४ वैशाख २०८१ मंगलबार
अर्थ

नेपाली कन्टेनरमा अब ‘इसिटिएस’

कोलकातास्थि भारतीय बन्दरगाहमा आएका नेपाली कन्टेनर। तस्बिर : रितेश

वीरगन्ज – भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा विद्युतीय कार्गो निगरानी प्रणाली (इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम–इसिटिएस) लागू हुने भएको छ। कोलकाता बन्दरगाहमा आइपुग्ने नेपाली मालबाहक कन्टेनरको सिलमा त्यहाँ रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआइडी) नामको सानो यन्त्र जडान गरिने छ । र, उक्त यन्त्रको माध्यमले भारतीय भन्सार, नेपाली भन्सार र आयातकर्ताले आफ्नो ठाउँमै बसेर कन्टेनरको अवस्थितिबारे जानकारी लिन सक्छन्। 

कसैले कन्टेनर बाटैमा खोल्न चाहेमा पनि सोको सूचना तुरुन्त उक्त यन्त्रको माध्यमबाट आउने छ । नेपाली कन्टेनरको मालसामानमा भारतीय भूमिमा कसैले हात हाल्न चाहेमा तुरुन्तै प्रहरीको फन्दामा पु¥याउन उक्त यन्त्रले मद्दत गर्नेछ । उक्त सानो यन्त्रमा सम्बन्धित कन्टेनरको सबै विवरण हुन्छ । त्यसको मद्दतले नेपाली कन्टेनर ठाउँठाउँमा अनावश्यक रुपमा अड्किने समस्याबाट छुटकारा मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, नेपालका लागि आयातित वस्तु भारतीय बजार माफियाको हातबाट त्यहीँ खपत गरी भारतीय राजस्व गुम्ने समस्याबाट भारतीय पक्ष पनि निर्धक्क बन्ने भएको छ। 

यो लागू गर्ने विषयमा विगतदेखि नै छलफल हुँदै आएको थियो। यसपटक कोलकाता बन्दरगाह भएर आउने कन्टेनरमा त्यहाँस्थित भारतीय भन्सारले नमूनाका रुपमा यसलाई परीक्षण गरिरहेको छ। ‘नेपाल जाने १५ कन्टेनरमा यो लगाइएको हो,’ कोलकाता पोर्ट ट्रस्टका बन्दरगाह ट्राफिक व्यवस्थापक हिमांशु शेखरले भने, ‘यो पाइलट प्रोजेक्ट सुरुमा तीन महिनाका लागि चलाइएको छ, सफल भएपछि नेपाली व्यापारमा पूर्ण रुपमा लागू हुने हामीलाई जानकारी आएको छ।’

नेपाली कार्गोलाई भारतमा भन्सार प्रक्रियाबाट मुक्त गर्न अवाज उठिरहेका बेला आएको यो विद्युतीय कार्गो निगरानी प्रणालीले यसमा सघाउ पुर्याउने बताइएको छ। रेलबाट हिँड्ने कन्टेनरको गन्तव्य नेपाल सुनिश्चित भएकाले त्यसमा न्यून मात्र भन्सारका औपचारिकता पूरा गरे पुग्ने व्यवस्थ ागर्न भारतीय पक्ष तयार रहेको बेला सडक मार्गबाट आउने कार्गो अझै समस्याको रुपमा थियो । यो निगरानी प्रणाली लागू भएपछि सडकबाट आउने कार्गोको हकमा पनि भन्सार औपचारिकता न्यून पार्ने आधार बन्न लागेको छ । परीक्षण अवधिपछि यो प्रणाली रेलबाट आउने र सडकबाट आउने दुवै किसिमको कार्गोमा लागू हुने बताइएको छ। 

‘नेपाली कार्गोको अवस्थिति इन्टरनेटकै माध्यमले पत्ता लगाउन सकिने उक्त प्रणाली लागू भएपछि नेपाली व्यापारलाई फाइदा नै पुग्छ,’ भारतका लागि नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले भने, ‘यहाँस्थित कस्टम्सले ट्रायल गर्न लागेको छ ।’ भारतीय भन्सारमा लाग्ने भन्दै नेपाली आयातकर्ताका प्रतिनिधिले करिब १२ हजार रुपैयाँँ (भारु भारतीय रुपैयाँ ७–८) खर्च लिँदै आएका थिए । सो खर्च अब यस प्रणालीले धेरै कटौती हुने भएको छ । त्यस्तै बाटोमा कन्टेनर विलम्ब हुँदा लाग्ने एलसी (प्रतीतपत्र)को ब्याजको रकम लगायत नोक्सानी पनि जोगिने भएको छ। 

आयातमा हुने बचतको एक निश्चित हिस्सा भने उक्त प्रणालीका लागि आयातकर्ताले बेहोर्नुपर्ने हुन्छ । ‘पाइलट प्रोजेक्ट’को रुपमा लागू इसिटिएस गर्दा प्रतिकन्टेनर करिब तीन हजार भारु (करिब पाँच हजार नेपाली रुपैयाँ) लागत पर्ने देखिएको छ । यसको व्ययभार आयातकर्ताले लिनुपर्ने छ । धेरै बचतबाट थोरै खर्च गर्नुपर्दा नोक्सानी नहुने आयातकर्ताको भनाइ छ । त्यस्तै, समय बचतलाई आयातकर्ताले महत्त्वपूर्ण बताएका छन् । ‘समय बचत हाम्रा लागि ठूलो कुरा हो, आजको व्यापार भनेको समयकै खेल हो,’ आयातकर्ता सुशान्त चाचानले भने, ‘आयातकर्ताको ठाउँबाट बोल्नुपर्दा इसिटिएस हाम्रा लागि निकै महत्त्वपूर्ण छ ।’

के हो आरएफआइडी यन्त्र ?
रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआइडी) इन्टरनेटका माध्यमले कन्टेनरलाई निगरानी गर्ने यन्त्र हो । आरएफआइडी भनेको कन्टेनर कार्गोमा सिल लगाएर राखिने सूक्ष्म यन्त्र हो जसले उक्त कन्टेनर हिँडेपछि कुन ठाउँमा, कहाँनिर कति समय रहेको छ भन्ने संकेत गर्छ। 

आरएफआइडीमा कम्प्युटरको माध्यमले कन्टेनरको सम्पूर्ण विवरण भरिन्छ । उक्त यन्त्र इन्टरनेटको जिपिएस (ग्लोबल पोजिसन सर्भिस) अर्थात भूमण्डलीय अवस्थिति सेवामा सम्पर्क स्थापित गराइएको हुन्छ । यता उसको कोडहरु आयातकर्ताले प्राप्त गरेको हुन्छ र आफ्नो कार्यालय वा घरमै बसी आफ्नो मालसामान बोकेको कन्टेनरको अवस्थिति पत्ता लगाउन सक्छ।  

प्रकाशित: २९ फाल्गुन २०७४ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App