७ वैशाख २०८१ शुक्रबार
अन्य

‘ठूला सडकमा जनसहभागिता नै देखिँदैन’

कुन्दन खड्का, वडाध्यक्ष
कागेश्वरी मनहरा नपा– ९
वडाध्यक्ष भएपछि वडावासीका लागि के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तहमा कर्मचारीतन्त्रको हालीमुहाली चल्थ्यो । जसकारण स्थानीय तह लथालिंग अवस्थामा चल्दै आइरहेको रहेछ। जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नेबित्तिकै हामीले प्रशासनिक कामलाई सुधार्दै आइरहेका छौँ।

जनतालाई छिटो र छरितो ढंगले सेवा प्रवाह गरिरहेका छौँ । हामी आएसँगै गत वर्ष योजनामा परेर पनि निर्माण सम्पन्न नभएका योजनालाई सम्पन्न गरेका छौँ । खहरेचोकदेखि गुह्येश्वरीसम्मको १४ सय मिटर सडक कालोपत्रे गरिसक्यौँ । मानटारचोकदेखि जोरपाटीसम्म जाने सडक कालोपत्रे तथा ढलान अन्तिम चरणमा पुगेको छ।

नगरपरिषदबाट पास भएका तीनवटा भित्री सडकमा चार सय मिटरजति ब्लक ओछ्याउने काम सकेका छौँ । जनताले स्थानीय तहसँग धेरै नै आशा र भरोसा गरेका छन् । जनअपेक्षा ठूलो र स्रोत–साधन अभावका बाबजुद पनि हामीले काम गर्ने प्रयत्न गरिरहेका छौँ । अबको केही समयभित्रै हामीले गरेको कामको परिणाम देखिन थाल्नेछ ।

जनप्रतिनिधि भएर काम गर्न कस्ता अप्ठेरा रहेछन् ?
२० वर्षअघि जनप्रतिनिधि भएर काम गरेको थिएँ । त्यो बेला कागेश्वरी क्षेत्रमा जनघनत्व अति नै कम थियो । जनताको चाहना र आकांक्षा पनि सीमित हुन्थ्यो, खासै ठूला समस्या हुँदैनथे । अहिले पहिला जस्तो छैन । समय फेरिएसँगै जनताका चाहना र आकांक्षा समेत फेरिएका छन् । अहिले वडामा सहरीकरण बढिरहेको छ । सडक, ढल, खानेपानी, पुलपुलेसा निर्माण गर्नुपर्ने र फोहोरमैला व्यवस्थापनलगायत चुनौती थपिएका छन्।

तपाईंको वडामा सडक भद्रगोल र असरल्ल देखिन्छन्, कहिलेसम्म मर्मत–सम्भार गर्नुहुन्छ ?
वडामा रहेका अधिकांश सडक भत्किएर लथालिंग छन् । जसकारण सर्वसाधारण र सवारीसाधन आवातजावत गर्न समेत मुस्किल भइरहेको छ । कालोपत्रे गरेर भत्किएका सडकमा खाल्डाखुल्डी परेर पानी जम्मा हुने समस्या देखिएको छ।

अर्काेतर्फ  धुलोको समस्या उस्तै छ । खहरेचोक–वीरेन्द्रचोक हुँदै गान्धीचोक सडकखण्ड, वीरेन्द्रचोक हुँदै प्रहरी वृत्तसम्मको सडक, महानटारबाट मूलपानी जाने सडकखण्ड कतै भत्किएका छन् त कतै खाल्डाखुल्डी भएर समस्याग्रस्त देखिन्छन् । डिभिजन सडक कार्यालयबाट सडक निर्माण तथा मर्मत–सम्भार भइरहेको छ । अबको तीन वर्षभित्रै वडाका सम्पूर्ण सडक कालोपत्रे-ढलान गर्ने लक्ष्य राखेका छौँ । वडाले सञ्चालन गरेका भित्री सडक निर्माणमा जनताको उत्साहजनक जनसहभागिता देखिएको छ । तर, ठूला सडक निर्माणमा जनसहभागिता उत्साहजनक रूपमा देखिँदैन।

तपाईंको वडामा अव्यवस्थित सहरीकरण बढिरहेको छ, व्यवस्थापनको योजना के छ ?
केही वर्ष अघिसम्म गोठाटार, वीरेन्द्रचोक, काँडाघारी क्षेत्रमा बस्ती निकै पातलो थियो । केही वर्षयता अत्यधिक जनघनत्व वृद्धि भएसँगै सहरीकरण बढेको छ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अव्यवस्थित सहरीकरण हुन पुग्यो । अहिले ती ठाउँमा सडक, खानेपानी, ढल लगायत आधारभूत पूर्वाधार विकास गर्न समस्या भइरहेको छ । त्यसैले वडा कार्यालयले सडक विस्तारदेखि अन्य पूर्वाधार विकासमा जोड दिइरहेको छ । नगरपालिका तथा वडा कार्यालयले वडावासीको सर्भे गर्ने तयारी गरेको छ । सर्भेबाट आउने तथ्यांकका आधारमा योजना बनाएर अघि बढ्नेछौँ ।
मनहरा खोलामा प्रदूषित भइरहेको छ, यसलाई रोक्ने योजना के छ ?
कागेश्वरी मनहरा नगरक्षेत्रको पहिचान बोकेको मनहरा खोला दिन प्रतिदिन प्रदूषित र दुर्गन्धित हुँदै छ । जथाभावी फोहोरमैला तथा सेफ्टी ट्यांकीको फोहोरमैला नदी किनारामा फ्याँक्न नदिन नगरपालिका तथा वडा कार्यालयले वडावासीलाई बारम्बार अनुरोध गरेको छ । त्यस्तै, प्रत्येक घरमा अनिवार्य सेफ्टी ट्यांकी निर्माणका लागि निर्देशन दिइसकेका छौँ । सार्वजनिक स्थलमा फोहोरमैला फाल्नदेखि रोक्न सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपरिषद्बाट सडक, खानेपानी, ढललगायत अत्यावश्यक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ ।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो कार्यकालभित्रै वडालाई धुलो, धुवाँ र हिलोमुक्त बनाउने लक्ष्य राखेर काम गरिरहेको छु । वडामा रहेका सार्वजनिक जग्गालाई पार्क निर्माण गरेर व्यवस्थित गर्ने जमर्काे गरेको छु ।

प्रस्तुति हिमाल लम्साल

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App