८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच राष्ट्रिय गौरवका आयोजना दयनीय

काठमाडौं – सरकारले प्राथमिकताका साथ घोषणा गरेका राष्ट्रिय गौरवका आयोजना निर्माण शैलीमा अझै सुधार हुन नसकेको पाइएको छ।

अर्थ मन्त्रालयले बुधबार चालु आर्थिक वर्ष ०७४-७५ मा बजेटको अर्धवार्षिक  (साउन–पुससम्म) समीक्षा सार्वजनिक गर्दा २१ मध्ये पाँच गौरवका आयोजनाको अवस्था दयनीय रहेको देखिएको हो । बूढीगण्डकी जलविद्युत् आयोजना, काठमाडौं–तराई–मधेस दु्रत मार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत् र मेलम्ची खानेपानीको अवस्थामा निकै थोरै बजेट खर्च हुने सकेको मन्त्रालयले जनाएको छ।

भौतिक र वित्तीय प्रगाति निराशाजनक रहेका ती आयोजना समयमै निर्माण हुने हो भने देशको मुहार फेरिने विज्ञहरूले बताउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि केही महिनाअघि काठमाडौं–तराई–मधेस दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।  चालु आर्थिक वर्षमा दु्रतमार्गका लागि १० अर्ब १४ करोड ४८ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिए पनि ६ महिनाको अवधिसम्म ३० करोड तीन लाख रुपैयाँमात्र खर्च भएको छ।

त्यस्तै, अर्को राष्ट्रिय गौरवको अयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा साउनदेखि पुससम्म एक सुको बजेट खर्च हुन सकेन । बाराको निजगढमा निर्माण गर्ने तयारी गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो।

विनियोजित बजेट खर्च गर्न नसकी दयनीय क्षमता प्रदर्शन गरेको अर्को बूढीगण्डकी जलविद्युत् आयोजनाले ६ महिनाको अवधिमा ०.१३ प्रतिशत मात्र बजेट खर्च हुन सक्यो । मन्त्रालयले चालु आर्थिक वर्षका लागि उक्त आयोजनामा  विनियोजन गरेको १० अर्ब १७ करोड ४२ लाख ४५ हजार रुपैयाँमध्ये पुसम्म एक करोड ३५ लाख सात हजार रुपैयाँ खर्च भएको छ।

सात सय ५० मेगावाट विद्युत् निकाल्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको अर्को  पश्चिम सेती जलविद्युत् आयोजना पनि कमजोर क्षमता प्रदर्शन गर्ने आयोजनामा दरिएको छ । मन्त्रालयले समीक्षा अवधिमा उक्त आयोजनामा जग्गा प्राप्ती, प्रशारण लाइन निर्माण र पुनर्वास सम्बन्धी समस्या देखिएको जनाएको छ ।
त्यस्तै सम्पन्न हुने मिति किटान गर्दै पटक पटक काम गर्न नसकी पछि धकिलिँदै आएको मेलम्ची खानेपानी आयोजना कमजोर क्षमता प्रदर्शन गर्ने अर्को गौरवको योजना भएको छ।

२०५८-५९ देखि निर्माण कार्य थालिएको मेलम्ची खानेपानीका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ९८ करोड ४९ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा गत पुससम्म एक अर्ब २४ करोड ४५ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ । चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको उक्त आयोजनाबाट काठमाडौंमा दैनिक १७ करोड लिटर खानेपानी ल्याउने  योजना छ।
गौरवका चार आयोजनामामात्र खर्च उत्साहजक
राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएका सबै आयोजनाको निर्माण कार्य उत्साहजक हुनुपर्ने अपेक्षा गरिएको बेला चारवटाको मात्र खर्च प्रगति उत्साहजनक रहेको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिने अवधिसम्म उत्साहजक क्षमता प्रदर्शन गर्ने गौरवका आयोजनामा भेरीबबई डाइभर्सन, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण लोकमार्ग र हुलाकी सडक हुन् । पाँच गौरवका आयोजनाका अवस्था दयनीय, चारवटा उत्साहजनक रहेको बेला अन्य १२ आयोजनाले औसत रूपमा बजेट खर्च गर्न सकेका छन् ।जबकि राष्ट्रिय गौरव घोषणा गरिएका सबै आयोजनाको वित्तीय र भौतिक प्रगति उत्साहजनक हुुनुपर्ने सर्वसाधारणको बुझाइ रहँदै आएको छ।

राष्ट्रिय गौरव भनिए पनि वर्षौंंदेखि तिनै आयोजनामा बजेट विनियोजन गर्ने तर सधैं खर्च गर्न नसक्ने संरचनाले गर्दा सर्वसाधारणको समयमै विकास पाउने चाहना पूरा हुन सकेको छैन । राष्ट्रिय गौरव भनिएका आयोजनामा वर्षौंदेखि काम भइरहँदा नियमित योजना र राष्ट्रिय गौरवका आयोजनामा के फरक भन्ने प्रश्न गर्न थालिएको छ।चालु आर्थिक वर्षको ६ महिनासम्म चार आयोजनामा बजेट खर्च उत्साहपूर्वक भए पनि समग्रमा भने लामजर्दो अवस्था छ।

मन्त्रालयका अनुसार २१ राष्ट्रिय गौरवका आयोजनाका लागि चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपैयाँमध्ये ६ महिनाको अवधिसम्म १२ अर्ब पाँच करोड ३५ लाख ९७ हजार रुपैयाँ खर्च हुन सकेको छ । ६ महिनाको अवधिमा १८.९२ प्रतिशत बजेट खर्च गर्न सकेका ती आयोजनाले बाँकी ६ महिनामा ८१ प्रतिशत भन्दा बढी विनियोजित रकम कसरी खर्च गर्न सक्छन् भनेर प्रश्न गर्न थालिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App