"

कथा : डल्फिन

आइतबार, २७ फागुन २०७४, २२ : ०४ सुबिन भट्टरार्इ


साथीको लहैलहैमा लागेर पौडी सिक्न गएको थिएँ त्यसदिन। स्विमिङ पुल भरिभराउ थियो। जिन्दगीमा पानीभित्र छिरेको सुदूर सम्झनासम्म पनि छैन। बाथरुमको सावरमै पनि धेरैबेर नटिक्ने मान्छे, स्विमिङ पुलमा चोबलिएर के अडिन सक्दो हुँ?

यहीँबाट सुरु भयो मेरो प्रेमको पहिलो च्याप्टर। मैले अब यो भनिरहनु नपर्ला कि पहिलोपटक ऊ स्विमिङ पुलमै भेटिएकी थिई। म डरले पुलको भित्तामा समातेर आफ्नो ज्यानको सुरक्षा गरिरहको थिएँ। साथी पानीमा छप्ल्याङ्ग छप्ल्याङ्ग गरिरहेको थियो। पुलमा सबै पौडिन जान्ने नै थिए। नजान्ने मै मात्र। लाज र हीनताले पुलको न बाहिर जान सकिरहेको थिएँ, न भित्र पस्ने हिम्मत गर्न सकेको थिएँ।
 
‘पानीभित्र पसेपछि यस्सै सिकिन्छ,’ त्यै साथीले अघिल्लो दिन भनेको थियो। लुगा अघि नै फालिसकेको थिएँ, योपटक लाज सरम, हीनता पनि फालेँ र हिम्मत बटुले अनि पुलको मध्यभागतिर जाने हिम्मत गरेँ। पानी गहिरिँदै गयो। मेरो खुट्टाको सन्तुलन बिग्रियो र लड्खडायो। म आत्तिएँ। माथि उत्रन खोजेँ। सक्दै सकिनँ। साथी अर्को छेउ पुगिसकेको थियो। गुहार मागेँ। कोही आउलाजस्तो लागेन। टाउको पूरै पानीमुनि भयो। खुट्टाले पानीलाई ठेलेँ। हातले पनि ठेलेँ। तर पानी थियो, त्यो ठेलिएन। मै ठेलिएँ झन्झन् मुन्तिर।

हो, यसैबीचमा मेरो नजिकै आएर मलाई हातले समाती पुलको छेउतिर लैजाने उही थिई। आँखा धमिलो देखिरहेको थिएँ। मुखमा पानी सड्किएको थियो। छातीमा मुटु धड्किएको थियो। साथी पनि पौडँदै हामीछेउमा आयो। 
‘तपाईं हो वहाँको साथी?’ मेरो साथीलाई ऊ भनिरहेकी थिई।
साथीले ‘हो,’ को संकेत दिइसकेपछि उसले हपारी, ‘पौडिन नजान्नेलाई त्यसरी एक्लै छाडिदिन्छन्?’

साथीसँग केही जवाफ थिएन। ऊ मतिरै केन्द्रित भयो। म खोकिरहेको थिएँ। ऊ पनि मलाई हेरिरहेकी थिई। केही समयमा म ठीक ठाउँमा आएँ।

‘ठीक हुनुभो?’ मलाई हेर्दै सोधी। म लज्जित भइरहेको थिएँ।
‘सरी है, तपाईंलाई मैले दुःख दिएँ।’ ऊतिर हेर्दै भनेँ। ‘तपाईंको केही गल्ती छैन,’ उसले बडो कोमल हेराइले हेर्दै भनी, ‘गल्ती सबै तपाईंको साथीको हो।’

‘हो है,’ मैले पनि उसको कुरामा सही थाप्दै भनेँ। अनि साथीको मुख हेरेँ। ऊसले आँखा च्यातेर ‘पख्लास् तलाईं’ को भावमा हे¥यो। मैले हाँसेर टारिदिएँ।

त्यसदिन म पानीमा मात्र डुबिनँ, उसको मायामा पनि डुबेँ। चिन्दै नचिनेकी मान्छेले मलाई पानीमा डुब्नबाट बँचाई। निक्कैबेरसम्म मेरो हालबारे मलाई सोधिरही। मेरो मन जिती।

केही दिनपछि म पुनः त्यै पुलमा गएँ। साथीलाई अत्तोपत्तो नदिई। ऊ कतै भेटिन्छे कि भनेर। र ऊ भेटिई। स्विमङ पुलभित्र पौडिरहँदा ऊ डल्फिनजस्तै सुन्दर लागिरहेकी थिई। निक्कै बेरसम्म ऊ पौडिएको हेरिरहेँ। पुलबाट बाहिर निस्केपछि बोल्न गएँ।

‘अस्ति धन्यवाद भन्नै बिर्सेँछु।’

मलाई देख्नेबित्तिकै उसले अनुहार उज्यालो बनाई। उसको अनुहारभरि अडिएका पानीका थोपा बिहानीको पातमा परेको शीतझैँ सुन्दर देखिइरहेथँे।

‘धन्यवाद मात्र त भन्न पक्कै आउनुभा होइन,’ तौलियाले शरीर पुछ्दै उसले शंका व्यक्त गरी।

‘मेरो नियत चोखो छ,’ मैले भनेँ।

‘मैले शंका गरेको आभास भयो?’ मुस्कुराउँदै भनी।

‘मैले त्यस्तो आभास गरेको देखियो?’

दुवै एक अर्कालाई हेरेर हाँस्यौँ। उसले मलाई पौडी सिकाइदिने भई। पौडी त के थियो, पानीमा उत्रन सिक्नु। म त उसैको प्रेममा डुब्न होमिइसकेको थिएँ। डुबिसकेको थिएँ भनौँ अझ।

मलाई ऊ पौडँदा डल्फिनजस्तै लाग्थ्यो। उसका हातखुट्टाले पानीभित्र नृत्य गरिरहेको झैँ लाग्थ्यो। मैले उसलाई भनेँ पनि, ‘तिमी मलाई डल्फिनजस्तै लाग्यो।’

‘तारिफ गरेको कि होच्याएको?’

‘मलाई डल्फिनजस्तो सुन्दर प्राणी यो संसारमा अरू कुनै लाग्दैन। आफैँ बुझ।’

‘धन्यवाद,’ मुस्कुराउँदै भनी।

पौडी सिकाउँदै गर्दा ऊ भन्थी, ‘तपाईंको त्यो साथी त नालायक! पौडन नजान्नेलाई त्यसरी छाडेर जान्छन्।’

‘हो हो नालायक हो त्यो,’ ऊ जे भन्थी त्यसमा समर्थन जनाउनु मेरो कर्तव्य र प्रेम हो भन्ठानी म यसो भनिदिन्थेँ।

एक हप्तामा म पौड्न जान्ने भएँ। यसबीचमा एक आपसका फोन नम्बर साटिए। ठेगाना साटिए। थाहा छैन साटिनु थियो कि थिएन, तर पनि साटिए। हाम्रो मन।
 
मेरो ‘नालायक’ साथीलाई यसको केही भेउसम्म पनि भएन। 

उनको र मेरो धेरै कुरा मिल्थ्यो। गीत, संगीत, सिनेमा, खानेकुरा, सपना लगभग धेरै कुरा मिल्थे। यस्तो लाग्थ्यो भगवान्ले यो पृथ्वीमा एउटै मान्छेलाई दुई फ्याक विभाजन गरेर पठाएको होस्। हो त, यस्तो लाग्थ्यो कि ऊ मेरो आधा हिस्सा हो। जो कुनै दिन भेटि नै पथ्र्यो र पूरा हुनु पथ्र्यो।

हामीबीच प्रेम भयो। मैले उसलाई बोलाउने नाउँ नै ‘डल्फिन,’ भयो। ऊसलाई पनि त्यो नाउँ खुब मन प¥यो।

मान्छे हामी दुवै पातला भए पनि हाम्रा भेट भने बाक्ला भए। हामी उज्यालोमा पनि भेटियौँ। अँध्यारोमा पनि भेटियौँ। कैयौँपटक उसले मलाई छोई। कैयौंपटक मैले उसलाई छोएँ। तर सबैभन्दा सुन्दर स्पर्श त मनले मनलाई छोएको नै हुनेरहेछ। उसले मलाई यसरी छोइदिई कि लाग्यो अब उप्रान्त कसैद्वारा छोइन नपरोस्। हाम्रा भेट यस्ता भए कि त्यसउप्रान्त कसैसित नभेटिऊँ जस्तो लाग्यो। 

तर प्रेम यति सहज किन हुन्थ्यो र? प्रेमको सुगम बाटो सबैले कहाँ पाउँछन् र? संसारमा प्रेमको व्यवस्थापन सबैले कहाँ गर्न सकेका छन्? प्रेमदेखि विवाहसम्मको दूरी जति नै नजिक देखिन्छ, त्यति नै कष्टकर पनि हुनेरहेछ।
 
प्रेम स्विकार्न त दुईजनाको मात्र भूमिका रहन्छ। तर दुईजनाले स्विकारेको त्यो प्रेम सम्बन्धमा परिवारको स्विकृति र खुसी भएन भने, त्यो प्रेम खुसीविनाको कृत्रिम हाँसोजस्तो हुन्छ। आत्माविनाको प्राणजस्तो हुन्छ। पोषणविनाको खानाजस्तो हुन्छ।

र, हामी दुवैको परिवार हामीले कोर्न खोजेको सम्बन्धको परिधिमा अटाउन चाहेनन्। हामीले उन्न खोजेको सम्बन्धको मालामा उनीहरूलाई अडिने मन भएन। हाम्रा आ–आफ्ना रोजाइमाथि हाम्रा परिवारले स्विकृतिको हरियो झण्डा देखाएनन्। हामी दुवैको परिवारले हाम्रो प्रेमलाई स्विकारेन।
 
तर हामीलाई सँगै जीवन बिताउनु थियो। सँगसँगै बूढो हुनु थियो। सँगै धेरै कुरा गर्नु थियो। सँगै उकालो चढ्नु थियो र सँगै ओरालो झर्नु थियो। सँगै बसेर हाँस्नु थियो, सँगै बसेर रुनु थियो। लढे पनि प्रेमकै बाटो हिँड्नु थियो। डुबे पनि प्रेमकै नदी तर्नु थियो। प्रेममा हामीलाई रातभरि जाग्नु परे नि ठिक थियो। प्रेममा हामीलाई दिनभरि भाग्नु परे पनि ठिक थियो। बस्! अप्ठेरा, सजिला जे जे आओस्, प्रेम ती सबको साक्षी बन्न पाओस्। प्रेमकै इर्द गिर्द भएर जीवनका तमाम भाव विचरण गरिरहून्।
 

तर सबैथोक मिले तापनि हाम्रो एउटै कुरा मिलेन। जात। पुस्तौं पुस्तादेखि समाजको यो संस्कारबाट प्रताडित भएका अनेक जोडीको हुलमा हाम्रो पनि नाउँ मिसिन पुगेको थियो। हामी दुईबीच समाज र हाम्रो परिवारले एउटा सीमारेखा कोरिएको थियो। पानी चल्ने र नचल्ने भनेर। त्यही सीमारेखाले हाम्रो मिलनलाई असहज बनाउँदै थियो। जसले मलाई पानीसँग परिचित गराइदिई, उहीसित मेरो पानी नचल्ने रे। जसले पानीमा डुब्नबाट बचाएकी थिई, उसैसितको सम्बन्ध पानी चल्नु र नचल्नुको कारणले डुब्दो थियो। 

अझै पनि यो समाजमा यस्तै हावा चलेको छ, एउटा मान्छेलाई अर्को मान्छेसित पानीसमेत नचलेको छ। 

जब जब हामीलाई यो कुराको बोध हुन्थ्यो कि हामीलाई एक आपससित जीवन बिताउने अनुमति छैन, तब तब एक आपसको प्रेमले हामीलाई झन्झन् शिथिल बनाउँथ्यो। प्राप्तिको अनुभव र अभ्यस्तता जति सामान्य छ, अप्राप्तिका सम्भावनाका स–साना झिल्काले मात्र पनि मन मस्तिष्कमा असामान्य आँधीबेहरी चलाइदिन्छ। प्राप्ति एउटा सुखद अन्त्यमा विश्राम गरिरहेको भाव हो। तर अप्राप्ति उत्तेजना र निस्सारताको एउटा कष्टप्रद यात्रा हो। हामी अप्राप्तिका अड्कल, अनुमान र सम्भावनाको आँकलन गरिकन दुःखी भइरह्यौँ। हामी एउटा कष्टप्रद यात्रामा थियौँ, जसको गन्यव्यका बारेमा हामी स्वयं स्पष्ट थिएनौँ। 

हामी यो कुराको पीरले दिन प्रतिदिन गल्दै गयौँ। हामी भेट्दा खुसी हुन सकेनौँ। ठिकसँग एक आपसको अँगालोमा रुन पनि सकेनौँ। हाम्रो पौडी खेल्ने नियमितता टुंगियो। ठिकसित खान, पिउन र समग्रमा जिउनै सकेनौँ। ठिकसँग समाज र घर परिवारसित विद्रोह गर्ने आँट गर्न सकेनौँ। ठिकसँग ठिक हुन सकेनौँ।

यी र यस्ता बेठिकका परिस्थितिमा रुमल्लिएर जीवनका तमाम खुसीको घाँटी निमोठिरहनु आफ्नैप्रतिको अन्याय थियो। यो साँचो हो कि हामी हाम्रो परिवारलाई पनि खुब प्रेम गथ्र्यौँ। तर केही उत्तरदायित्व हाम्रो आफ्नै जीवनप्रति पनि थियो। किनकि थोरबहुत हामी आफैँलाई पनि प्रेम गथ्र्यौँ। 

एकदिन मैले नै ऊसमक्ष यो प्रस्ताव राखेँ कि हामी कतै बाहिर (विदेश) जाने र बाँकीको जीवन त्यहाँ बिताउने। मेरो यो निर्णय केही समय झूटको जगमा प्रेमको घर बनाउने थियो। प्रेममा सब जायज हुन्छ। हिम्मतको एउटा डोको बुनेको थिएँ। त्यसमा आँट उसले भरिदिई।
 
अर्थात् उसले यो कुरालाई सजिलै स्वीकृत गराइदिई।

अमेरिका पहिलो सूचीमा प¥यो। तर भिसाका लागि हामी अमेरिकाको दृष्टिमा अयोग्य ठह¥यौँ। अष्ट्रेलिया गयौँ। योपटक निराश हुनु परेन। दुवैलाई भिसा दियो। यसबीचमा हामी दुवैको परिवारबाट बिहेका अलग–अलग दबाबहरू नआएका होइनन्। तर हामी कसोकसो ती सबैबाट उम्कन सफल भयौँ। भविष्यप्रति संवेदनशील हुनुको नौटंकी गर्दै, विवाहका ती प्रस्तावलाई केही पर ठेल्न सफल भयौँ।
 
अष्ट्रेलियामा केही साथी थिए। तिनले हाम्रा लागि काम खोजिदिने देखिका सबै कुरामा सहयोग गरे। हामी एक हिसाबले सेटल्ड भयौँ। 
लिडकम भन्ने ठाउँमा एउटा फ्ल्याट लिएर बसिरहेको एक जोडी साथीले हामीलाई भाडा सेयर गर्नेगरी एउटा कोठा दिए। उनीहरू त विवाहित नै थिए। हामी भने लिभ इन टुगेदरजस्तोमा थियौँ।

सुरु–सुरु नै भएकाले विकेण्डमा हामीलाई घुमाइदिन उनीहरूले केही ठाउँ लगिदिए। पाम बीच, ओपेरा हाउस, सि क्लिफ ब्रिजलगायतका ठाउँ उनीहरूले घुमाइदिए। पछिपछि हामी दुईजना मात्र जान थाल्यौँ। हामीलाई बीचहरू साह्रै मन पर्ने। बीचमा गएर कपडा खोली स्विमिङ गथ्र्यौँ। हामी हाम्रो जीवनको सुखका पलहरूमा थियौँ।

जब जब मेरो घरबाट सञ्चो बिसञ्चोको हाल बुझ्नलाई फोन आउँथ्यो, त्यो दिनभरि म उदास हुन्थेँ। उसलाई पनि त्यस्तै हुँदोरहेछ। घर परिवारलाई धोका दिएजस्तो। कतै केही नगर्ने काम गरेजस्तो अनुभव भयो भन्थी। मलाई पनि ठिक त्यस्तै हुने। 

हामीले जोसँग फ्ल्याट सेयर गरिरहेका थियौँ, उनीहरूमध्ये केटाको चाहिँ बाआमा नेपालबाट आउने भए। कोठा अपर्याप्त भएकाले हामीले छाड्नुपर्ने भयो। लिडकमबाट हामी अबन स¥यौँ।

उनीहरू र उनीहरूका बाआमासँग कुनै कुनै दिन हामी पनि घुम्न गयौँ। उनीहरूका बाआमाको मुहारमा देखेको खुसीले मलाई डाहा लगायो। मैले उनीहरूको बाआमाको अनुहारमा आफ्ना बाआमाको अनुहार लगेर टाँसे। आफैँभित्र शंकामूलक प्रश्न उब्जियो, के म मेरा बाआमालाई यसरी घुमाउन पाउनेछु? यो प्रश्नको जवाफले आफ्नै मन अमिलायो।

बेलुकी उसलाई यो कुरा सुनाएँ। उसले मलाई केही सान्त्वना त दिई तर त्यो सान्त्वनाले मन सम्झेन।
 
हप्ताहरू बिते। महिनाहरू बिते। कहिलेकाहीँ घरमा बालाई हजार पन्ध्र सय डलर पठाउँथेँ। त्यो एकदिन भने मन खुसी हुन्थ्यो। तर बाँकीका दिन किनकिन खुसी हुन सकिएन।

‘यसरी कति बस्छौ, अफिसियली बिहे गर तिमीहरू,’ एकदिन एउटा साथीको जोडीलाई डिनरमा बोलाएको बेलामा उनीहरूले यस्तो सल्लाह दिए। 

उनीहरूको त्यो सल्लाहले हामी नराम्ररी चिमोटियौँ र झस्कियौँ। यो यस्तो प्रश्न थियो, जुन हामीले एक अर्कालाई समेत गर्न सकिरहेका थिएनौँ। गर्ने हिम्मत गर्न सकेका थिएनौँ। जुन कारणका लागि हामी नेपालदेखि भागेर यहाँ आएका थियौँ, त्यही कुराबाट हामी यहाँ लुकिरहेका थियौँ। जसका लागि यो यत्रो सबै भएको थियो, त्यही कुराको छलफल हामीबाट लुकेको थियो। 

उसले सोधी, ‘बिहे, परिवारलाई थाहा दिएर गर्ने कि नदिई?’
‘मलाई किन सोधेकी प्रिय? अप्ठेरो हुन्छ भनी जान्दा जान्दै,’ मैले भनेँ।

परिवारलाई जानकारी दिएर बिहे गरे परिवार आफूसित नरहने, परिवारलाई जानकारी नदिई बिहे गरे सुख, शान्ति, चैन आफूसित नरहने। के गर्ने? कसो गर्ने? झूटमा पनि एउटा संसार उभ्याउन त सकिन्थ्यो, तर त्यसलाई पनि भित्री मनले सजिलै अनुमोदन गरेन। 
बडो कठोर भएर हामी एकदिन निर्णय ग¥यौँ पनि, कि हामी स्वार्थी बनौँ। तर त्यो निर्णय एकदिनका लागि मात्र भयो। भोलिपल्ट हाम्रो अडान धरमराउन थाल्थ्यो।

बालाई फोन गरेर सम्झाउने कोसिस फेरि गरेँ। बाको उही जवाफ, ‘यहाँ मुख देखाउन नआउने हो भने मेरो भन्नु केही छैन।’

उसको घरबाट पनि त्यस्तै जवाफ आयो।

दुवै घरको यो किसिमको कठोर निर्णय आइसकेपछि हामीले पनि आँटेर केही निर्णय त लिनै पथ्र्यो। एकातिर तीन दशक अघिदेखि हरेक स–साना इच्छा, रहर र आवश्यकता पु¥याइदिने परिवार। मलाई सानो दुःख पनि नहोस् भनेर यहाँसम्म सकुशल ल्याइदिएका बाआमा, अर्कातिर भर्खर एक वर्षदेखि बनेको प्रेमसम्बन्ध।
 
मैले उसलाई भनेँ, ‘परिवार त्याग्न हिम्मत छैन। तिमीलाई छाड्न मन मान्दैन।’

‘एउटा घर बनाउनलाई अर्को घर भत्काउनुपर्छ भने, त्यो घरको के अर्थ र?’ उसले भनी, ‘कसैको केही नबिगारिकन, कसैको मन नदुखाइकन, कसैलाई नरुवाइकन बनेको घर पो घर! सबैलाई रुवाएर, आफैँलाई पनि नटेरेर बनाएको घर कमजोर हुन्छ।’

त्यो पल मैले उसलाई च्याप्प अँगालो हालेँ र रोएँ। हामीले बल्ल निर्णय ग-यौँ। एक आपसमा छुटिने। बाआमाले जोसँग भन्छन्, उसैसित बिहे गर्ने। त्यस रात हामी खुसी त भयौँ, तर एक एकआपसमा छुटिने कुराले धेरै दुखी भयौँ। मैले उसलाई, मेरी डल्फिनलाई, कसैले खोसेर लैजान्छ कि भनेर रातभरि च्याप्प समातेर बसेँ। हामी केहीबेर रोयौँ। केहीबर हाँस्यौँ। केहीबेर बोल्यौँ। 

उसले भनेकी थिई, ‘सधैँभरि तिम्रो घरमा त रहन सकिनँ, तर मलाई यादमा चाहिँ राखिराख्नु है।’ उसले यसो भन्दा मेरो भक्कानो फुटेको थियो।

छातीमा कैयौँ यस्ता भक्काना थिए, जो उसको जाने मात्र कुराले फुटिरहन्थे। 

ऊ गई एकदिन। एउटा सिरक, एउटा तन्ना र केही भाँडाकुँडा, अनि दुईवटा भरि सुटकेश लिएर। मैले नै गाडीमा उसलाई उसको नयाँ ठाउँमा छाडेर आएँ। फर्केर आउँदा मेरो गाडीको छेउको खाली सिट देखेर म विरक्तिएँ। मेरो घरभित्रको सुनसानले मलाई बिथोल्यो। मेरो भान्साकोठामा त्यस रात कुनै पनि भाँडाकुँडा बजेनन्। म घर बस्न सकिनँ। निस्किएँ बिल्गोला बीचतिर। सनसेट नहुञ्जेलसम्म त्यहीँ बसेँ। पानी देख्दा पनि उसैलाई सम्झिरहेँ। त्यहाँ पौडिरहेका हरेक केटीहरूको अनुहारमा उसको अनुहार सादृश भएर आयो। मलाई झन् पीडा भयो। डार्लिङ हार्बरमा आएर एउटा पबमा छिरेँ र चार÷पाँच पेग ह्वीस्की पिएँ।  

राति करिब एक बजेतिर मोबाइलमा उसको मेसेज आयो, ‘तिमीविना निदाउन सकिनँ।’ उसको मेसेजले त्यहीँ ठाउँको ठाउँमै गोली नै लागेको जस्तो महसुस भयो। धेरै गाह्रो भयो।

गाह्रो त त्यसपछिका अरू दिनमा पनि भयो। काममा हुँदा र कलेज जाँदा अलिकति बिर्सिइन्थ्यो। विशेषगरी घरमा छिर्नै नसक्ने भएँ। त्यो घरमा म बस्न सकिनँ। घरका हरेक स–साना चिजले उसको याद दिलाउँथ्यो। भाँडाकुँडा, टेबल, कुर्सी, खाट, सोफा, दराज प्रत्येक सामानमा ऊ थिई। हर चिजमा उसको गन्ध थियो। 

मैले घर बदलेँ। तर, घर बदल्दैमा पनि पीडा मेरो कम भएन। समय धेरै बित्यो। म काठमाडौं गएँ। बाआमाले खोजेको एउटी केटीलाई बिहे गरेँ। बिहेको अघिल्लो दिन रुँदै उसलाई फोन गरेँ। ऊ त्यसबेला अष्ट्रेलियामै थिई। बिहे गरेर म अष्ट्रेलिया फर्किएँ, मेरी श्रीमती चार महिनापछि अष्ट्रेलिया आइन्। मेरो बिहे भएको एक वर्षमा उसको पनि बिहे भयो। उसको भने अष्ट्रेलियामै बिहे भयो। उसका बाआमा नेपालबाट आएका थिए। 

चार पाँच वर्ष बितिसक्यो। अहिले मेरी अढाई वर्षीय छोरी पनि भइसकी। म एक किसिमले खुसी छु। एक किसिमले त ऊ पनि खुसी छु भन्थी।
 
तर अझै पनि उसको याद आइरहन्छ। यद्यपि हामी सिड्नीमा कहिलेकाहीँ भेटिरहन्छौँ। अहिले आफ्नो नयाँ घर बसालेको छु, पुरानो घरलाई नभत्काइकन। आफ्नोबाहेक अरू कसैको मन नदुखाइकन। परिवारको इज्जत जोगाइकन। बरु दुख्यो, आफ्नै मन। दुखाएँ उसको मन।
 
बाआमालाई एकपटक अष्ट्रेलिया बोलाएर घुमाइसकेँ। दुईवटा दसैंमा नेपाल गएर दसैंको टीका थापेर फर्केँ। यत्तिकै लागि हो मैले उसलाई गुमाउनु परेको। मेरो परिवारसितको सम्बन्धले सास फेरेको छ, मैले ऊसितको सम्बन्धको सास थुनेकाले। एउटा घर त भत्किनै पथ्र्योँ। भत्कियो। एकतिरको सम्बन्ध त चुँडिनै पथ्र्यो, चुँडियो। 
आज पनि म पानीभित्र छिर्दा एकपटक मेरी डल्फिनलाई सम्झन्छु र त्यही पानीमा दुई थोपा आँसु तुरुक्क चुहाउँछु। पानीबाट सुरु भएको प्रेमले अन्ततः आँखा, मुटु सबै भिजाएर गयो।
 
वास्तवमै ऊ मेरा लागि डल्फिनजस्तै भई। डल्फिन, जसलाई परबाट हेर्न सुन्दर लाग्छ, तर घर लैजान सकिन्न।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलिया भट्ट र विक्की कौशल स्टारर फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ। ...

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’...

‘कस्मिक लभ’ मा अर्पण र दिया

‘कस्मिक लभ’ मा अर्पण र दिया

अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई प्रमुख भूमिकामा अनुबन्ध गर्दै फिल्म ‘कस्मिक लभ’को घोषणा गरिएको छ। ...

कलेज एम्बेसडरका प्रतिभा

उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा...