coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘हमर बाबुको दिखादो’

छोरा अवधेषकुमारको शवको प्रतीक्षामा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सर्लाहीका ६० वर्षीय रासनारायण  यादव र ५७ वर्षीया सुमित्रादेवी । तस्बिर : उपेन्द्र

काठमाडौं – दुर्घटना नभइदिएको भए रासनारायण  राय यति बेला कान्छो छोरा अवधेषका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्नो घरमा पुगिसकेका हुन्थे । जहाँ चार महिनाकी छोरी सोनावतीलाई काखमा लिएर पुनमदेवी सासू–ससुरासँगै आउन लागेका श्रीमान्को स्वागतमा प्रतीक्षामा थिइन् । तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका २३ वर्षीय अवधेषकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनमा जिवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीं रोकिएको छ।

कविलासी नगरपालिका–३ वीरनगरमा तीन वर्षअघिमात्र वैवाहिक जीवन सुरु गरेकी पुनम छोरी काखमा लिएर रुँदैछिन् । सोनावती अवधेष विदेश हिँडेको १० दिनपछि जन्मेकी हुन्।
यता महाराजगन्जस्थित टिचिङ अस्पतालको प्रांगणमा श्रीमान्को काखमा टाउको राखेर ५७ वर्षीया सुमित्रादेवी छोरालाई एकपटक देखाइदेऊ भन्दै डाँको छाडेर रुँदैछिन्।
‘हमर बाबुको दिखा दो ‐मेरो छोरालाई देखाइदेऊ)’, दुर्घटनामा छोरा परेको खबर सुनेलगत्तै सुमित्रादेवीको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन् । उनका श्रीमान् रासनारायण  राय टाउकोमा हात राखेर ‘पख–पख’ भन्दैछन्।

उनीहरुको पर्खाइको सीमा नाघिसकेको छ । छोराले आइतबार कतारबाट टेलिफोन गरेर सोमबार राजधानी आउन भनेपछि यो दम्पती सर्लाहीबाट रात्री बस चढेर छोरालाई लिन राजधानी आएका हुन्।

‘छोरा आउने खुसीमा बिहान ५ बजेदेखि नै हामी विमानस्थलवरपर नै थियौं,’ रासनारायण ले भने, ‘दिउँसो अढाइ बजे हामीले नराम्रो खबर सुन्यौं ।’ छोरा दुर्घटनामा परेको खबर सुनेपछि आत्तिएर अस्पताल पुगेका रासनारायण ले छोराको मृत्यु भएको थाहा पाएपछि कुनामा गएर डाँको छाडेर रोएको सुनाए।

‘जहान (श्रीमती) लाई बताउन सकिनँ,’ उनले भने, ‘मंगलबार बिहानबाट उसले पनि थाहा पाएजस्तो लागेको छ ।’ छोरालाई लिएर घर फर्कने सोच बनाएका उनीहरु यति बेला छोराको शव लिएर गाउँ फर्कने सोचमा छन् । ‘अब अर्को उपाय छैन,’ रासनारायण ले भने, ‘उसको शव लिएर गई गाउँमा अन्तिम संस्कार गर्छु।’

रासनारायण को दुःखको कथा १२ वर्षअगाडि नै सुरु भएको हो । उनका दुई छोरामध्ये जेठा मदनको १२ वर्षअगाडि १२ वर्षकै उमेरमा मृत्यु भएको थियो । दुई छोरी पनि विवाह गरेर गएपछि उनको सहारा अवधेषमात्र थिए। 

‘उसले केही समय कमाएर आउँछु, अनि घर बनाउँला भनेको थियो,’ रासनारायण ले भने, ‘अब सबै सपना जहाँजसँगै जलेर गएको छ ।’ अवधेष एक लाख ५० हजार  रिन लिएर खाडी मुलुक गएका थिए। 

घरमा रहेकी बुहारीले रुँदै टेलिफोन गरिरहेको उनले बताए । ‘मैले सुरुमा त उनलाई पनि छोरालाई लिएर आउँदै छु भनेको थिएँ,’ उनले भने, ‘बुहारीले डाँको छाडेर रोएको सुन्दा उनलाई पनि थाहा भयो जस्तो छ।’

रासनारायण को मात्र हैन, यस्तै सपना जलेका परिवारका आफन्तको पीडा पोखियो मंगलबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा । यहाँ आउने कसैले दाइ गुमाएका थिए, कसैले दिदी । कोही भाइको शव चिन्न आएका थिए त कोही काकाको अनुहार नियाल्न। 

‘मेरो काका ‐हरिशंकर पौडेल) ले पनि जीवन गुमाउनुभयो,’ अस्पतालमा भेटिएकी अनुषा पौडेलले भनिन्, ‘पूरै परिवार शोकमा डुबेको छ ।’ तनहँुबाट आएकी हरिशंकरकी बहिनी पार्वता अधिकारीलाई थाम्दै गरेकी उनी यस्तो पीडा कसैलाई नपरोस् भन्दै थिइन्। 

रौतहटबाट आएका सन्तोष सहनीले बारा बर्वा घर भएका ज्वाइँ कृष्णकुमार सहनीको मृत्यु भएको सुनाए । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका कृष्ण पनि अवधेषसँगै बंगलादेश हुँदै घर फर्कंदै थिए । ‘उता गाउँमा रुवावासी छ, परिवारका केही सदस्य राजधानी आएका छन्,’ उनले भने, ‘सबैलाई समाल्न मुस्किल परेको छ।’

राजधानीमा यति बेला विमान दुर्घटनामा मारिएका ४९  यात्रुका आफन्त जम्मा हुँदैछन् । कोही आउँदै छन् । कोही यहाँ आएर आफन्तको शव नियाल्ने प्रतीक्षामा छन् । 
बंगलादेशबाट आएका मोइन उद्धिनले आफ्ना बहिनीज्वाइँको दुर्घटनामा परेको बताए । ‘हामीले शव हेर्न पाएका छैनौं,’ उनले भने, ‘अझै केही दिन लाग्ने जानकारी प्रहरीले दिएको छ ।’
नेपाल प्रहरीले अस्पतालमै डेक्स राखेर आफन्तबाट जाहेरी लिने काम गरिरहेको छ । ‘हामीले पीडितको सहयोगका लागि यहीं डेक्स सञ्चालनमा ल्याएका छौं,’ प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले भने, ‘पोस्टमार्टम सकिएपछि आफन्तलाई देखाउनेछौं ।’ केही शव सग्लो अवस्थामा भए पनि जलेका कारण पोस्टमार्टम गर्न केही ढिलो हुन सक्ने उनको भनाइ छ । ‘सकभर चाँडो गर्ने कोसिसमा छौं,’ उनले भने, ‘सबै प्रमाण जुटाउनुपर्ने भएकाले केही ढिलो हुन गएको हो ।’


 

प्रकाशित: ३० फाल्गुन २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App