coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्युनिस्टलाई आतंककारी घोषणा गर्न माग

मनिला– फिलिपिन्स सरकारले ६ सय भन्दा बढी कम्युनिस्ट नेता कार्यकर्तालाई आतंकारी घोषणा गर्न माग गर्दै देशको एउटा अदालतमा मुुद्दा दायर गरेको छ।

सरकारले फिलिपिन्सका पूर्व सांसद र चार पूर्व क्याथोलिक धर्मगुरुसमेतलाई कम्युनिस्ट गुरिल्लाको आरोप लगाउँदै आतंकारीको सूचीमा राख्न अदालतसमक्ष माग गरेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले बताए।

यस अघि गत महिना फिलिपिन्सको न्याय मन्त्रालयले पनि फिलिपिन्स कम्युनिस्ट पार्टी र उसको सशस्त्र समूह ‘न्यू पिपल्स आर्मी’ दुवैलाई आतंककारी समूह भएको घोषणा गर्न मनिला अदालतलाई आग्रह गरे पनि कोही पनि व्यक्तिलाई भने आतंककारीको सूचीमा राख्न माग गरेको थिएन । सरकारले पेश गरेको मुद्दा राष्ट्रपति रोड्रिगो डुटेर्टेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने उद्देश्य पेरित रहेको बताइएको छ।

सन् २०१६ को जुलाई महिनामा फिलिपिन्सको राष्ट्रपति बनेको केही सातामा नै डुटेर्टेले पाँच दशकभन्दा लामो समयसम्म देशमा जारी कम्युनिस्ट संघर्षको स्थायी समाधान गर्ने आफ्नो प्रतिबद्धता  पूरा गरेको देखाउन केही कम्युनिस्ट नेतालाई जेलमुक्त गरेका थिए भने केही वामपन्थी नेतालाई आफ्नो सरकारमा सहभागिता गराएका थिए । तर उनले न्यू पिपल्स आर्मीले वार्ता चलिरहेकै बेला आक्रमण गरेको भन्दै सोही वर्षकै नोभेम्बर महिनाबाट उक्त प्रक्रियाको अन्त्य गरेका थिए ।

आतंककारी घोषणा गर्न अदालतसमक्ष सरकारले पेश गरेको मुद्दामा विद्रोहीले सरकारलाई हटाउन र डर उत्पन्न गर्न आतंकवादी गतिविधि गरिरहेको विवरण उल्लेख गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । व्यक्ति र समूहलाई आंतककारी घोषणा गरेपछि सरकारलाई उनीहरुमाथि निरीक्षण गर्न, उनीहरुको आर्थिक गतिविधि पत्ता लगाउन र अन्य स्रोतमा उनीहरुको पहँुचको जानकारी पाउन सजिलो हुने तर्क गरिएको छ।

सरकारले आतंककारी घोषणा गर्न अदालतसमक्ष पेश गरेको नाममा सन् २०१४ मा संयुक्त राष्ट्रसंघका लागि पठइएका फिलिपिन्सका विशेष प्रतिनिधि भिक्टोरिया ताउली–कर्पजको समेत नाम रहेको रोयटर्सले जनाएको छ । उनको नाम देशमा जारी रहेको माओवादी विद्रोहको वरिष्ठ नेताको रूपमा संलग्न रहेको छ ।

ताउली–कर्पजले एक विज्ञप्ति निकाल्दै आतंकवादी घोषणा गर्नुपर्ने नाममा सरकारले आफूलाई संलग्न गरेको प्रति निन्दा गर्दै सरकारको यस्तो कदम आधारहीन र गैरजिम्मेवार भएको बताएकी छन्।कम्युनिस्ट विद्रोहीलाई आतंकवादी घोषणा गर्न माग गर्दै अदालतमा पेश गरिएको मुद्दाका बारेमा राष्ट्रपति डुटेर्टेका प्रवक्ताले भने केही प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

फिलिपिन्समा माओवादी आन्दोलनका कारण हालसम्म ४० हजार मानिसले ज्यान गुमाइसकेका छन् । आन्दोलन अन्त्यका लागि नर्वेको मध्यस्ततामा सन् १९८६ मा सुरु भएको वार्ता पटकपटक स्थगित हुँदै आएको छ । माओवादी विद्रोही पक्षले भने सरकारले लगाउने आतंकवादीको बिल्लालाई चुनौती दिन आफूहरु तयार रहेको प्रतिक्रिया दिएको छ।

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App