८ वैशाख २०८१ शनिबार
खेल

पोस्टर ब्वाईको कोसेढुंगा

स्कटल्यान्डविरुद्ध अर्धशतक बनाएपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का । तस्बिर सौजन्य: आइसिसी

काठमाडौं– पारस खड्का नेपाली क्रिकेटका पोस्टर ब्वाई अर्थात् अनुहार हुन् । अन्तर्राष्ट्रिय मञ्चमा भर्खर दुई दशक र केही वर्षको उमेर पुगेको नेपाली क्रिकेटमा पारस अहिलेसम्मकै सबभन्दा ठूला स्टार हुन् । पारस अर्थात् नेपाली क्रिकेटका सबथोक । सबथोक अर्थात् राष्ट्रिय टोलीका कुशल रणनीतिकार कप्तान।

टिमलाई आवश्यकता पर्दा सधैं उच्च प्रदर्शन गर्ने स्टार अलराउन्डर । राष्ट्रिय टोलीका छनोटकर्ता । आवश्यक पर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र नेपाली क्रिकेटबीचका पुल । क्रिकेट खेलाडी संघका महासचिव । नेपाली क्रिकेटका पर्याय।

क्रिकेटमा कप्तानको भूमिका अन्य खेलको तुलनामा बढी र महत्वपूर्ण हुन्छ । कप्तानले लिने रणनीतिमा टोलीको प्रदर्शन र नतिजा निर्भर रहन्छ । त्यसैले कप्तान चयन गर्दा उसको व्यक्तिगत प्रदर्शनभन्दा नेतृत्व र सही समयमा सही निर्णय गर्न सक्ने क्षमताको बढी परख गरिन्छ।

पारस अर्थात् नेपाली क्रिकेटका सबथोक । सबथोक अर्थात् राष्ट्रिय टोलीका कुशल रणनीतिकार कप्तान । टिमलाई आवश्यकता पर्दा सधैं उच्च प्रदर्शन गर्ने स्टार अलराउन्डर । राष्ट्रिय टोलीका छनोटकर्ता । आवश्यक पर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र नेपाली क्रिकेटबीचका पुल । क्रिकेट खेलाडी संघका महासचिव । नेपाली क्रिकेटका पर्याय।

एउटा कप्तानमा उच्च प्रदर्शनको क्षमता भयो भने त्यो बोनसका रूपमा रहन्छ । पारस नेपाली क्रिकेटले पाएका त्यस्तै बोनस हुन्, खेलाडी र कप्तान दुवै भूमिकामा उत्तिकै सक्षम । उदाहरणीय नेतृत्वको रूपमा आफूलाई स्थापित गरेका नेपाली क्रिकेटका पोस्टर ब्वाईको करियरले बिहीबार एउटा सुखद कोसेढुंगो पार गरेको छ, आइसिसीको लिस्ट ‘ए’ खेलमा १ हजार रन पूरा गरेर।

जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत बिहीबार स्कटल्यान्डविरुद्ध सम्पन्न खेलमा ९ रन बनाएपछि लिस्ट ‘ए’ मा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीका रूपमा पारसले कीर्तिमान बनाएका थिए । ४.२ ओभरमा १४ रन बनाउँदा ४ तथा ८ ओभरमा ३९ रन बनाउँदा ५ विकेट गुमाएपछि स्कटल्यान्डविरुद्ध नेपालको इनिङ निक्कै छोटो हुने धेरैको अनुमान थियो।

उपकप्तान ज्ञानेन्द्र मल्लसहित अर्का ओपनर दिलीप नाथ, भर गरिएका दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर र आरिफ शेख सस्तैमा पवेलियन फर्किएपछि नेपाली समर्थक निराश हुनु स्वाभाविक थियो । तर आफै अग्रपंक्तिमा रहेर उच्च प्रदर्शन गर्दै सहयात्रीलाई प्रेरणा दिने कप्तानले धैर्यपूर्ण  ब्याटिङ मोर्चा सम्हालेपछि नेपालले ४७.४ ओभरसम्म खेल्यो । पारसले ७५ बलमा १० चौकासहित ६३ रनको योगदान गरे । लिस्ट ‘ए’ मा दुई शतक पूरा गरेका पारसको यो नवौं अर्धशतक हो । स्कटल्यान्डविरुद्ध भने पारसले प्रहार गरको यो दोस्रो अर्धशतक हो।

२०१४ मा न्युजिल्यान्डमा सम्पन्न विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलबाट लिस्ट ‘ए’ मा ‘डेब्यु’ गरेका पारसको यो स्तरमा कुल रन ३० खेलमा १ हजार ५४ पुगेको छ । २०१५ मा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग (डब्लुसिएल) डिभिजन २ मा क्यानाडामाथि ७ विकेटको जित दर्ता गर्दा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ७७ रन बनाएका थिए । लगत्तैको खेलमा आयोजक नामिबियाविरुद्ध ६४ रन प्रहार गर्दै उनले नेपाललाई अर्को जित दिलाएका थिए।

नामिबियाको प्रदर्शनका आधारमा नेपालले खेल्न पाएको डब्लुसिएल च्याम्पियनसिपको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध पारसले ७० रन बनाए । तथापि स्कटल्यान्डमा भएको खेलमा नेपाललाई जित दिलाउन उनको त्यो प्रदर्शन पर्याप्त भएन । नेपाल ३ रनको झीनो स्कोरमा पराजित भयो।

डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनीसँग अबुधाबीमा ३ विकेटले पराजित हुँदा ५८ रन बनाएका पारसले कीर्तिपुरको मैदानमा नामिबियालाई ३ विकेटले हराउँदा पहिलो शतक प्रहार गरेका थिए । घरेलु मैदानमा उनले बनाएको १ सय ३ रन लिस्ट ‘ए’ मा पहिलो शतक थियो । लगत्तै २०१६ मै नेदरल्यान्ड्ससँग उसकै मैदानमा १५ रनले विजयी हुँदा नेपाली कप्तानले बनाएको ८४ रनको योगदान महत्वपूर्ण थियो।  

यसै गरी गत महिना नामिबियामा युएईलाई समूह चरणमा ४ विकेटले हराउँदा ५१ रन बनाएका उनले फाइनलमा त्यही प्रतिद्वन्द्वी पाउँदा अविजित १ सय १२ रनको सानदार इनिङ खेले । लिस्ट ‘ए’ क्रिकेटमा पारसको यो अहिलेसम्मको उच्च स्कोर हो । यहाँ पनि उनको उच्च योगदान नेपाललाई जित दिलाउन पर्याप्त भएन । फाइनलमा ७ रनको हार स्विकार्दा नेपाल उपाधिबाट विमुख भएको थियो । तथापि प्रतियोगितामा २ सय २९ रनका साथ उनी सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

नामिबियामा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान पक्का गरेको नेपालले जिम्बाब्वेमा लगातार दोस्रो खेलमा हार स्विकारेको छ । तर पारसले दुवै खेलमा व्यक्तिगत प्रदर्शन औसतभन्दा राम्रो गरेका छन् । पहिलो खेलमा जिम्बाब्वेसँग १ सय १६ रनको फराकिलो अन्तरमा हार्दा ४० रन बनाएका उनले स्कटल्यान्डविरुद्ध ६३ रन प्रहार गरे।

लिस्ट ‘ए’ मा पारसको र यात्रा

मिति                           प्रतियोगिता                   विपक्षी            रन                  नतिजा                             स्थान
२०१४ जनवरी १३            विश्वकप छनोट                युएई               १२           १०२ रनको पराजय                 न्युजिल्यान्ड
२०१४ जनवरी १९            विश्वकप छनोट              हङकङ           २९            १० विकेटको पराजय               न्युजिल्यान्ड
२०१४ जनवरी २१            विश्वकप छनोट              क्यानाडा           १७           १२ रनको हार                        न्युजिल्यान्ड
२०१४ जनवरी २६           विश्वकप छनोट प्लेअफ     नेदरल्यान्ड्स      २९             ७ विकेटको हार                   न्युजिल्यान्ड
२०१४ जनवरी २७          विश्वकप छनोट प्लेअफ      युगान्डा            ३०             १६० रनको हार                     न्युजिल्यान्ड
२०१५ जनवरी १७          डब्लुसिएल डिभिजन २      युगान्डा              ५               २ रनको जित                       नामिबिया
२०१५ जनवरी १८          डब्लुसिएल डिभिजन २       नेदरल्यान्ड्स       १९              २ विकेटको जित                 नामिबिया
२०१५ जनवरी २०          डब्लुसिएल डिभिजन २       क्यानाडा             ७७         ७ विकेटको जित                    नामिबिया
२०१५ जनवरी २१          डब्लुसिएल डिभिजन २       नामिबिया           ६४           ३ विकेटको जित                     नामिबिया
२०१५ जनवरी २३          डब्लुसिएल डिभिजन २        केन्या               २०            ५ विकेटको हार                    नामिबिया
२०१५जनवरी २४    डब्लुसिएल डिभिजन २ प्लेअफ      केन्या              ०              १५ रनको हार                      नामिबिया
२०१५ जुलाई २९      डब्लुसिएल च्याम्पियनसिप        स्कटल्यान्ड          ७०             ३ रनको हार                     स्कटल्यान्ड
२०१५ अगस्ट १        डब्लुसिएल च्याम्पियनसिप        स्कटल्यान्ड          १०          ९ विकेटको हार                    स्कटल्यान्ड
२०१६ नोभेम्बर १६    डब्लुसिएल च्याम्पियनसिप        पिएनजी              ६           २ विकेटको हार                    अबुधाबी
२०१६ नोभेम्बर १८     डब्लुसिएल च्याम्पियनसिप       पिएनजी             ५८           ३ विकेटको हार                    अबुधाबी
२०१६ अप्रिल १६       डब्लुसिएल च्याम्पियनसिप       नामिबिया            २१           ५ विकेटको जित                   कीर्तिपुर
२०१६ अप्रिल १८       डब्लुसिएल च्याम्पियनसिप       नामिबिया            १०३          ३ विकेटको जित                   कीर्तिपुर
२०१६ अगस्ट १३      डब्लुसिएल च्याम्पियनसिप       नेदरल्यान्ड्स           ०            ७ विकेटको हार                नेदरल्यान्ड्स
२०१६ अगस्ट १५      डब्लुसिएल च्याम्प्यिनसिप       नेदरल्यान्ड्स           ८४           १५ रनको जित                 नेदरल्यान्ड्स
२०१७ अक्टोबर १३     डब्लुसिएल च्याम्पियनसिप      हङकङ               २६         ८३ रनको हार                      हङकङ
२०१७ डिसेम्बर ६       डब्लुसिएल च्याम्पियनसिप      युएई                   २०          ७ विकेटको हार                   अबुधाबी
२०१७ डिसेम्बर ८       डब्लुसिएल च्याम्पियनसिप      युएई                    १०          ६३ रनको हार                      अबुधाबी
२०१८ फेब्रुअरी ८       डब्लुसिएल डिभिजन २         नामिबिया               १९           १ विकेटको जित                   नामिबिया
२०१८ फेब्रुअरी ९        डब्लुसिएल डिभिजन २        ओमान                  १७          ६ विकेटको हार                    नामिबिया
२०१८ फेब्रुअरी ११       डब्लुसिएल डिभिजन २         युएई                  ५१            ४ विकेटको जित                   नामिबिया
२०१८ फेब्रुअरी १२      डब्लुसिएल डिभिजन २           केन्या                 ४२           ३ विकेटको जित                   नामिबिया
२०१८ फेब्रुअरी १४      डब्लुसिएल डिभिजन २           क्यानाडा             ०              १ विकेटको जित                  नामिबिया
२०१८ फेब्रुअरी ८   डब्लुसिएल डिभिजन २ फाइनल      युएई               ११२            ७ रनको हार                      नामिबिया
२०१८ मार्च ४           विश्वकप छनोट                       जिम्बाब्वे            ४०            ११६ रनको हार                    जिम्बाब्वे
२०१८ मार्च ८           विश्वकप छनोट                       स्कटल्यानड        ६३           ४ विकेटको हार                    जिम्बाब्वे

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App