"

बुद्धको नागरिकता !

सोमबार, २८ फागुन २०७४, ०९ : १५ अरुण पौडेल


कतिपय कुरा यस्ता हुन्छन्, जुन राम्रो उद्देश्यले गरिएका हुन्छन्, तर तिनको नतिजा त्यति राम्रो निस्कँदैन । मानिसले गर्ने कतिपय कामको चाहिँ आशय नै शंकास्पद वा निरर्थक हुन्छ, र नतिजा पनि त्यही अनुसारकै देखिन्छ । गत शनिबार काठमाडौँको टुँडिखेलमा आयोजना गरिएको सामूहिक धम्मपद वाचनको कार्यक्रम सायद दोस्रो कोटिको थियो। 

धम्मपद बुद्धको अमूल्य वचन हो । बुद्धले विभिन्न समयमा दिएका शिक्षाहरूको साररूपमा संग्रहित पद्यहरूको संकलन हो धम्मपद । संसारभर धेरै बौद्धमार्गीहरूले धम्मपदको नियमित वाचन र यसमा ध्यान गर्ने गरेका छन् । बौद्धधर्मको थेरवाद निकायमा त धम्मपद जत्तिको मूल्यवान् ग्रन्थ अरू छैन । तर टुँडिखेलमा गरिएको धम्मपद वाचनको बौद्धदर्शनसँग कुनै लेनादेना थिएन । 
कार्यक्रम आयोजकका दुई उद्देश्य थिए– सामूहिक वाचनको विश्वरेकर्ड बनाउने र बुद्ध नेपालमै जन्मिएका थिए भनेर विश्वलाई बताउने। 

बौद्धदर्शनमा यी दुवै कुराको कुनै अर्थ छैन । बुद्धलाई यो वा त्यो कुनै रेकर्ड बनाउनु थिएन । र, विश्वमा स्थापित भइसकेको सत्यलाई फेरि बताउनलाई समय र ऊर्जा खेर प्mयाँक्नुको कुनै तुक थिएन । त्यो समय र उर्जालाई बुद्धको शिक्षा पालना गर्नेतर्फ लगाएको भएचाहिँ केही अर्थ हुन्थ्यो होला। 

उनको शिक्षा भौगोलिक सीमा पार गरेर श्रीलंका पुग्यो, थाइल्यान्ड पुग्यो, चीन, म्यान्मार, लाओस, कम्बोडिया, जापान, कोरियालयायत कैयौँ भूमिहरूमा पुग्यो । दुर्भाग्य, उनको महापरिनिर्वाणको केही शताब्दीपछि जहाँबाट उनको शिक्षाको प्रादुर्भाव भयो, त्यही भूमि अर्थात् भारतवर्षबाट उनको शिक्षा विलुप्त भयो । 

मलाई त आयोजकका यी दुवै उद्देश्य वाहियात लागेकै थिए, मैले चिनेजानेका साथीभाइ र उनीहरूका साथीभाइ धेरैलाई त्यस्तै लागेको रहेछ । सामाजिक सञ्जालमा दिनभर “बुद्ध होइन, बुद्धु नेपालमा जन्मिएछन्” भन्नेखालका ट्वीट र पोस्टहरू छाइरहे। 

बुद्ध नेपालमै जन्मिएका थिए भन्ने कुरामा कुनै द्विविधा छैन । पाँचौँ र सातौँ शताब्दीमा नेपाल आएका चिनियाँ भिक्षुहरू फाहियान र हुवेनशाङले दिएका प्रमाणहरू र अशोक स्तम्भमा लेखिएका अभिलेख बुद्ध नेपालको लुम्बिनीमै जन्मिएका थिए भन्ने कुराको पुष्ट आधार छँदै थिए । हालै बेलायतको डर्हम युनिभर्सिटीको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले लुम्बिनी र कपिलवस्तु वरपर गरेको उत्खननले त झन् यो तथ्यलाई थप प्रमाणित गरेको छ । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले पनि लुम्बिनी नै बुद्धको जन्मस्थल भएको स्वीकार गर्दै सन् १९९७ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। 

हो, बुद्ध नेपालमै जन्मिएका थिए । तर विडम्बना, उनी यहाँबाट हराइसके । 
उनी भारतबाट पनि हराइसके, जहाँका केही तत्वहरूले बुद्ध आफ्नाे देशको भएको देखाउने भरमग्दुर प्रयास गर्दैआएका छन् ।
बुद्धको जन्मभूमिलाई आफ्नो दाबी गर्ने आधार पहिल्यै समाप्त भइसकेको अवस्थामा उनीहरूले बुद्धको कर्मथलो देखाउँदै बुद्ध भारतीय भएको दाबी गर्ने गरेका छन् । बुद्धलाई भारतीय बनाउन कतिपयले केसम्म भन्छन् भने बुद्धको जन्मताका लुम्बिनीलगायत यो सबै भूभाग भारतवर्षकै अंश थियो, त्यसैले उनी कहाँ जन्मिएका थिए भन्ने प्रश्नै उठ्दैन। 

दलाई लामाले बुद्धको जन्मभूमिबारे केही महिनाअघि दिएको अभिव्यक्ति या त यस्तै तत्वहरूद्वारा प्रभावित थियो, या त्यसको बुझाइठीक ढंगले भएको थिएन । त्यो अभिव्यक्तिको विश्वभरका नेपाली समुदायले खुलेर विरोध गरेका थिए।बुद्धलाई आफ्नो बनाउन दाबी गर्नेहरू बुद्धबाट कति विमुख छन् !

उनीहरूले यो कहिल्यै सोचेनन्– बुद्धलाई अर्थहीन कुरासँग कुनै सरोकार थिएन । कुनै मान्छे कहाँ जन्मिन्छ र कुन भूमिमा मर्छ भन्ने उनको मतलबको कुरा थिएन । फलानो देशको नागरिकता र फलानो देशको राष्ट्रियता जस्ता संकुचित बन्धनहरूमा बाँधिएर बस्न उनलाई कुनै चासो थिएन । उनको एउटै मात्र चासो भनेको मानिसलाई जन्मौँजन्मको दुःखको दुष्चक्रबाट निस्कन कसरी सहयोग गर्ने भन्ने थियो । मानिसलाई सार्थक जीवन जिउन सिकाउने उनको ध्येय थियो । उनी चाहन्थे, मानिसले आफैँलाई राम्रोसँग चिनून्, ताकि उनीहरू शान्तिपूर्ण र आनन्दित जीवन जिउन सकून् । बुद्धत्व प्राप्तिपछि ४५ वर्षसम्म उनले मानिसलाई जीवन र जगत्को अनित्यताको बोध गराए, अबुझ भएर संसारमा अल्मलिँदाको दुःख बताए। 

बोधिबृक्षमुनि ध्यान गर्दै संयक सम्बुद्ध भएपछि उनले आफूले देखेको सत्य संसारलाई बताउन थाले । एक गाउँबाट अर्को गाउँ, एक नगरबाट अर्को नगर गर्दै उनले मानिसलाई दुःखमुक्तिको उपाय बताए । उनले बुद्धत्व प्राप्त गरेको बोधगया, शिक्षा दिएका अधिकांश गाउँनगर र शरीर त्यागेको कुशीनगर हालको भारतमा पर्छन्। 

उनले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको, ज्ञान बाँडेको, र शरीर त्याग गरेको ठाउँहरूले उनलाई नेपाली वा भारतीय बनाउने हो र ?त्यति सीमित उनको दायरा थियो र ?
बुद्ध जन्मको खास अर्थ उनको शरीरको जन्म होइन । सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भयो, तर सही अर्थमा बुद्धको जन्म तपाईं हाम्रो मनको बुद्धत्वमा हुन्छ । जब मनमा बुद्धत्व जन्मिन छाड्छ, बुद्ध पनि जन्मिन छाड्छन् । हामी सबैको चासोको विषय बुद्धको जन्म हो । बुद्धजन्मलाई बचाइराख्ने हो भने हामीले आफ्नै मनको बुद्धत्वलाई निरन्तरता दिनुपर्छ । हामीले त्यो काम गरिरहेका छौँ? के नेपालमा बुद्धको जन्म भइरहेको छ ? त्यसतर्फ हाम्रो प्रयत्न छ ?

बुद्धको जन्म मानिसको मन र हृदयमा त्यतिखेर हुन्छ, जब उसले बुद्धको शिक्षालाई बुझ्छ र त्यसलाई आफ्नो जीवनमा उतार्न थाल्छ । त्यसो भए बुद्ध राष्ट्रको सीमाभन्दा माथि उठ्न थाल्छन् । उनको जन्म प्रत्येक क्षण, प्रत्येक वर्ष, प्रत्येक शताब्दीमा हुन्छ । संसारको कुनाकुनामा हुन्छ । 

सिद्धार्थ गौतमको जीवनकालमै र उनको भौतिक शरीरको अन्त्यपछि निरन्तर उनले दिएको ज्ञान फैलिँदै गयो । उनको शिक्षा भौगोलिक सीमा पार गरेर श्रीलंका पुग्यो, थाइल्यान्ड पुग्यो, चीन, म्यान्मार, लाओस, कम्बोडिया, जापान, कोरियालयायत कैयौँ भूमिहरूमा पुग्यो । दुर्भाग्य, उनको महापरिनिर्वाणको केही शताब्दीपछि जहाँबाट उनको शिक्षाको प्रादुर्भाव भयो, त्यही भूमि अर्थात् भारतवर्षबाट उनको शिक्षा विलुप्त भयो । 

उन्नाइसौँ र बीसौँ शताब्दीमा आएर केही बेलायती र जर्मन विद्वान्हरूले चासो देखाउन थालेपछि र यसको अध्ययन अनुसन्धान गर्न थालेपछि बल्ल भारतमा बौद्धदर्शनले पुनर्जीवन पायो । यसबीचमा संस्कृत र पालिभाषामा पारंगत केही विज्ञहरूले मात्र बौद्धदर्शनलाई प्राज्ञिक विधाका रूपमा निरन्तरता दिए । बीसौँ शताब्दीको मध्यतिर भारतीय समाजसुधारक बाबासाहेब अम्बेडकरले भारतमा बौद्धदर्शनलाई फर्काए । भारतमा दलित भनेर हेला गरिने समुदायका हजारौँमा उनले बुद्धत्वको बीज रोपे । पछिल्लो समयमा बुद्धको शिक्षामा आधारित विपश्यना ध्यानको प्रशिक्षणमार्फत सत्यनारायण गोयन्काले भारत, नेपाल र विश्वका विभिन्न देशमा कैयौँ बुद्धहरू जन्मिने वातावरण दिए । 

नेपालमा बज्रयान साधकहरूले धेरै शताब्दीदेखि बुद्धत्वको परम्परालाई जीवित राखेका छन् । तिब्बतमा बौद्ध लामाहरूले पनि यसलाई जीवित राखे, र माओको सेनाबाट बचेर भाग्ने क्रममा नेपाल र भारतमा पुनः यसको बीजलाई फर्काए र फक्रिने वातावरण दिए। 

हालका दिनमा अमेरिका र युरोपमा बुद्धको जन्म भइरहेको छ । एक महिनाअघि मैले काठमाडौँमा आयोजना गरिएको ध्यानशिविरको तयारी देख्न पाएको थिएँ । त्यसलाई एक जर्मन भिक्षुले सञ्चालन गर्न लागेका थिए । ती भिक्षु नेपालकै प्रसिद्ध बौद्ध गुरुका चेला थिए । तर उनी ‘जर्मन’ नागरिक हुनु उक्त ध्यान शिविरको प्रमुख आकर्षण थियो । मलाई लाग्यो, बुद्ध जर्मनीमा जन्मिन थालेछन् । 
पश्चिमी विद्वान्ले लेखेका बौद्धदर्शनसम्बन्धी सयौँ पुस्तक र त्यता खुलेका बौद्ध शिक्षामा आधारित कैयौँ ध्यानकेन्द्रहरू देख्दा लाग्छ, आजकल अमेरिका र युरोपमा बुद्ध जन्मिन थालेछन् । अमेरिकी र युरोपेली विश्वविद्यालयका बौद्धदर्शन विभागहरू बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकसित भइरहेका छन्। 

बुद्धको देश नेपालमा जन्मेको म बौद्धदर्शन अध्ययनका लागि युनिभर्सिटी अफ हङकङ जान पाएको थिएँ । त्यहाँको बौद्ध अध्ययन केन्द्रमा भइरहेका उत्कृष्ट प्राज्ञिक अनुसन्धान र अध्यापन, ध्यानको अभ्यास, र साधनाको उच्चकोटिमा रहेका भिक्षु प्रोफेसरहरू देख्दा मलाई लागेको थियो, बुद्ध आजकल हङकङमा जन्मिन थालेछन्। 

विश्वभर बुद्धको जन्म भइरहेको छ । नेपाल त्यसको अपवाद नबनोस् । बुद्धको जन्मस्थानको जतिसुकै रटान लगाएपनि हामी नेपाली बुद्धको शिक्षा अनुसरण गर्ने कुरामा पछाडि छौँ । यो दुःखद कुरा हो । नेपाल सरकारले बौद्धदर्शनको प्रवद्र्धनका लागि छुट्याउने रकम अत्यन्त न्यून छ । बौद्धसम्पदाको संरक्षण गर्नुपर्ने कुरा र नेपाललाई विश्वस्तरीय बौद्ध पर्यटकीय केन्द्र बनाउने कुरामा सरकारको ध्यान कहिल्यै गएकै छैन । नपत्याए एकपटक लुम्बिनी गएर हेर्नुस् । टुँडिखेलमा जम्मा भएको भीड त्यहाँ जाने पूर्वाधार वा वातावरण छ ? विश्वबाट पर्यटकलाई त्यहाँसम्म ल्याउनेतर्फ सरकारको कुनै योजना छ ?

कुनै पनि क्षेत्र वा विषयको विकासको एक महत्वपूर्ण सूचक त्योसम्बन्धी अध्ययन अनुसन्धानमा गरिने खर्च हो । नेपालमा बौद्ध अध्ययन र अनुसन्धानका लागि खोलिएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सरकारले छुट्याएको बजेट हेर्ने हो भने अन्दाज लगाउन सकिन्छ, यो क्षेत्र कति उपेक्षित छ भनेर । प्रधानमन्त्री आफैँ टुँडिखेलमा उपस्थित हुनु र भाषण गर्नु लोकप्रिय काम थियो । तर उनको सरकारले बौद्धदर्शन र बौद्धअध्ययनको प्रवद्र्धन तथा बौद्ध पर्यटनको विकासमा के कदम चाल्छ, त्यो चाहिँ महत्वपूर्ण कुरा हुनेछ ।
“बुद्ध वाज बर्न इन नेपाल” सुन्दा हामी नेपालीको मन आनन्दित हुन्छ । तर यो कुरालाई केवल भाषण गर्न र ड्रमसेट बजाएर भीड एकत्रित गर्न वा कुनै रेकर्ड बनाउने काममा प्रयोग गर्न थालियो भने निश्चय नै यो मीठो शब्दावली बेकामे थेगो बन्न थाल्नेछ। 

हाम्रो समय र ऊर्जा सार्थक काममा लगाउनु जरुरी छ । बुद्धले दिएका शिक्षा ग्रहण गर्नु र त्यसलाई व्यवहारमा उतार्नु जरुरी छ । हामीले नेपालमा फेरि बुद्धलाई जन्म दिनुछ । र, एकमात्र होइन अनेक बुद्धहरू जन्माउनु छ। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...