"

देउवा र कांग्रेसको भविष्य

बिहिबार, २४ फागुन २०७४, ०८ : ४२ हरि अधिकारी


पार्टीका सभापति र केही दिनअघिसम्म प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको नेता पदका लागि गत सोमबार भएको चुनावमा पार्टीका अर्का प्रत्याशी, सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहका सुपुत्र तथा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई १९ विरुद्ध ४४ मतको भारी अन्तरले पराजित गरेका छन् । भर्खर सम्पन्न निर्वाचनपछि संघीय संसद्मा रहने २७५ मध्ये जम्माजम्मी ६३ जनामा खुम्चिएका कांग्रेस सांसदको अनुहार  एक÷एक गरी नियाल्दा पार्टी संसदीय दलको नेता पदका लागि भइरहेको यसपटकको आन्तरिक प्रतिस्पर्धामा सभापतिको शक्तिशालीे पदमा विराजमान देउवाको जीत सुनिश्चित जस्तै मानिएको थियो । तर उनीसँग स्पर्धा गरिरहेका उनीभन्दा तुलनात्मकरूपले युवा र राजधानीको एलिट वर्गका प्रतिनिधि प्रकाशमान सिंहले यति थोरै मतमात्र पाउलान् भन्ने अनुमान भने कमैले गरेका थिए।

२०७४ को वर्षायामदेखि क्रमशः हुँदै आएर गत मंसिरमा सम्पन्न भएका स्थानीय तह, प्रदेशसभा र संघीय संसद् गरी तीनै तहका निर्वाचनमा वामपन्थीका हातबाट नेपाली कांग्रेसले नराम्रो पराजय भोगेको थियो । त्यस ऐतिहासिक हारका अनेक कारण थिए÷छन् तापनि प्रमुख कारण पार्टी सभापति र देशकै प्रमुख कार्यकारी अधिकृतका रूपमा शेरबहादुर देउवाको अक्षमता, अकर्मण्यता र भ्रष्टाचारसँग परहेज नगर्ने संदिग्ध क्रियाकलाप नै हो भन्ने निष्कर्षलाई लिएर शायदै विवाद होला । यसै नग्न तथ्यका आलोकमा पार्टीले यसपटक भोगेको लज्जास्पद पराजयको जिम्मेवारी लिएर देउवाले पार्टीको नेतृत्वबाट अवकास लिनुपर्ने आवाज सर्वत्र उठिरहेको थियो। 

देउवाले अत्यधिक बहुमतले संसदीय दलको चुनाव जित्नुले आजको कांगे्रस वैचारिक मेरुदण्ड बिलकुलै नभएका लालचका पुत्लाहरूको बेकम्मा भीडमा परिणत भएको छ भन्ने नग्न सत्य उजागर गरेको छ ।

यस्तो प्रतिकूल समयमा भएको पार्टीको संसदीय दलको नेता पदको चुनाव जित्न देउवालाई हम्मे पर्नेछ भन्ने नित्तान्त स्वाभाविक अनुमान गलत सावित भयो । उनले अत्यधिक बहुमतले चुनाव जित्नु राजनीतिको क्षेत्रमा प्रायः दोहोरिइरहने एकप्रकारको विडम्बनाको विषय हो । यसले आजको नेपाली कांगे्रस वैचारिक मेरुदण्ड बिलकुलै नभएका लालचका पुत्लाहरूको बेकम्मा भीडमा परिणत भएको छ भन्ने नग्न सत्य पनि उजागर गरेको छ । साथै यस घटनाले लगातार ओरालो लागिरहेको कांगे्रसको पुनरुत्थान हुन सक्छ कि सक्दैन, सक्छ भने त्यो कसरी सम्भव होला भन्ने विषयलाई लिएर चिन्तित त्यस पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तक र समग्र लोकतन्त्रवादी जनतासमेत सबैलाई गहिरो निराशाको खाडलमा धकेलिदिएको छ।  

ठीक २ वर्षअघि सम्पन्न निर्वाचनमा निकटतम् प्रतिस्पर्धी रामचन्द्र पौडेलभन्दा करिब ५ सय मत बढी ल्याएर पार्टीको सभापति बनेका देउवाले त्यसको केही महिनापछि तिनै पौडेललाई फराकिलो मतान्तरमा हराएर नेकां संसदीय दलको नेतृत्व हात पारेका थिए । त्यतिबेला सजिलोसँग नेपाली कांग्रेस संसदीय दलको नेता बनेपछि उनले केही समयको अन्तरालमै पाँचौँ पटक देशको प्रधानमन्त्री हुुुने, कुनै पनि राजनीतिक व्यक्तिका लागि अत्यन्तै कठीन र बिरल मानिने सुखद् र दुर्लभ अवसर प्राप्त गरेका थिए । देशको सुदूर पश्चिमी सिमान्त पहाडी जिल्ला डडेलधुराको सामान्य किसान परिवारमा जन्मिएका यी निम्नमध्यमवर्गीय खस/क्षत्रीले राष्ट्रिय राजनीतिक परिदृश्यमा हासिल गरेको त्यो वैयक्तिक उपलब्धिलाई अद्भूत मान्न सकिन्छ । हाम्रो जस्तो सामन्ती मानसिकता भएको देशमा देउवा जस्तो पिछडिएको पृष्ठभूमिबाट आएको अकिञ्चन मानिस धनीमानी जमिन्दार परिवारका सम्भ्रान्त सन्तानहरूको हालीमुहाली रहँदै आएको ऐतिहासिक पार्टीको प्रमुख, त्यो पनि खुला प्रतिस्पर्धाबाट बन्न पुग्नु एउटा चमत्कारकै विषय थियो। 

त्यसको स्थापना कालदेखि नै नेपाली कांग्रेस पार्टीमाथि आभिजात्य कोइराला घरानाको एकछत्र वर्चश्व रहँदै आएको हो । कांग्रेस भनेको कोइराला र कोइराला भनेको कांग्रेस ठानिँदै आएको पनि हो यहाँ । त्यस्तो परिवेशमा त्यस दलको लगाम सुदूरपश्चिमको अपरिचित परिवारको सदस्य शेरबहादुर देउवाको हातमा आएको अद्भूत घटनालाई धेरैले त्यस दलको लोकतान्त्रीकरणको आरम्भविन्दु मानेर नेपाली राजनीतिको विकासक्रममा देखिएको एउटा शुभसंकेतका रूपमा लिएका थिए । सभापतिका रूपमा गिरिजाप्रसाद कोइरालाले पार्टी चलाउन थालेको केही समयपछि देखि नै त्यो पुरानो र प्रतिष्ठित पार्टी उनलाई घेरेर बसेका केही भुइँफुट्टाहरूको कसिलो पकडमा गएको थियो । शेरबहादुरका पालामा आएपछि स्थिति फेरिनेछ, कोइरालाकालमा जस्तो पार्टीलाई भूमिगतरूपमा हाँक्ने चाण्डाल चौकडी देउवाका पालामा सोहीरूपमा देखिने छैन र आइन्दा पार्टीको नेतृत्व हस्तान्तरण घरानाभित्रै हुने परम्परा तोडिएर सहज र कटुतारहित ढंगले एउटा योग्य नेताबाट अर्को त्यत्तिकै योग्य नेतामा हुनेछ भन्ने प्रत्याशा पनि धेरैले गरेका थिए।   

देउवासँग स्पर्धा गरिरहेका उनीभन्दा तुलनात्मकरूपले युवा र राजधानीको एलिट वर्गका प्रतिनिधि प्रकाशमान सिंहले यति थोरै मतमात्र पाउलान् भन्ने अनुमान भने कमैले गरेका थिए ।

तर देशकै दुर्भाग्य, आफ्ना शुभचिन्तकहरू सबैले गरेका सकारात्मक अपेक्षा र प्रत्याशामाथि पार्टीमा आफ्नो पूर्ण नियन्त्रण कायम भएका क्षणदेखि नै तातोपानी खन्याउन सुरु गरेर देउवाले दुनियाँलाई नै स्तब्ध पारिदिएका छन् । नेपाली कांगे्रसमा आबद्ध भएका लोकतन्त्रप्रति प्रतिबद्ध, निष्ठावान् र सिधासाधा कार्यकर्ता एवं त्यस पार्टीलाई देशमा उपलब्ध भएकामध्ये लोकतन्त्रको एकमात्र पहरेदार शक्ति ठानेर समर्थन गरिरहेको देशी÷विदेशी बौद्धिक वर्गलगायत सबैका लागि शेरबहादुर देउवाले देखाउन थालेको परिवर्तित रूप यति भयानक र अप्रत्याशित सावित भएको छ, त्यसले दिएको मानसिक आघातलाई ठीक ठीक शब्दमा उतार्न सजिलो छैन । यस लेखकलगायत लोकतन्त्रमा विश्वास गर्ने  धेरैजना सचेत मानिस उनले देखाउँदै आएको भद्रता, उदारता, सबैलाई समेटेर लान खोज्ने ग्रहणशीलता र केही हदसम्म दृढताबाट प्रभावित भएर उनको साथ लागेका थियौँ । आफूसँग पर्याप्त शक्ति सञ्चित हुने बित्तिकैदेखि देउवाको अनुहारमा पोतिन पुगेको आत्मकेन्द्रितता र संकीर्णताको ध्याँसे रंग देखेर विष्मित, चकित र कुण्ठित बनेका नेपाली कांग्रेसका समर्थक हामी लोकतन्त्रवादीहरू अहिले पनि त्यस मनोघातबाट बाहिर निस्कन सकेका छैनौँ । कुनै जमानामा देउवाको चरित्रमा देखिएका र हामी धेरैलाई अभिभूत बनाएका प्रसाद गुणहरू खाली विभ्रममात्र थिए त ? अहिले आएर यस प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ।

गत सोमबार नेपाली कांग्रेस संसदीय दलको नेता पदका लागि भएको निर्वाचनमा उम्मेदवार भई जितेर त ५ पटक प्रधानमन्त्री भइसकेका देउवाले निर्लज्जता र पदलोलुपताको निकृष्टतम् दृष्टान्त कायम गरेका छन् । पहिलो नम्बरबाट फराकिलो संख्यान्तरको दोस्रो हुन पुगेको पार्टीको संसदीय दलको नेताको पद फेरि एकपल्ट ओगट्न चाहेर यिनले कुन महान् प्राप्ति हासिल गर्न खोजेका हुन् अनुमानसम्म पनि गर्न सकिँदैन । नेपाली कांग्रेसका समर्थक र कार्यकर्तामात्र होइन, सारा संसार उनको पछिल्लो राजनीतिक पहलकदमी देखेर स्तब्ध भएका छन् । सबैको मनमा एउटै प्रश्न उठेको छ– कस्तो व्यक्तिको मुठीमा कैद हुन पुगेछ यस युगका सर्वाधिक प्रतिभासम्पन्न नेता बिपी कोइरालाको पार्टी नेपाली कांग्रेस जो आफ्नो पालामा पार्टीको प्रतिष्ठा माटोमा मिलेको कुराको नैतिक जिम्मेवारी लिनु त कता हो कता, कसैगरी विपक्षी खेमामा भीषण अन्तर्विरोध र विग्रह पैदा भइहाल्यो र बलशाली छिमेकीको आशीर्वाद लिन सकियो भने फेरि एकपल्ट प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने पञ्चतन्त्रको विष्णु शर्माको जस्तो लालसाको फोहोर पोखरीमा डुबुल्की मारिरहेको छ । 
नेपाली कांग्रेस आज गम्भीर संकटको भुमरीमा फसेको छ । यस साल भएका चुनावहरू हारेरमात्र यो संकटग्रस्त भएको होइन । एउटा राजनीतिक पार्टीको जीवनमा चुनावी हार/जीतको क्रम चलिरहन्छ । मुख्य कुरो हो– पार्टीप्रतिको आमजनविश्वासको निरन्तरता । त्यो विश्वास त्यतिबेलासम्म निरन्तर रहिरहन्छ जतिबेलासम्म पार्टीले स्थापना कालदेखि नै बृहत्तर जनकल्याणलाई ध्यानमा राखेर तय गरेका नीति, सिद्धान्त र आदर्शप्रति पार्टीका नेता तथा कार्यकर्ता मनसा, वचसा, कर्मणा निष्ठावान् रहिरहन्छन् । त्यसबाहेक एउटा असल पार्टीका नेता÷कार्यकर्ता, त्यसमा पनि विशेषगरी नेताहरूले, परिआएको बेलामा त्याग पनि गर्न जान्नुपर्छ । राजनीति नाफाको व्यापार होइन । नेपाली कांग्रेसमाथि आइपरेको आजको संकटको सबैभन्दा चिन्ताजनक आयाम नै के हो भने यसका आजका सभापतिलगायतका लगभग सम्पूर्ण नेताले राजनीतिलाई कहिल्यै घाटामा नजाने नाफामुखी व्यवसाय सम्झेका छन् र पार्टीलाई त्यो व्यवसाय चलाउने एउटा पसल। 

यदि त्यस्तो हुँदैनथ्यो भने आफ्नो नेतृत्वमा लडिएको चुनावमा ठूलो हार बेहोरेपछि सभापतिले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन्थे । राजीनामा प्रभावी बनाउनुभन्दाअघि पार्टीको महासमितिको विशेष बैठक बोलाएर पार्टीको दुर्दशाका कारक र कारण पत्तो लगाउने र संकटमोचन गर्दै नयाँ ऊर्जा र योजनाका साथ पार्टीको पुरानो गौरव फर्काउन मार्गप्रशस्त गर्ने प्रयत्न गर्थे । तर उनले के गरे भन्ने सबैसामु छर्लङ्गै छ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...