८ वैशाख २०८१ शनिबार
अन्य

‘मासुबिना पनि हुन्छ भोजभतेर’

काठमाडौंको भृकुटीमण्डपस्थित पुलिस क्लबमा शनिबार र आइतबार शाकाहारी महोत्सव आयोजना गरियो । महोत्सवमा विभिन्न सामग्रीबाट बनेका शाकाहारी खानेकुरा चाख्नेको भीड थियो। शाकाहारी परिकार चाख्दै रमाउनेमध्ये थिइन्, ललितपुर बालकुमारीकी शिखा बस्नेत । उनी शाकाहारी हुन् । सानैदेखि मासुका परिकार नरुचेपछि आफू शाकाहारी बनेको उनले सुनाइन्। ‘मलाई मांसाहारी खानेकुरामा त्यति ध्यान गएन,’ उनले भनिन्, ‘शाकाहारी परिकार खाने बानी परेपछि मासुतिर ध्यानै जाँदैन ।’ शाकाहारी भोजन गरेर स्वस्थ जीवन बिताउन पनि उनी सुझाव दिन्छिन्। 

महोत्सवमा शाहाकारी मुख्य परिकारहरू राखिएको थियो । जसमा इजरायली मुख्य खानाका परिकार लबानी, माटहुँच, तहिनी, बेट्रोस्ट पास्तीलगायत परिकार राखिएको थियो । यी आइटम बनाउन चना र तिलको पेस्ट, बदाम, मकैको पिठोलगायत सामग्री चाहिने लामो समयदेखि इजरायली खानेकुराका परिकार बनाउँदै आएका राम खनालले बताए । ‘अरु देशमा मासुका परिकारभन्दा शाकाहारी खानेकुरा बढी खाने प्रचलन छ,’ उनले भने, ‘हाम्रो देशमा मासुविना भोजभतेर नै चल्दैन । बनाउन जान्ने हो भने मासुबाट भन्दा शाकाहारी सामग्री प्रयोग गरेर पनि मासुको भन्दा मिठो स्वाद लिन सकिन्छ ।’ उनले शाकाहारी परिकार बनाउन कुनै झन्झट नहुने बताए । ‘मासुका परिकारभन्दा भेज परिकार बनाउन सजिलो छ,’ उनले थपे, ‘यसले स्वास्थ्य र वातावरण दुवैलाई फाइदा गर्छ।’ 

‘हाम्रो देशमा मासुविना भोजभतेर नै चल्दैन । बनाउन जान्ने हो भने मासुबाट भन्दा शाकाहारी सामग्री प्रयोग गरेर पनि मासुको भन्दा मिठो स्वाद लिन सकिन्छ । यसले स्वास्थ्य र वातावरण दुवैलाई फाइदा गर्छ।’

महोत्सवमा शाहाकारीहरूलाई लक्षित गर्दै विभिन्न स्वादिष्ट परिकार राखिएको थियो । सालापाउ, सलाद, भेज पिस फ्राई, बार्बिक्यु, फापरको फुरौला लगायत परिकार बनाउने सामग्री राखिएको थियो । ‘लामो प्रयासमा हामीले यस्तो महोत्सव आयोजना गर्न सफल भयौँ,’ नेपाल शाकाहारी संघका उपाध्यक्ष कृष्ण गुरुङले भने, ‘यस्ताखाले महोत्सव आयोजना गरियो भने त्यसले प्राणीको हत्या गर्ने र मासुमा रमाउने कल्चर हट्दै जान्छ, मानिसको स्वास्थ्य पनि दीर्घायु हुन्छ।’ 

उनले पहिलोपल्ट आयोजना गरिएको महोत्सवमा नेपालका मात्रै नभएर विदेशी मुलुकका शाहाकारी व्यक्ति आएर अन्तक्र्रिया गरेको जानकारी दिए । ‘विदेशी डाक्टर, प्रोफेसर र कुकहरू ल्याएर अन्तक्र्रिया राखेका थियौँ,’ उनले भने, ‘शाहाकारी भोजन कसरी स्वादिष्ट बनाउन सकिन्छ भन्नेबारे पनि अन्तक्र्रियामा छलफल भयो, यसले शाहाकारी र मांसाहारी दुवैलाई फाइदा गरेको अनुभव भयो।’ 

शनिबारदेखि सुरु भएको दुईदिने महोत्सवको उद्घाटन वातावरणमन्त्री लालबाबु पण्डितले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले शाकाहारी खानेकुरा सेवन गर्ने बानीले वातावरणसँगै जीवजन्तुको कल्याण हुने बताए । ‘मासु भन्नेबित्तिकै प्राणी र वातावरणसँग ठोक्किन्छ,’ उनले भने, ‘स्वस्थ हुनु छ र अरु प्राणीको पनि हित चिताउनु छ भने शाकाहारी परिकार सेवन गर्नु उत्तम हुन्छ।’ उनले सहरमा पशुपक्षी काटमार गर्ने परम्पराले मानव शरीरसँगै वातावरणलाई समेत असर गरेको जानकारी बताए। 

यस्ताखाले महोत्सवले पर्यटन प्रवद्र्धनमा मुख्य भूमिका खेल्ने संघका उपाध्यक्ष गुरुङको भनाइ थियो । शाहाकारी बन्नका लागि प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए। उनका अनुसार यस्तो महोत्सव नेपालमा पहिलोपटक आयोजना गरिएको हो । संघले शाकाहारी भोजनबारे जनचेतनामूलक विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । साथै विदेशबाट आउने शाकाहारी पर्यटकलाई लक्षित गर्दै ठूला होटल खोल्ने, विदेशी परिकार बनाउने कुकको तालिम दिनेलगायत गतिविधि संघले गर्दै आएको छ। 

शाकाहारी अभियन्ता दुर्गानाथ दाहालले हालै युनेस्कोले गरेको एक अध्ययनमा काटमार गर्ने परम्पराले ग्लोबल वार्मिङको समस्या देखिएको जानकारी दिए । उनले विश्वमा शाकाहारी बन्नेको संख्या बढ्दै गएको बताए । ‘शाकाहारी परिकारले स्वास्थ्य र हाम्रो स्मरणशक्ति बलियो बनाउँछ,’ उनले भने, ‘यसलाई अभियानका रूपमा सञ्चालन गर्दै जाने हो भने मासु खानेको संख्या पनि घट्न सक्छ ।’ 
परिकार बनाउन इजरायलमै काम गरेका कुकहरू पनि ल्याइएको आयोजकले जनायो । महोत्सवमा आठ देशमा मुख्य खानेकुराको रूपमा लिइने शाहाकारी परिकार राखिएको थियो । महोत्सवमा इन्डोनेसिया, थाइल्यान्ड, अमेरिका, श्रीलंका लगायत देशका प्रतिनिधि उपस्थित थिए । महोत्सवमा आउनेलाई लक्षित गर्दै विभिन्न परामर्श कक्षा, परिकारको नाम, पकाउने विधिबारे जानकारी दिइएको थियो । महोत्सव आयोजनाका लागि नेपाल शाहाकारी संघले मुख्य भूमिका खेलेको थियो भने शाहाकारी क्षेत्रका काम गर्दै आएका अन्य शाहाकारी संघ तथा संगठनको सहभागिता थियो । शनिबार र आइतबार भएको महोत्सवमा सयौँ थरी शाहाकारी परिकारका स्टल राखिएका थिए । त्यस्तै प्राणी र पशुपक्षीबारे जानकारी दिने स्टल पनि राखिएका थिए ।

प्रकाशित: २८ फाल्गुन २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App