८ वैशाख २०८१ शनिबार
कला

मौसम कुर्तीको

भनिन्छ, गर्मी फेसन पछ्याउनेको मौसम हो । जाडोमा आफूलाई मनपर्ने फेसन देखाउन नपाउनेहरू पनि गर्मी पर्खेर बसेका हुन्छन् । 
चिसोका कारण जाडोमा छोटा र पारदर्शी पहिरन लगाउन चाहनेले समेत लगाउन सक्दैनन् । गर्मी नै त्यस्तो मौसम हो, जुनबेला छोटा, छरिता, पारदर्शी र आरामदायी पहिरन लगाउन सकिन्छ । 
उपत्यकामा पनि जाडो सकिएर गर्मी बढ्दै छ । जसरी गर्मीको ज्वरो बढ्दै छ, त्यसैगरी फेसनेबल युवा पुस्तामा फेसनको पारो पनि चढेको देखिन्छ । उपत्यकाका दरबारमार्ग र ठमेल क्षेत्र होस् वा सपिङ मल र पार्कहरू, अचेल नयाँ–नयाँ फेसन देखाउनेको भीड लाग्न थालेको छ। 

छोटा, छरिता र पारदर्शी पहिरनको प्रयोग बढेका बेला एउटा छुट्टै जमातका लागि भने फेसन बनेर आएको छ, कुर्ती । विशेषगरी सहरिया र कामकाजी महिलाको आकर्षणमा परेको कुर्तीलाई धेरैले आरामदायी पहिरन मान्छन्। 

छोटा, छरिता र पारदर्शी पहिरनको प्रयोग बढेका बेला एउटा छुट्टै जमातका लागि भने फेसन बनेर आएको छ, कुर्ती । विशेषगरी सहरिया र कामकाजी महिलाको आकर्षणमा परेको कुर्तीलाई धेरैले आरामदायी पहिरन मान्छन् । 

अचेल फेसनसँगै आरादायी पहिरनको माग बढी रहेको बताउँछन्, कुमारीपाटीस्थित फ्याबेन्डिया सोरुमका प्रबन्ध निर्देशक श्रीयान्स कार्की। उनका अनुसार आरामदायीका साथै फेसनेबल समेत हुने भएकाले कुर्ती कामकाजीको रोजाइमा परेको कार्कीको भनाइ छ। 

कुर्तीलाई गर्मी मौसममा लगाउन मिल्ने सालीन र सहज पहिरन मानिन्छ । त्यसैले त यो किशोरीदेखि वृद्धा सम्मको रोजाइमा पर्न थालेको छ। पाका उमेरका महिलाका लागि त कुर्ती नै फेसनेबल देखिने पहिरन हो भन्दा खासै फरक नपर्ने विक्रेता बताउँछन्।  

लेगिन्ज, प्लाजो, ग्रन्ज जिन्स र प्यान्ट्समा कुर्ती निर्विकल्प जस्तै भएको बताउँछन्, विक्रेता कार्की । ‘पछिल्लो समय हाम्रो स्टोरबाट कुर्ती सबैभन्दा धेरै बिक्री भएको छ,’ उनले भने, ‘बजारमा कटन र सिल्कका कुर्ती लगाउन मन पराउने बढी आउँछन्, यसको डिजाइनबारे जानकारी नहुनेले समेत देखेपछि मन पराएर लैजान्छन् ।’ कुर्तीको मूल्य सामान्यतः एक हजार आठ सय रुपैयाँबाट सुरु हुने उनी बताउँछन्। 

कटन र सिल्कका कुर्तीको बढी माग रहेको विक्रेताको अनुभव छ । गर्मीमा कटन कुर्ती निकै चल्ने न्युरोडस्थित एएम कलेक्सनकी सुनिता भण्डारी बताउँछिन् । ‘यो प्लाजो, जिन्स प्यान्ट्स, पटेला सुरुवाल, चुडिदार र ह्यारेम प्यान्टस्, चिकन कडाई सुरुवालमा लगाउन सकिन्छ,’ उनले भनिन्, ‘कटन कुर्तीले शरीरलाई फाइदा गर्ने भएकाले धेरैले गर्मीमा कटन कुर्ती रोज्छन् ।’

चल्तीका केही कुर्ती 

चिकेनकारी कुर्ती  
चिकेनकारी कुर्ती निकै लोकप्रिय छ । यसलाई ‘डेली युज’देखि ‘पार्टी वेयर’का रूपमा समेत प्रयोग गर्न सकिन्छ । चिकेनकारी कुर्तीमा कडाईको काम हातले गरिने भएकाले यसको माग धेरै रहेको व्यापारी बताउँछन् । ‘जाडो र गर्मी मौसमबीचको समयमा सिल्कको कुर्ती जान्छ,’ फ्याबेन्डियाका कार्की भन्छन्, ‘पार्टी वेयरमा सिल्को कुर्ती बढी प्रयोग भए पनि ‘डेली वेयर’मा भने कटनकै कुर्तीको माग हुन्छ।’ 

एन्टेना फाउन्डेसनमा कार्यरत रजनी हुमागाईंलाई गर्मी मौसममा कुर्ती र लेगिन्ज मनपर्छ । कटनका कुर्ती लगाउँदा गर्मीमा सहज हुने उनी बताउँछिन् । ‘कुर्ती लगाउँदा निकै सजिलो लाग्छ, अफिसमा लगाएर आउँदा पनि फर्मल भएजस्तो हुन्छ,’ उनले भनिन् । हुमागाईं बजारमा उपलब्ध फेसन अनुसारका कुर्ती लगाउँछिन् । उनलाई मनपर्ने भनेकोचाहिँ चिकेनकारी कुर्ती नै हो । हेर्दा सरल र आकर्षक देखिने भएकाले चिकेनकारी कुर्ती मन परेको उनले बताइन् । 

लङ कुर्ती 
लङ कुर्ती सामान्यतः सबै ठाउँमा लगाउन सकिन्छ । प्लाजो, प्यान्ट्स, चुरिदार सुरुवाल, ह्यारेम प्यान्ट्समा यो लगाउन सकिन्छ । सिल्क र कटन दुवै कपडामा लङ कुर्ती पाइने एएम कलेक्सनकी भण्डारी बताउँछिन् । ‘लङ कुर्ती हरेकलाई सुहाउँछ, अफिस जाँदा र घुम्दा पनि यस्तो कुर्ती उपयोगी हुने भन्दै खोज्न आउने धेरै छन्,’ उनले भनिन् । सामान्यतः एक हजार पाँच सय रुपैयाँबाट यसको मूल्य सुरु हुन्छ । इन्जिनियरिङ अध्ययनरत धुलिखेलकी माधवी रेग्मी गर्मीमा कुर्ती, ग्रन्ज र जिन्स लगाउत मन पराउँछिन् । ‘क्लासिक लुक्स्’का लागि उनलाई कुर्ती मनपर्छ । कुर्तीमा फ्ल्याट चप्पल उनलाई मनपर्ने फेसन हो। 

रेग्मी हल्का प्रिन्टयुक्त डिजाइनको कुर्तीमा लोभिन्छिन् । ‘लामो कुर्ती लगाउँदा हल्का हुन्छ, यताउता हिँड्दा झन्झट हुँदैन, सिम्पलमा राम्रो देखिन्छ,’ उनले भनिन् । हल्का गुलाबी, रातो र कालो रङको कुर्ती उनलाई औधि मन पर्छ। 

सामान्य उत्सव र विवाह समारोहमा जाँदा भने कडाई गरेको कुर्ती लगाउने उनले बताइन् । ‘घुम्न जाँदा ग्रन्ज जिन्समा कुर्ती लगाउँदा फेसनेबल फिल हुन्छ, त्यसैले लगाउँछु,’ उनले भनिन्। 

अनारकली कुर्ती
अनारकली कुर्ती पाकिस्तानको लाहोरका महिलाले लगाउन सुरु गरेको मानिन्छ । अहिले भने यो सबैतिर प्रचलित छ । अनारकली कुर्ती आफ्नो इच्छाअनुसार लामो र छोटो स्टाइलमा पाइन्छ । ‘विशेष गरेर चाडपर्वमा अनारकली कुर्तीको माग बढी हुन्छ,’ विक्रेता सुनिता भन्छिन् । सिल्कको अनारकली कुर्ती धेरै प्रचलनमा छ। 

काठमाडौं स्कुल अफ लकी विद्यार्थी समिता भारद्वाज कलेजको कार्यक्रम र पर्वका बेला कुर्ती लगाउने बताउँछिन् । ‘मेरो ज्यान अलि ठूलो छ, सुहाउने भएर म प्रायः कुर्ती लगाउँछु,’ उनले भनिन् । शरीरमा टपक्क मिल्ने भएकाले कुर्ती लगाउने गरेको उनले बताइन्। 

रोलअप स्लिभ 
‘रोलअप स्लिभ’ कुर्ती निकै फेसनमा छ । गर्मीमा यो डिजाइनको कुर्ती केटाकेटी दुवैका लागि राम्रो विकल्प हुन सक्छ । कुर्तीको लामो ‘स्लिभ’ भए पनि टाँकमा ‘फोल्ड’ गरेर ‘क्वार्टर स्लिभ’ बनाउन सकिन्छ । यही कारण यसलाई ‘रोल अप’ कुर्ती भनिएको ‘फ्याबेन्डिया’का कार्की  बताउँछन् । उनका अनुसार युवा पुस्ताले यस्तो कुर्ती धेरै मन पराउने गरेका छन् । यसको मूल्य सामान्यतः एक हजार आठ सय रुपैयाँदेखि सुरु हुने उनले जानकारी दिए । 

अम्ब्रेला कुर्ती 
पार्टी र प्रोग्राममा अम्ब्रेला कुर्ती लगाउने फेसन बढ्दो छ । पूर्णरूपमा कडाई गरिएको मात्र नभए सादा खालको ‘अम्ब्र्रेला’ कुर्तीको पनि माग रहेको व्यापारी सुनिता बताउँछिन् । ‘अम्ब्रेला कुर्ती गह्रौँ हुन्छ, डेली प्रयोग गर्न गाह्रो हुन्छ, डेली रूपमा कमै प्रयोग गर्छन्, ‘डेली प्रयोग गर्नलाई कटनको सादा डिजाइन नै रोज्छन् ।’

प्रकाशित: २८ फाल्गुन २०७४ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App