coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

युभेन्ट्स शीर्ष स्थानमा

रोम – शीर्ष टोली नेपोलीले इन्टर मिलानसँग गोलरहित बराबरी नतिजा निकालेको दिन आइतबार युडिनेसीमाथि २–० को जित हासिल गर्दै साबिक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो हाफमा स्ट्राइकर गोन्जालो हिग्विन पेनाल्टीमा गोल गर्न चुके पनि पाबलो डिबालाले दुई गोल गरेपछि मासिमिलियानो एलेग्रीको टोली नेपोलीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भयो । युभेन्ट्सले २७ खेलमा ७१ अंक जोड्दा एक खेल बढि खेलेको नेपोलीको ७० अंक छ । त्यस्तै ५६ अंक जोडेको एएस रोमा तेस्रो, ५३ अंक जोडेको लाजियो चौथो, ५२ अंक जोडेको इन्टर मिलान पाँचौं र ४७ अंक जोडेको एसी मिलान छैटाैं स्थानमा छ।

२०औं मिनेटमा डिबालाले फ्रि–किक गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । मध्यान्तर हुन ७ मिनेट बाँकी रहँदा युभेन्ट्सले अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो । तर ग्याब्रियल एन्जेलाले डिबालालाई लडाउदा प्राप्त पेनाल्टीलाई हिग्विनले गोलमा परिणत गर्न सकेनन् । हिग्विनको प्रहार युडिनेसीका गोलकिपर अल्बानो बेन्जामिन बिजारीले विफल पारेका थिए।

आइतबारै सम्पन्न खेलमा एसी मिलानले जिनुवामाथि १–० को विजयी नतिजा निकाल्दै गत साता आर्सनलसँग युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा भोगेको हारको पीडामा मलम लगाएको छ । इन्जुरी समयको पाँचौं मिनेटमा आन्द्रे सिल्भाले गरेको गोल मिलानको जितमा पर्याप्त बन्यो।

आइतबारै अन्य खेलमा क्रोटोनीले साम्पडोरियालाई ४–१ को नतिजामा हराउँदा एट्लान्टाले बोलोग्नामाथि १–० को जित दर्ता गरायो । काग्लियारी र लाजियोले २–२ तथा सासौलो र एसपिएएलले १–१ को बराबरी नतिजा निकाले।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App