८ वैशाख २०८१ शनिबार
समाज

सेनाले द्रुतमार्ग निर्माणलाई गति दिने

काठमाडौं – नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा माटो काट्ने, सम्याउने, नाला निर्माण, रिटेनिङ वाल निर्माणलगायतका कामका लागि थप १४ ठेकेदार कम्पनीलाई आसयपत्र दिएको छ । सेनाले राष्ट्रिय स्तरका आठ ठेकेदार कम्पनीमार्फत माटो काट्ने, सम्याउने, नाला निर्माण, रिटेनिङ वाल निर्माणलगायतका काम अघि बढाइसकेको छ । त्यस्तै द्रुतमार्गभित्र परेका रुख कटानको काम पनि भइरहेको र हाल मकवानपुरको बुदुने तथा लेनडाँडा इलाकामा रुख काट्ने कार्य भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाले द्रुतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न स्थानमा अस्थायी बेसक्याम्पसमेत सञ्चालनमा ल्याएको छ । सेनाले हालै ललितपुरको खोकना, मकवानपुरको ठिंगन तथा राजदमार र बाराको निजगढमा अस्थायी बेसक्याम्प खडा गरेको जानकारी दिएको छ। क्याम्प खडा गरिएका स्थानमा आवश्यक जनशक्तिसमेत परिचालन गरी काम सुरु गरिसकेको सेनाले जनाएको छ। सोही प्रयोजनका लागि मकवानपुरको  महादेवटारमा पनि छिटै बेसक्याम्प खडा गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाले द्रुतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न स्थानमा अस्थायी बेसक्याम्पसमेत सञ्चालनमा ल्याएको छ ।

सेनाले द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेव इलाकासमेत गरी पाँच स्थानमा सुरक्षा बेसक्याम्प स्थापना गरिसकेको जनाएको छ । ती क्याम्पमार्फत पाइलट ट्र्याकको पहिरो पन्छाउने र विस्तृत इन्जिनियरिङ सर्भेको काम सम्पन्न गरिसकेको सेनाले जनाएको छ । साथै आयोजनाबाट खरिद गरिएका विभिन्न हेभी इक्युप्मेन्ट, सवारीसाधन तथा अन्य उपकरण फिल्डमा तैनाथ गरी तीव्रताका साथ माटो काट्ने, सम्याउने र भर्ने काम पनि गरिरहेको सेनाले जनाएको छ।  

द्रुतमार्गले भेट्ने निजी तथा ऐलानी जग्गाको मुआब्जा र घरटहराको क्षतिपूर्ति वितरण पनि काठमाडौं र मकवानपुरमा सम्पन्नप्रायः भइसकेको सेनाले जनाएको छ । ललितपुरको बुङमती र खोकना इलाकामा रहेको विवाद निराकरणका लागि पनि सम्बन्धित सरकारी निकाय, स्थानिय जनप्रतिनिधि तथा अन्य सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भइरहेको सेनाले जनाएको छ। 

सेनाले एसियाली विकास बैंक (एडिबी) को सम्भाव्यता अध्ययनका आधारमा दु्रतमार्र्ग निर्माणको काम अघि बढिरहेको जनाएको छ । दु्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम पनि भइरहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए । डिपिआर निर्माणका लागि नेपाली सेनाभित्रको जनशक्ति, नेपालभित्रै रहेका विज्ञ र आवश्यकताअनुसार विदेशी विज्ञको पनि सहयोग लिइने भण्डारीले बताए ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App