७ वैशाख २०८१ शुक्रबार
समाज

महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो

चितवन : महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ।

महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ। गत आर्थिक वर्षमा २३ वटा घटना प्रहरीमा दर्ता भएकामा चालु आवको माघ सम्ममा २३ वटा घटना नै दर्ता भइसकेका छन्।

गत आवमा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकामा चालु आवकोे हालसम्म त्यस्ता ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार भएको भनी चिकित्सकले प्रमाणित गरेका मुद्दालाई जबर्जस्ती करणीअन्तर्गत र बलात्कार गर्ने मनसायले गरेका विभिन्न गतिविधिलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गत आवमा बलात्कारका घटनामा संलग्न ३३ पुरुष र दुई महिलालाई पक्राउ गरी कारबाही गरिएको थियो । जबर्जस्ती करणी उद्योगमा २४ जनालाई पक्राउ गरिएको थियो । चालु आवको हालसम्म जबर्जस्ती करणी मुद्दाका २६ र उद्योगका आठ जनालाई पक्राउ गरिएको उनले बताए।

“पीडितमा न्याय माग्नुपर्छ भन्ने भावनाको विकास भएको छ,” उनले भने। विगतमा बलात्कारका घटनामा डर, धम्की र प्रलोभनमा पारेर स्थानीय तहमा नै मिलाउने गरेको भए पनि अहिले कानुनी निकायसम्म जानुपर्छ भन्ने भावनाको विकास भएको तथ्यांकले देखाउँछ।

महिलामाथि हुने हिंसाका घटनाबाहिर आउने क्रम पनि बढेको छ । गत आवमा घरेलु हिंसाका २५० निवेदन दर्ता भएकामा चालु आवको माघ सम्ममा १७९ वटा निवेदन दर्ता भएको छ । प्रहरीले गत आवमा २०० वटा घरेलु हिंसाको मिलापत्र गराएको थियो भने चालु आवको माघ सम्ममा १४५ वटा मिलापत्र गराएको जनाएको छ।रासस

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App