५ वैशाख २०८१ बुधबार
अर्थ

साना उद्योगबाट धेरै रोजगारी सृजना गर्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं – मुलुकमा ठूलो संख्यामा रोजगारी आवश्यक रहेको र यसको समाधान साना तथा घरेलु उद्योगमार्फत हुने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघको २४औं वार्षिक साधारण सभा उद्घाटनमा बोल्दै अर्थमन्त्री खतिवडाले साना तथा घरेलु उद्योगको विकासले मुलुकमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने बताए। 

‘अब मुलुकलाई धेरै रोजगारी चाहिएको छ,’ खतिवडाले भने, ‘यसको समाधान साना तथा घरेलु उद्योगबाट हुन्छ ।’ उनले मुलुकको समृद्धिका लागि प्रत्येक नागरिक उत्पादक बन्नु पर्ने बताए । निर्यात बढाउनका लागि ठूलो मात्रामा उत्पादन चाहिने भन्दै उनले यसका लागि साना तथा घरेलु उत्पादनमूलक उद्योगमा जोड दिनुपर्ने बताए । ‘अन्तरिम पुँजीलाई प्रयोग गरेर यस्तो उत्पादन बढाउनु पर्छ,’ खतिवडाले भने।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन रहेको र यिनकै विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै मन्त्री खतिवडाले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासलाई प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने बताए । उनले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए। 

महासंघको २४औं वार्षिक साधारणसभा तथा २१औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने आफ्नो नीति रहेको बताए । ‘मुलुकलाई औद्योगिक विकास गर्न भिजन, मिसन र एक्सन चाहिन्छ,’ उद्योग मन्त्री यादवले भने, ‘मसँग भिजन छ । त्यसलाई साकार पार्न तपाईंहरू साथ दिनुस्।’

उनले निर्यातको मात्र कुरा गरेर नहुने भन्दै सबैभन्दा पहिला स्वदेशी उत्पादन बढाउनु पर्ने बताए । ‘अहिले घर घरमा उद्योग सञ्चालनको आवश्यकता छ,’ मन्त्री यादवले भने । स्वदेशी उद्योगहरुको विकासविना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले मुलुकमा औद्योगिकीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका साथ चुनाव लडेर आएकाले त्यो प्रतिबद्धता पूरा गर्ने उनले बताए।

वर्तमान सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्त्वूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्त्वूर्ण काम गर्ने गरी सरकार गठन भएको उनले बताए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको मालवस्तुको उपभोगमा सहज पहुँच, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गर्ने प्रतिबद्धता जाहेर गरे।

तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुका लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने उनले बताए । त्यस्तै निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिँदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने उनले बताए।

तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुका लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने मन्त्री यादवले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना तथा घरेलु उद्योगहरू पहिलेदेखि परम्परागत रुपमा चल्दै आएकाले अब यसको आधुनिकरण गर्नु पर्नेमा जोड दिए । ‘अहिलेसम्म हामी परम्परागत शैलीमै सीमित भयौं,’ गिरीले भने, ‘अब हामी तुलनात्मक लाभ भएका पर्यटन, साना जलविद्युत् आयोजना जस्ता उद्योगमा पनि हात हाल्नु पर्छ।’

उनले विगतको अनुभवमा सरकारले पनि चलिरहेका लघु घरेलु तथा साना उद्योगहरुको स्तरोन्नति गरी स्वदेशमै रोजगारी सुर्जना गर्नेभन्दा पनि बैदेसिक रोजगारका लागि सीप विकासमा बढी केन्द्रित भएको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नयाँ सरकार आएकाले उसले उद्योगको विकासमा अब कस्तो नीति तथा कार्यक्रम ल्याउँछ पर्खेर बसेको बताए । मुलुक अन्यत्तै गरिबीको अवस्थामा रहेकाले अबको १० वर्षभित्रमा दक्षिण एसियाको सबैभन्दा राम्रो र संसारले हेर्ने लायक बनाउने तरिकाले सरकार लाग्नु पर्ने बताए।

प्रकाशित: २९ फाल्गुन २०७४ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App