८ वैशाख २०८१ शनिबार
अर्थ

सार्कका अग्रणी व्यवसायीको सम्मेलन काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का व्यवसायीहरूको छैठौं ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ काठमाडौंमा हुने भएको छ । यसअघि पाकिस्तानमा हुने भनिएको सम्मेलन विभिन्न कारणले त्यहाँ नहुने भएपछि चैत २, ३ र ४ गते काठमाडौं गर्न लागिएको हो।  

सार्क उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलन गरेर सम्मेलन नेपालमा हुने पक्का भएको र यसले नेपालको आर्थिक गतिविधिमा थप सहयोग पुर्याउने बताएको छ । ‘सम्मेलन नेपालमा हुँदैछ,’ सार्क चम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका अध्यक्ष सुरज वैद्यले भने, ‘यसले लामो समयसम्म सञ्चारको ग्याप भएको सार्कमा नयाँ सञ्चार थप्ने छ।’ 

तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशहरूमा व्यापार र लगानीको प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थ व्यवस्थामा सार्कको भूमिका, सार्कमा ऊर्जा र सहकारी क्षेत्रमा भएको सफलता र आगामी कार्यदिशा लगायत विषयमा छलफल गरिने छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न विषयमा प्यानल सञ्चालन हुनेछन् । आयोजकका अनुसार दोस्रो दिन सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल हुनेछन्। 

अन्तिम सत्रमा सार्क देशहरूका वाणिज्य मन्त्रीहरू सम्मिलित छलफल कार्यक्रम हुनेछ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरू रहनेछन् भने सम्मेलनमा दुई सयजना सार्क राष्ट्रका प्रतिनिधिहरू, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरू तथा सञ्चारमाध्यमको सहभागिता रहने छ। 

नेपालले आयोजना गर्न लागेको यो दोस्रो सम्मेलन हो । यसअघि सन् २०११ मा पनि नेपालमै भएको थियो । सन् २०१८ मा गर्न थालिएको सम्मेलन यसअघि पाकिस्तानमा राखिए पनि त्यहाँ नहुने भएपछि अध्यक्ष वैद्यको पहलमा नेपालमा हुने पक्का भएको सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष ओम राजभण्डारीले बताए। 

सार्क चेम्बरका अध्यक्ष वैद्यले यस सम्मेलनबाट नेपालले भरपूर फाइदा उठाउनु पर्ने बताए । उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यवसायीहरूले सार्कको सर्वोच्च संस्थाका रुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरेपनि राजनीतिक अस्थिरताका कारण आशातित काम हुन नसकेको अध्यक्ष वैद्यले बताए। 

अध्यक्ष वैद्यले आफू अध्यक्ष भएपछि यसअघि सार्कस्तरीय बैठक हुन नसकेको अफगानिस्तानमा बैठक गरिएको, सार्क चेम्बरको आयोजनामा परराष्ट्र मन्त्रीहरूसँग बैठक गरिएको बताए । ‘विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया नै हो,’ वैद्यले भने, ‘अबको १० र १२ वर्ष सार्क क्षेत्र लगानीको उपयुक्त र स्वर्णिम समय हुनेछ।’  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले मन्त्रालय सधैं निजी क्षेत्रसँग सहकार्य गरिरहेको अवस्थामा यो सम्मेलनमा सरकार र जिनी क्षेत्रबीच थप मजबुती हुने विश्वास व्यक्त गरे । ‘निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा सरकारको सहयोग रहनेछ,’ सैजुले भने, ‘यो सम्मेलनले नेपाल र सार्क क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्नेछ ।’

प्रकाशित: २८ फाल्गुन २०७४ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App