८ वैशाख २०८१ शनिबार
राजनीति

राजपाले माग्यो उपराष्ट्रपति

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपराष्ट्रपतिमा दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा भइरहेको वार्तामा राजपाले उपराष्ट्रपति आफूलाई छाड्न प्रस्ताव गरेको हो। 

सरकारमा सहभागी हुन संविधान संशोधन र मधेसका मुद्दा सम्बोधनलाई मुल एजेण्डा बनाएको राजपाले महत्वपूर्ण मन्त्रालयसहित उपराष्ट्रपतिमा पनि दाबी गरेको स्रोतले बतायो। 

वाम गठबन्धनमा राष्ट्रपति एमालेले लिइसकेको र उपराष्ट्रपति माओवादी केन्द्रको भागमा पर्ने अड्कल गरिएका बेला राजपाले सरकारमा सहभागिताका लागि उपराष्ट्रपति पाउनुपर्ने शर्त अघि सारेको हो। एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाइसकेको छ । राजपाको शर्तपछि उपराष्ट्रपतिमा माओवादीबाट नन्दबहादुर पुनको उम्मेदवारी अनिश्चित बनेको छ । यद्यपी उपराष्ट्रपतिको निर्वाचन तालिका सार्वजनिक हुन बाँकी छ । 

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उपराष्ट्रपति बन्ने इच्छा देखाएका छन्। यसबारे वाम गठबन्धनका नेतासँग निरन्तर सम्वाद भइरहेको स्रोतको भनाई छ।

राजपाका महासचिव केशव झाले उपराष्ट्रपतिमा प्रस्ताव गरेको बारे आफू जानकार नभएको बताए। ‘उपराष्ट्रपति मागेको विषयमा म प्रष्ट छैन्, आज विहान पनि बालुवाटारमा वार्ता भएको छ। साँझ पनि हुँदैछ’, उनले भने– ‘पछि थप जानकारी गराउनेछु।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाले उपराष्ट्रपति मागेको विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। ‘मलाई यो विषयमा ज्ञान भएन’, उनले भने– शीर्ष नेताबीच कुराकानी भइराखेको छ। हामीलाई केही जानकारी गराइएको छैन्। प्रधानमन्त्री ज्यू र प्रचण्डजीले आफै वार्ता गरिरहनुभएको छ। उहाँहरुले केही पनि बताउनुभएको छैन्। कुराकानी चाँही सकारात्मक भो भन्नुभाछ।’

संघीय समाजवादी फोरम सरकारमा सामेल हुन वाम गठबन्धनसँग नजिकिएपछि उसको सौदावाजीलाई कमजोर बनाउन राजपा पनि सरकारमा सामेल हुने आयाम बनेको हो। प्रधानमन्त्री ओलीले यसबीचमा राजपासँग पनि सघन वार्ता गर्दै आइरहेका छन्। ओलीकै आग्रहमा जेष्ठ सदस्यको नाताले महन्थ ठाकुरले संघीय संसदको अध्यक्षता ग्रहण गर्दै सपथ गराएका थिए।

बालुवाटार स्रोतका अनुसार फोरमसँगै राजपालाई पनि सरकारमा सँगै लिएर जाने तयारीमा रहेका प्रधानमन्त्री ओली उपराष्ट्रपति राजपालाई दिएर माओवादीलाई राष्ट्रियसभा अध्यक्ष दिनसक्छन्।

प्रकाशित: २५ फाल्गुन २०७४ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App