिबिएस ब्याच टपर भई गोल्ड मेडल पाए। चिकित्सा शिक्षा अध्ययनका क्रममा तीनपटक पदक पाउँदा सबै विषयमा समेत प्रथम भएर थापाले ७ वटा गोल्ड मेडल पाएका छन्’, डा. कोजूले भने।

ढाकामा चिकित्साशिक्षा अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहने स्वभावका थापालाई बंगाली प्रोफेसरले समेत एकदमै मन पराएको डा. कोजूको भनाइ छ। ‘थापाको व्यक्तित्व, नयाँनयाँ तरिकाबाट कसरी उपचार गर्ने भन्ने सोच, टिममा काम गर्ने र नेतृत्वदायी भूमिका अध्ययनका क्रममा र त्यसपछि पनि उल्लेख्य देखिन्थ्यो’, उनले थपे।

केन्द्रमा रहेर भन्दा पनि वरिपरि रहेर काम गर्नमा रुचि भएकाले डा. थापाले भरतपुर अस्पताल रोजेको डा. कोजूको भनाइ छ। ‘बिरामीमा आफ्नै परिवारको अनुहार देख्ने, गाउँलाई र बिरामीलाई माया गर्ने र एउटा कुशल डाक्टरमा हुनुपर्ने सबै गुण उनमा थियो । मेडिकल जर्नलमा लेख्नुका साथै उनी साहित्य सिर्जनामा पनि सक्रिय थिए’, डा. कोजूले थपे। 

नेपाल चिकित्सक संघको क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजको महासचिव रहेका डा. थापा न्युरोसम्बन्धी सम्मेलनमा भाग लिन फागुन २५ गते ढाका गएका थिए। फर्केर आएपछि डा. कोजू र उनी कलेजको मिल्ने साथीकहाँ भोज खान जाने योजनामा थिए । ‘म पनि जान सकिनँ, उसले पनि बंगलादेशबाट आउन नसक्ने मेसेज पठाएको रहेछ । हाम्रो भेटघाटभन्दा दुःखको समाचार सुन्न लेखेको रहेछ’, डा. कोजूले भने। थापाको निधनसँगै देशले एउटा राम्रो न्युरो सर्जन र क्यान्सरका बिरामीले एउटा गुणकारी डाक्टर गुमाएको कोजूको भनाइ छ।

जागिरको सिलसिलामा बाग्लुङमा बिताएका दुई वर्ष, एमबिबिएस पढाइका क्रममा महाराजगन्जमा बिताएका पाँच वर्ष र बंगलादेशमा विशेषज्ञ अध्ययनमा एउटै कोठामा बिताएका अढाइ वर्षको सहयात्रा भुल्न नसकिने डा. कोजूले बताए। ‘अझै पनि उसको निधनमा विश्वास छैन । फर्केर आउँछ भन्ने लागिरहन्छ’, उनले भने।

प्रकाशित: ३० फाल्गुन २०७४ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App