इलाम – तीन दिनदेखि बिसन्चो भएपछि दुर्गम गाउँ एकतप्पाकी रोमिला लिम्बू चिकित्सकलाई जँचाउन सदरमुकामस्थित जिल्ला अस्पताल आइन् । अरू बेला इलाम बजार आउँदा ठूला–ठूला भवनसहितको अस्पताल देखेकी उनलाई लागेको थियो– यो अस्पतालमा राम्रा–राम्रा डाक्टर होलान्, जानेबित्तिकै उपचार गरिदेलान् ।
तर, उपचारकै लागि आएपछि भने वास्तविकताभन्दा आफ्नो सोचाइ ठीक विपरीत पाइन् उनले । लिम्बूले अस्पतालमा करिब २ घन्टा लाइनमा बसेपछि डाक्टरको अनुहारै नहेरी घर फर्किनुप¥यो । ‘लाइन बस्दाबस्दा रिंगटा लागेर उल्टै बिरामी भइसकेपछि भित्रबाट आज डाक्टरले भ्याउँदैनन्, भोलि आउनू भने,’ लिम्बूले सुनाइन्, ‘घरबाट सदरमुकाम आउनजान दिन माया मार्नुपर्छ, ७ देखि ८ सय रुपैयाँ कम्तीमा खर्च हुन्छ, फेरि आउन कसरी सम्भव हुन्छ ?’
इलामबजारको तरकारी लाइनमा भेटिएकी उनी निराशा व्यक्त गर्दै थिइन्, ‘देशमा यो भयो र ऊ भयो भनेर मान्छे हौसिएको देख्छु, जाबो ढाड दुखेर आउँदा जिल्ला अस्पतालमा उपचार पाइँदैन भने केचाहिँ भएछ त देशमा ?’
अहिले जिल्ला अस्पतालमा उपचार नपाएर र पाएको उपचारबाट सन्तुष्ट नभएर फर्किने बिरामीको संख्या दिनहुँ बढ्दैछ । ५० शड्ढयाको जिल्ला अस्पतालमा जे रोग लागेर आयो, त्यससम्बन्धी विशेषज्ञलाई देखाउन पाउनु त परैको कुरा, अस्पतालमा भएकै चिकित्सकलाई समेत भेट्न मुस्किल छ बिरामीले । कतिपय बिरामी अस्पतालको ओपिडीबाटै जिल्लाबाहिरका अस्पताल जान बाध्य छन् । कतिपय बिरामी निःशुल्क औषधि नपाएर रित्तो हात फर्किनुपरेको गुनासो गर्छन् ।
अस्पताल आएका बिरामीलाई चिकित्सकले जाँच नगर्ने पनि होइन । तर, बिरामीको चापअनुसार चिकित्सक नै नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । ‘बिरामीलाई आज डाक्टरको समय छैन, पछि आउनू भनेर फर्काउनुसमेत परेको छ,’ अस्पतालकी सूचना अधिकारी रीता अधिकारी भन्छिन्, ‘बिरामी धेरै भएरभन्दा पनि डाक्टरको संख्या कम भएर सेवा दिन ज्यादै समस्या परिरहेको छ ।’ उनका अनुसार अहिले अस्पतालमा १६ चिकित्सकको दरबन्दी छ । तर, स्थायी दरबन्दीमा काम गर्ने डाक्टर २ जना मात्रै छन् । ४ चिकित्सक करारमा कार्यरत रहेकामा २ जना बिदामा रहेपछि अहिले २ जनाले सेवा दिँदैछन् ।
अस्पताल प्रमुखसमेत रहेका स्त्रीरोग विशेषज्ञ डाक्टर प्रभु साहको बढी समय प्रसूति र स्त्रीरोगको उपचारमै बित्छ । त्यसबाहेक उनी बेलाबेला आयोजना गरिने स्वास्थ्यसम्बन्धी बैठक, भेला, गोष्ठीलगायतमा पनि पुग्नुपर्छ । आकस्मिक खाले बिरामी आए उनले नै त्यहाँ खट्नुपर्छ । यस्तो अवस्थामा आएका अलि सामान्य बिरामीलाई भने उपचारबिनै फर्काउन बाध्य हुनुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा ५ मेडिकल अधिकृत, १ दन्तरोग विशेषज्ञ र १० विशेषज्ञ डाक्टरको दरबन्दी छ ।
अहिले अस्पतालमा आएका बिरामीमध्ये प्रसूति, दन्तरोग र बालरोगको उपचार गराउनेले मात्रै विशेषज्ञ सेवा पाउने गरेका छन् । अन्य रोगका विशेषज्ञ नभएकाले चिकित्सकले सामान्य जाँच गरेर अन्यत्रका अस्पताल जान सुझाव दिँदैछन् । ‘पछिल्लो समय अस्पतालमा जाँच गराउनेमध्ये कडारोगीको संख्या बढ्दो छ,’ अधिकारीले भनिन्, ‘तर, विशेषज्ञ नभएकै कारण त्यस्ता बिरामीले सेवा पाउन सकेका छैनन्, भएका डाक्टरले जसोतसो काम भ्याएका छन् ।’
सरकारले सर्वसाधारणलाई स्वास्थ्य बिमाको सुविधा पनि दिएपछि अस्पतालमा बिरामीको चाप बढ्दो छ । अहिले दिनहुँ डेढसयभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । उपचार गराउन आउनेमध्ये स्वास्थ्य बिमाको सेवा लिने र सेवा नलिनेको संख्या बराबरजस्तै छ । स्वास्थ्य बिमाको सुविधा लिन सरकारी अस्पताल नै पुग्नुपर्ने भएपछि गाउँका बिरामी जिल्ला अस्पताल आउन थालेका हुन् ।
अस्पताल प्रमुख डाक्टर साहले सबैखाले बिरामी जाँच गर्नुपर्दा स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ हुनेगरेको बताए । ‘जिल्ला अस्पतालमा दैनिक डेढ–दुई सय बिरामी हुनु सामान्य नै हो तर विशेषज्ञ नहुँदा भएको जनशक्तिले चाप धान्न ज्यादै कठिन भइरहेको छ,’ उनले भने, ‘काम गर्न सहज छैन, हतारमा गर्न बाध्य हुनुपरेको छ ।’ उनले हाडजोर्नी विशेषज्ञ, फिजिसियन र मनोरोग विशेषज्ञको आवश्यकता खड्किएको बताए।
अस्पतालका अनुसार उपकरण र भौतिक पूर्वाधारको भने खास अभाव छैन । तर, जनशक्ति अभावले चाहिँ सेवा दिन समस्या परेको हो । ‘भौतिक पूर्वाधार पुग्दो छ,’ अधिकारीले भनिन्, ‘कुन रोगको उपचारका लागि कस्तो उपकरण चाहिन्छ भन्ने पनि विशेषज्ञ डाक्टरलाई नै थाहा हुन्छ, अहिले विशेषज्ञ नै नहुँदा कुन उपकरण अभाव छ भन्ने नै पत्तो पनि हुँदैन।’
जिल्ला अस्पताललाई २५ बाट ५० शड्ढयामा स्तर वृद्धि गरी भौतिक पूर्वाधार पुर्याइए पनि जनशक्ति अभाव भएको हो। सदरमुकामकै स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले बाहिरी जिल्लासमेत धाउनुपरिरहेको छ। जिल्ला अस्पतालसमेतमा उपचार नपाएपछि यहाँका बिरामी झापा, धरान, विराटनगर, काठमाडौं र भारतको सिलिगुडीसमेत पुगेर उपचार गराउन बाध्य छन्।
पहाडी जिल्ला भएकाले यहाँको सदरमुकाममा निजी अस्पताल छैनन् । अस्पताल स्रोतका अनुसार आसपासमा पर्याप्त मात्रामा निजी अस्पताल हुँदा सरकारी अस्पतालमा चिकित्सक आउन रुचाउँछन् । उनीहरू सरकारी र निजी दुवै अस्पतालमा काम गरेर राम्रो कमाइ गर्ने भएकाले त्यस्ता ठाउँ जान आकर्षित हुन्छन् । तर, जिल्लामा निजी अस्पताल अभावकै कारण आम्दानीको स्रोत कम हुने गरेकाले चिकित्सक आउनै रुचि नदेखाउने गरेको स्रोतले जनायो । ‘स्वास्थ्यकर्मीले विभिन्न काम गरेवापत् इन्सेन्टिभ थपिदिने व्यवस्था त हुन्छ तर आफ्नो अपेक्षाअनुसार आम्दानी नहुने बुझेपछि यस्तो ठाउँको अस्पतालमा हत्तपत्त डाक्टर आउन मान्दैनन्,’ स्रोतले भन्यो ।
सदरमुकामका अस्पतालमा चिकित्सक नभएपनि गाउँका प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके) मा भने दरबन्दीभन्दा बढी संख्यामा छन् । जिल्लाका चारै प्रास्वाकेमा डाक्टरको दरबन्दी एउटा–एउटा मात्रै छ । तर, अहिले प्याङ र फिक्कल प्रास्वाकेमा ३–३, मंगलबारेमा २ र पशुपतिनगरमा १ चिकित्सक कार्यरत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘गाउँका प्रास्वाकेमा सेवाग्राहीको चाप त धेरै हुँदैन तर चिकित्सकचाहिँ त्यहीं धेरै छन्,’ कार्यालयका सूचना अधिकारी टंक चौधरीले भने, ‘आफ्नो पढाइको प्रयोगात्मक अभ्यासका लागि आएका चिकित्सक सदरमुकामभन्दा गाउँमै जान रुचाउँछन् ।’
एमबिबिएसको विद्यार्थीले आफ्नो अध्ययनपछि २ वर्षसम्म अस्पतालमा प्रयोगात्मक अभ्यास गर्नुपर्छ । दुर्गम गाउँका अस्पतालमा यस्तो अभ्यास गर्दा सदरमुकामको तुलनामा अंक बढी हुने भएकाले चिकित्सकहरू गाउँतिर केन्द्रित हुने गरेका छन् । तर, प्रास्वाकेमा विशेषज्ञ डाक्टरको दरबन्दी भने नभएको कार्यालयले जनाएको छ ।
निःशुल्क औषधि अभाव
जिल्ला अस्पतालमा निःशुल्क विरतणको औषधिसमेत अभाव छ । जिल्ला अस्पतालले वितरण गर्ने ७० प्रकारका औषधिमध्ये अहिले २० प्रकारका मात्रै वितरण गरिरहेको अस्पतालले जनाएको छ।
निःशुल्क पाउने औषधि नभएपछि बिरामीहरू नजिकैका मेडिकलबाट औषधि किन्न बाध्य छन् । २५ शड्ढयासम्मको अस्पताल जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत र र त्यसभन्दा माथिका अस्पताल सोझै स्वास्थ्य विभाग मातहत रहन्छन् । तर, स्थानीय तह गठन भएपछि जिल्ला अस्पताल पनि स्थानीय तहअन्तर्गत नै रहने भएकाले औषधि खरिदको बजेट स्थानीय तहले लिनुपर्छ । अस्पतालमा निःशुल्क औषधिका लागि इलाम नगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएपनि बजेट नआएकाले औषधि खरिद गर्न नसकेको अस्पतालले जनाएको छ । ‘बजेट आएपछि खरिदप्रक्रिया अघि बढ्छ,’ अधिकारीले भनिन् ।
जिल्लाका अन्य स्वास्थ्य संस्थामा भने स्वास्थ्यकर्मी र औषधि दुवै अभाव नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनायो । ‘छिटफुट रूपमा स्वास्थ्यकर्मी र औषधि अभाव होला तर सबैतिर पुगेकै छ,’ कार्यालयका चौधरीले भने।
प्रकाशित: २६ फाल्गुन २०७४ ०३:१२ शनिबार