५ वैशाख २०८१ बुधबार
खेल

टियु र गोल्डेनगेट विजयी

काठमाडौं – त्रिभुवन विश्वविद्यालय(टियु) र गोल्डेनगेट इन्टरनेसनल कलेजले युनिभर्सिटी क्रिकेट कपमा सोमबार विजयी नतिजा निकालेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टियुले ट्रिटन कलेजलाई २४ रन तथा गोल्डेनगेटले सेन्ट जेभियर कलेजलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गरे । टस हारेर ब्याटिङका लागि निम्त्याइएको टियूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो । १ सय ६७ रनको लक्ष्य पछ्याएको ट्रिटनले ७ विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो।

ट्रिटनका लागि भिम एसकेले अविजित ५१ रन बनाउँदा ओपनर दीपेन्द्र चन्दले १६ र हेमन्त कार्कीले २२ रन जोडे । टियुका लागि छितिज सिंहले ३ विकेट लिए भने सागर ढकालले २ र रुपेश श्रीवास्तवले १ विकेट लिए।

त्यसअघि टियुका लागि इसान पाण्डेले अविजित ५५ रन बनाए । इसानलाई पृथु बास्कोटाले ३८, सुवास खकुरेलले २४ तथा रविन जोशीले २० रन जोडेर साथ दिए । ट्रिटनका लागि अविनाश अधिकारीले ३ विकेट लिए । प्रतिश जिसी, भिम एसके र यज्ञमान कुमालको नाममा १÷१ विकेट रह्यो ।

सोमबारै टस जितेर ब्याटिङ थालेको गोल्डेनगेटले २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियरले १८ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र जोड्न सक्यो।

गोल्डेनगेटका लागि नरेश बुढाऐरले ९६ रनको योदान गरे । ६२ बल खेलेका नरेशले ११ चौका र २ छक्का प्रहार गरे । सुशान्तसिंह थापाले ३२ रन जोड्दा, सञ्जय श्रेष्ठले ४ तथा भूपेन्द्र थापाले अविजित ४८  रन बनाए।

रविकुमार शाह ४ तथा संजय श्रेष्ठले ३ विकेट लिएपछि सेन्ट जेभियरले १८ ओभरमा सबै विकेट गुमायो । सेन्ट जेभियरका अनुपसिंह न्यौपानेले ४६ रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । गोल्डेनगेटका रविकुमार र संजयबाहेक पुष्प थापाले २ र साहब आलमले १ विकेट लिए । प्रतियोगितामा मंगलबार न्यु समिट कलेजले कसमससँग र टियू ‘ए’ ले क्यारेवियन कलेजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App