coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मञ्जु मगैया पहिले लुगा धुन्थिन् अहिले समस्या सुन्छिन्

काठमाडौं महानगरपालिका वडा– २० को कार्यालयनजिकै चिकंसाः गल्लीमा छन्, माटोको सानो घर र जस्तापाताको टहरो । घर र टहरोबीचको अलिकति खाली जग्गामा टाँगिएका छन् डोरी । ती डोरीमा हरेक दिन धोएर सुकाइन्छिन्, फरक–फरक व्यक्तिका फरक–फरक रङ र डिजाइनका लुगा। 

चारै तिरबाट अग्ला घरले छेकेको साँघुरो जग्गाको एकछेउ राखिएको छ, लुगा धुने मेसिन । गत बुधबार चिकंसाः गल्ली पुग्दा मेसिनले लुगा धोइरहेका बेला, सुकेका कपडा उठाएर मिलाउँदै थिए, एकै परिवारका चार व्यक्ति । त्यसमध्येकी एक थिइन्, मञ्जु मगैया । साथमा थिए, उनका श्रीमान्, सासु र देउरानी। 

लुगा धुनु मगैया परिवारको परम्परागत पेसा हो । करिब २० वर्षअघि विवाह भएर यो परिवारमा जोडिन आएपछि मञ्जुले पनि मगैया समुदायकै पेसागत विरासत थाम्न थालेकी हुन् । अहिले भने मञ्जुको परिचय लुगा धुने महिलाका रूपमा मात्र सीमित छैन । गत वैशाखको स्थानीय तह निर्वाचनपछि उनी बनेकी छन्, आफ्नै टोलको नेता । त्यसैले हिजो धोएको कपडामा दाग भेटिएको गुनासो लिएर आउनेहरू अचेल मञ्जुकहाँ आउन थालेका छन्, सडक र खानेपानीलगायत समस्या लिएर। 

चारैतिरबाट अग्ला घरले छेकेको साँघुरो जग्गाको एक छेउमा राखिएको छ, लुगा धुने मेसिन । गत बुधबार चिकंसाः गल्ली पुग्दा मेसिनले लुगा धोइरहेका बेला, सुकेका कपडा उठाएर पट्ट्याउँदै थिए, एकै परिवारका चार व्यक्ति । त्यसमध्येकी एक थिइन्, मञ्जु मगैया । र, साथमा थिए, उनका श्रीमान्, सासु र देउरानी । 

१५ वर्षको उमेरमा बिहे गरेर मगैया परिवारमा आएकी उनी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कामनपा– २० बाट महिलासदस्य निर्वाचित भएकी हुन् । पहिले कपडा धुनमै व्यस्त हुने मञ्जु अहिले भने टोलवासीका गुनासा समाधानमा लागेकी छन्।

मञ्जुका सासु–ससुरा, देवर, देउरानी र पति सबैले अहिले पनि लुगा धुने पेसा नै गरिरहेका छन् । ‘यो हाम्रो पुख्र्यौली पेसा हो,’ उनले भनिन्, ‘हाम्रो परिवार नै यही पेसामा छ।’ 

मञ्जुकी सासु कृष्णमायाका अनुसार उनका परिवारले चार पुस्तादेखि कपडा धुने पेसा अँगाल्दै आएको छ । दुई दशक अघिसम्म चिकंसाः गल्लीमा लुगा धुने व्यवसाय अपनाउने दुई परिवार थिए । अहिले भने मञ्जुको परिवारले मात्रै यो गल्लीमा लुगा धुने व्यवसाय गर्दै आएको छ। 

संयुक्त परिवारमा बस्ने उनीहरू मिलेर लुगा धुने गर्छन्। मञ्जुका सासु–ससुरा घरघर गएर धुने बेला भएका लुगा खोज्छन् । उनका श्रीमान् र देवरचाहिँ साइकलमा हालेर कपडा ल्याउने र पुर्‍याउने गर्छन् । मञ्जु र देउरानी रमा मगैया भने घरमा बसेर कपडा धुने, सुकाउने र मिलाउने गर्छन् । 

यही पेसाबाट उनीहरूको १० जनाको परिवार पालिएको छ । ‘नातिनातिनाबाहेक परिवारका सबैले यही पेसा अपनाउँदै आएका छौँ,’ मञ्जुकी सासु कृष्णमायाले भनिन्, ‘अहिलेसम्मको यसको कमाइले पेट पाल्नबाहेक केही गर्न सकेका छैनौँ।’ 

करिब तीन वर्षअघिको भूकम्पले उनीहरू बसोबास गर्ने माटोको घर चिराचिरा बनायो । सरकारले घरलाई बस्नयोग्य छैन भनेर रातो स्टिकर लगाइदियो । तर, न उनीहरूले घर भत्काएर बनाउन सकेका छन्, न त अन्यत्र डेरा सर्न नै । विकल्प नभएपछि उनीहरू त्यहीँ बस्दै आएका छन् । भत्किएको घर बनाउने सपना भए पनि पर्याप्त पैसा छैन, उनीहरूसँग । ‘लुगा धुने पेसाको कमाइले बच्चा पढाउँदा र पेट पाल्दैमा ठिक्क छ,’ कृष्णमायाले गुनासो पोखिन्, ‘घर बनाउन त पैसै जम्मा हुँदैन, कहाँबाट ल्याएर बनाउनू ?’ 

सरकारले भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने थाहा पाए पनि हालसम्म लिने प्रयास गरेका छैनन् । ‘तीन लाखले त हाम्रो घर बनाउनका लागि केही पनि हुँदैन, त्यसैले नलिएका हौँ,’ उनले भनिन्, ‘घर भत्काएपछि कहाँ गएर बस्नु ? गरिखाने पेसालाई कहाँ सार्नु ?’ 

चिकंसाः गल्लीमा उनीहरूको ६ आना जग्गा छ । घर बनाउन डेरा सर्दा उनीहरूले काम गर्ने ठाँउ पनि सर्नुपर्छ । त्यसले गरिखाने पेसा नै डुब्ला भन्ने पीर छ, उनीहरूलाई । परिवारका ६ सदस्य एउटै पेसामा खट्दा पनि मासिक कमाइ भने ३० देखि ४० हजार रुपैयाँभन्दा बढी हुँदैन।

बढ्दो सहरीकरण र पानीको अभावले पेसालाई नै संकटमा पारेको बताउँछिन् मञ्जु । वर्षामा इनारको पानी आउने भएकाले उनीहरू त्यसैले लुगा धुने गर्छन् । हिउँदमा भने ट्यांकरको पानीले लुगा धुनुपर्छ।

बढ्दो सहरीकरण र पानीको अभावले पेसालाई नै संकटमा पारेको बताउँछिन् मञ्जु । वर्षामा इनारको पानी आउने भएकाले उनीहरू त्यसैले लुगा धुने गर्छन् । हिउँदमा भने ट्यांकरको पानीले लुगा धुनुपर्छ । ‘एक ट्यांकर पानीको पाँच हजार पर्छ,’ मञ्जुले भनिन्, ‘पाँच हजारको पानी हप्ता दिनमै सकिन्छ।’ 

समस्या पानीको मात्र छैन, कपडा सुकाउने समेत छ । साँघुरो ठाउँमा धेरै कपडा सुकाउँदा सुक्नलाई नै समय लाग्छ । वरिपरिका  बनेका अग्ला घरले छेक्दा घाम लाग्दैन । ‘लुगा सुक्नै दुई दिन लाग्छ,’ उनले भनिन्, ‘ठूला घर बनेपछि घाम छेकेर कपडा सुकाउनै गाह्रो भएको छ।’

मञ्जुको परिवार आफैँ समस्यासँग जुधिरहेको छ । जनप्रतिनिधि भएपछि भने उनले टोलवासीका समस्या समाधानको पहल समेत गर्नुपरेको छ । हुन त उनले भोगिरहेका समस्या र टोलवासीका गुनासामा खासै फरक छैन । ‘हामीलाई पानी ल्याइदिनुस्, अरु केही गर्न पर्दैन,’ मञ्जुलाई धेरैले यही गुनासो राख्छन् । उनी आफैँले पनि पानीकै समस्या भोगिरहेकी छन्। 

पानीपछि धेरैले गर्ने गुनासो हो, ‘भूकम्पले भत्केको घर कसरी बनाउने ?’ यो समस्या पनि उनकै समस्यासँग मिल्दोजुल्दो छ । टोलवासीले गर्ने गुनासोलाई उनी लिएर पुग्छिन्, वडाको बैठकमा । ‘समस्या त वडाको बैठकमा लगेर सुनाउँछु,’ उनले भनिन्, ‘तर, केही हुँदैन ।’ 

समस्या समाधान नभएपछि कतिपयले अहिले भने समस्या सुनाउन छाडेका छन् । समस्या सुनाउन नचाहनेमा उनकी सासु कृष्णमाया समेत पर्छिन् । ‘समस्याको पोको फुकाउने हो भने धेरै छन्,’ कृष्णमायाले भनिन्, ‘समस्या सुन्न धेरै आउँछन्, गर्न भने कसैले केही होइन, अब त समस्या सुनाउनै छोडिसक्यौँ ।’ 

वर्षौं अरुको लुगा धोएर जीविका चलाइरहेकी मञ्जुले अहिले टोलका समस्या समाधान गर्ने अभिभारा त बोकेकी छिन् तर त्यसलाई पूरा गर्न सकिरहेकी छैनन् । ‘अर्काका मैला लुगा धुन कहाँ सजिलो छ र ?’ उनी भन्छिन्, ‘नेता भएर समस्या समाधान गर्न त लुगा धुनभन्दा गाह्रो रहेछ नि ।’

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App