८ वैशाख २०८१ शनिबार
राजनीति

मेयर चौधरीको शरीरबाट गोली झिकियो, ४ जना पक्राउ

धनगढी – घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ कार्यकर्तालाई पक्राउ गरेको छ। सोमबार राति ३ जना र मंगलबार १ गरेर अनुसन्धानका लागि ४ जना पक्राउ गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। 

घरमै सुतिरहेको अवस्थामा मंगलबार बिहान राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका १ जनाको नाम खुलेको छैन। अनुसन्धान भइरहेकाले प्रहरीले नाम खोलेको छैन। विप्लव समूहले भने मेयर चौधरीमाथि भएको आक्रमणको औपचारिक रुपमा जिम्मा लिएको छैन्। 

विप्लव नेतृत्वको नेकपाको कैलाली शाखाले मंगलबार विज्ञप्तिमार्फत कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण जनाउँदै विना शर्त रिहाई गर्नुपर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ। औपचारिक रुपमा विप्लव माओवादीले नस्विकारे पनि मेयर चौधरीमाथि विप्लव समूहबाट नै आक्रमण भएको प्रहरीको अनुमान छ। 

बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट भएको घटना मिलापत्र गरेर आरोपितलाई जोगाउन खोजेको आरोपमा मेयर चौधरीको आलोचना भइरहेका बेला सोमबार आक्रमण भएको हो। स्रोतका अनुसार विप्लवका कार्यकर्ताले मेयर चौधरीको हत्या गर्न नभई तर्साउनका लागि कम्मर मुनी पेस्तोलबाट गोली प्रहार गरेको बुझिएको छ। यसअघि विप्लव समूहले बिज्ञप्ती जारी गरी अनियमितता गरेको भन्दै मेयर चौधरीको राजीनामाको माग गरेका थिए। 

चौधरीमाथि सोमबार राति घरमै आएको एक समूहले खुकुरी र गोली प्रहार गरेको थियो। आक्रमणपछि चार जना मोटरसाइकलमा र अरु दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए। सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घर नजिकैबाट बरामद गरेको थियो। 

मेयर चौधरीको शरीरबाट गोली झिकियो

नगर प्रमुख चौधरीको दायाँतर्फको मिर्गौला नजिकै गोली लागेको भेटिएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको अप्रेशन गरेर गोली निकालिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। मंगलबार विहान नेपालगञ्जबाट नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो।

चौधरीको टाउकोमा खुकुरी प्रहार भएको थियो। उनलाई सोमबार राति नै उपचारका लागि नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा गोली लागेको ठाउँमा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको प्रजिअ रिजालले बताए। 

गत बिहीबार नारी दिवसका दिन घोडाघोडी नगरपालिका ५ देउकलियामा राधा चौधरीलाई ‘बोक्सी’को आरोपमा भोलेवावा भनिने रामबहादुर चौधरीले कुटपिट गर्दा रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको मेयर ममताप्रसाद चौधरी आरोप लागेको थियो।

घोडाघाडी बन्दको घोषणा

घटनाको विरोध गर्दै एमाले निकट युवा संघले मंगलबार बिहानदेखिनै घोडाघोडीमा बजार बन्द गरेको छ। दोषीलाई यथाशीघ्र पक्राउ गर्न दबाब दिन संघले बजार, यातायातहरु ठप्प पारेको जनाएको छ। संघको नगर कमिटीले घोडाघोडी नगरपालिकामा तालाबन्दी समेत गरेको छ। अपराधी सार्वजनिक नभएसम्म नगरपालिकामा तालाबन्दी रहने युवा संघ नेपालका घोडाघोडी नगर संयोजक टेकराज आचार्यले बताए।

प्रकाशित: २९ फाल्गुन २०७४ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App