४ वैशाख २०८१ मंगलबार
अर्थ

चमेलियामा दैनिक ६ घन्टा विद्युत उत्पादन

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृह, ड्याम साइड र प्रसारण लाइन ।तस्बिर :प्रेम/नागरिक

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा निर्माण गरिएको चमेलिया जलविद्युत् आयोजनाले दैनिक ६ घन्टा विद्युत उत्पादन गरिरहेको छ।

माघ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेको दिनदेखि आयोजनाबाट नियमित उत्पादन भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए।‘विहान ६ देखि ९ बजेसम्म र बेलुकी ६ देखि ९ बजेसम्म गरी दैनिक ६ घन्टा विद्युत् उत्पादन भइरहेको छ,’ दहालले भने, ‘नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रको प्रत्यक्ष निगरानीमा विद्युत् उत्पादन भइरहेको छ।’

विद्युतको माग बढेको समय (पिक आवर)मा चमेलियामा विद्युत् उत्पादन भइरहेको छ । विहान र बेलुकाको समयमा बढी विद्युत् खपत हुने भएकाले विहान र बेलुका ३–३ घन्टा उत्पादन भइरहेको छ । १५–१५ मेगावाटका दुइटा टर्बाइनबाट दैनिक २५ देखि ३० मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजना प्रमुख दाहालको भनाइ छ ।अहिले चमेलिया नदीको पूरै पानी जम्मा गरेर विद्युत् उत्पादन भइरहेको छ । विद्युत् उत्पादन हुने समयबाहेक अन्य समय नदीमा पानी छोडिएको छैन । बिटुलेस्थित बाँधस्थलमा पानी जम्मा गरी आवश्यक परेको बेला विद्युत् उत्पादन भइरहेको छ।

सुक्खायाम भएकाले नदीमा पानीको सतह निकै कम छ । चमेलियामा अहिले बगिरहेको पानीबाट बढीमा ६–७ मेगावाट मात्र विद्युत् उत्पादन हुन सक्छ । नदीको पानी बाँधस्थलमा जम्मा गरी आवश्यक भएको बेला पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
उदघाटन भयो हस्तान्तरण बाँकी
सात नम्बर प्रदेशमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना चमेलियाको एक महिनाअघि औपचारिक उद्घाटन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले माघ २७ गते उद्घाटन गरेको चमेलियाले व्यवासायिक विद्युत् उत्पादन पनि थालिसकेको छ । तर जलविद्युत आयोजना निर्माणमा संलग्न चिनियाँ र कोरियाली कम्पनीले आयोजना हस्तान्तरण गर्न अझै बाँकी छ । आयोजनाको सिभिल निर्माणमा संलग्न चीनको सिजिजिसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न कोरियाको केएनएचपी कम्पनीले हस्तान्तरण गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि दुवै कम्पनीले हस्तान्तरण गर्नुपर्ने प्रावधान छ ।

आधारभूत कार्यहरु सकिएपछि तत्काल विद्युत् उत्पादन सुरु गरिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । केही कागजी प्रक्रिया र सामान्य कार्य मात्र पूरा हुन बाँकी भएकाले तत्काल औपचारिक उद्घाटन समेत गरिएको उनको भनाइ छ । अहिले आयोजनास्थल बलाँचमा रहेको पावरहाउस अगाडिको आँगन कंक्रिट गर्ने कार्य भइरहेको छ ।सिभिलतर्फको यो काम चिनियाँ कम्पनीको जिम्मामा छ । यसैगरी, पावर हाउसभित्रै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल कार्यको पनि फिनिसिङ भइरहेको छ ।

पावर हाउस अपरेट गर्न नयाँ जनशक्तिलाई सिकाउने काम भइरहेको दाहालले बताए । ‘आयोजना निर्माणमा संलग्न दुवै कम्पनीले निर्माण कार्य सम्पन्न भएपछि सम्पूर्ण कार्यको प्रगति विवरण प्राधिकरणलाई बुझाउनुपर्ने छ । सबै उपकरण प्रयोगको अवस्थासहितको विवरण प्राधिकरणलाई बुझाएसँगै हस्तान्तरण कार्य सम्पन्न हुनेछ।’

आयोजना निर्माणमा संलग्न कोरियाली कम्पनी केएनएचपीसँगको सम्झौताअनुसार हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यमा आयोजना हस्तान्तरण भएपछि एक वर्षसम्मको अवधिमा कुनै समस्या आए कम्पनी जिम्मेवार हुन्छ।

एक वर्षको डिफेक्ट लायबिलिटी पिरियड हुने भएकाले यसको गणना हस्तान्तरण भएको दिनदेखि हुने आयोजना प्रमुख दाहालको भनाइ छ ।आयोजनामा संलग्न कोरियाली कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गर्न अझै एकदेखि डेढ महिनासम्म लाग्ने उनले बताए । सिभिल निर्माणमा संलग्न चिनियाँ कम्पनीले पनि केही हप्ताभित्रै आफ्नो काम पूरा गर्दैछ ।

देउवालाई उदघाटनको हतारो
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चमेलियाको उद्घाटन गर्ने अवसर पाएका थिए । गृहक्षेत्र रहेको ७ नम्बर प्रदेशमा निर्माण सम्पन्न भएको चमेलिया जलविद्युत् आयोजनाको उदघाटन गर्ने अवसरलाई देउवाले आफ्नो कार्यकालको अन्तिम समयमा उपयोग गरे । चमेलियाको उदघाटनमा सम्बोधन गर्दै देउवाले चमेलियाको थालनी पनि आफैंले गरेको बताएका थिए । नेपालमा आयोजनाको थालनी गर्ने र निर्माण सम्पन्न भएपछि उद्घाटन गर्ने एउटै व्यक्ति आफू भएको दाबी समेत देउवाले उद्घाटन कार्यक्रममा गरेका थिए।

आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न भइसकेको र व्यावसायिक उत्पादन सुरु भएकाले तत्काल उदघाटन गरिएको चमेलिया जलविद्युत् आयोजनाका प्रमुख दाहालले बताए । मुलुकमा भइरहेको ऊर्जाको मागलाई सम्बोधन गर्न पनि आयोजना उद्घाटन गरी तत्काल विद्युत् उत्पादन थालिएको उनको भनाइ छ ।  

 

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App