७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘हामी सयको सामान किन्दा ७ रुपैंयाको बेच्दा रहेछौं’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ बर्ष नेपालको विकासका लागि असाधारण समय हुने बताएका छन्। ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ।’

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलाको विहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए। सरकार सार्वजनिक, निजी र सहकारीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताउँदै उनले भने, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ।’

वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउँदै प्रधानमन्त्री ओलीले भने– ‘सरकार भ्रष्टाचारविरुद्ध र देशको दुरदृष्टिका पक्षमा छ। सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन्।’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने उनको भनाइ छ।

नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव समेत दिए। ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’, उनले भने, ‘हरेक पटक हामी ९३ रुपैंया घाटाको व्यापार गरिरहेका छौं। यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो।’

पर्यटन व्यवसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। तर यसका लागि पर्यटनमैत्री सडक र होटल हुनुपर्नेमा उनले जोड दिए। ‘एकपटक नेपाल आएको पर्यटकले फेरी फेरी पनि आउने चाहना राखोस’ प्रधानमन्त्री ओलीले भने, ‘एकपटक चन्द्रागिरी डाँडाँमा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिती छ। यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ।’

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राब्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने, गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिँदै ओलीले भने– ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ। यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ।’ 

प्रकाशित: २४ फाल्गुन २०७४ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App