८ वैशाख २०८१ शनिबार
विचार

महिलाको ‘अनौपचारिक’श्रम

विकासको परिभाषाअनुसार अनौपचारिक क्षेत्र भन्नाले साँच्चै नै थोरै आयस्रोत भएका, श्रमको निश्चितता नभएका तथा सुरक्षित, मर्यादित र आधारभूत श्रम प्राप्तिका लागि पहुँच नभएका व्यक्तिहरू नै अनौपचारिक श्रमिकको परिभाषाभित्र पर्छन् । अनौपचारिक श्रमिक भन्नाले श्रमिकको दायरामा ल्याउन नसकेका श्रमिक जो राज्यको नीतिअनुरूप उनीहरूको आयस्रोत कर प्रणालीभित्र पर्दैन र सरकारी तहबाट हुने कुनै पनि प्रकारको नियमन तथा अनुगमन गर्ने आधिकारिक निकाय हँुदैन त्यस प्रकारका श्रमलाई अनौपचारिक श्रम भनिन्छ । जसमा मुख्यतया घरेलु श्रम,कृषि मजदुर,निर्माण क्षेत्र, मनोरञ्जन क्षेत्र रहेको पाइन्छ। जसले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ। 

नेपालको सन्दर्भमा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरूले अनौपचारिक क्षेत्रको ठूलो हिस्सा ओगटेका छन् भने मनोरञ्जन क्षेत्र, निर्माण क्षेत्र,घरेलु श्रम लगायतका क्षेत्रमा पनि महिला श्रमिकको संख्या उल्लेख्य छ । तर महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र विद्यमान सामाजिक सांस्कृतिक परम्पराका कारण महिलाले गर्ने घरेलु कामलाई सेवामूलक कामकारूपमामात्रलिइएको छ भने अन्य क्षेत्रको श्रमलाई पनि मर्यादित श्रमकारूपमा अंगिकार गरेको अवस्था छैन।जसको फलस्वरूप महिलाकोे श्रमको मूल्याङ्कनको वातावरणनिर्माण हुन सकेको छैन । महिला श्रमिकहरू अझै पनिविभेदित नै छन् । ज्यालामा विभेद छ भनेमहिलाको स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकार कुण्ठित हुनुका साथै महिलाले गर्ने श्रमको सामाजिक र आर्थिक रूपमा गणनासमेत हुन सकेको छैन । श्रमिक महिलाले आफूले चाहेको र रोजेको काम सम्मानपूर्वक गर्न सक्ने अवस्था छैन । महिलाको श्रमलाई हेर्ने फरक दृष्टिकोणका कारण महिलाहरूमाथि श्रम शोषण र यौन शोषण भइरहेको छ । यी क्षेत्रमा हालसम्म कुनै पनि श्रमिक महिलाको न त सामाजिक सुरक्षा छ, न त कानुनी सुरक्षा नै।

विशेषतःअनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको संख्या बढ्नुका मुख्य कारणहरूमा औपचारिक श्रम नियुक्त गर्ने प्रक्रिया कठिन हुनेगरेको जसमा महिलाको पहुँच पुग्न नसक्नु, बढ्दो गरिबी, राजनैतिक र आर्थिक अस्थिरताका कारणले विदेशिने क्रम बढ्नु, न्यूनतम मूल्यका वस्तु तथा सेवाको मागमा वृद्धि हुनु, प्राविधिक शिक्षाको अभाव र सीपमूलक तालिमको उपलब्धतामा कमी लगायतका छन् । विश्व बैंक २०१२ को प्रतिवेदनअनुसार एक तिहाइभन्दा बढी आर्थिक गतिविधिको औपचारिक अभिलेखनको संयन्त्र नभएको अवस्था छ । जसमा सिंगो कृषि क्षेत्र पर्छ । श्रम ऐन २०७४ ले केही हदसम्म अनौपचारिक श्रमलाई औपचारिक दायरामा ल्याउने प्रयास गरेको छ । तर व्यावहारिक कार्यान्वयनको पाटोमा यो व्यवस्था नै पर्याप्त छैन । आम नागरिक, सरोकारवाला निकाय र अधिकारवाला निकायमा समान बुझाइको खाँचो छ । जनचेतना र हरेक क्षेत्रमा निरन्तर खबरदारी गर्दै श्रमिकको हितको पक्षमा पैरवी गर्न जरुरी छ।

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ठूलो संख्या महिलाको रहेको भएतापनि उक्त श्रमको योगदानलाई कदर गरेको अवस्था छैन । प्रत्यक्ष रूपमा आय नहुने काम महिलाको नै हो भन्ने मानसिकता व्याप्त रहेको छ हाम्रो समाजमा । जसलाई कम पारिश्रमिक दिँदा पनि हुन्छ, बढी मूल्य दिनुपर्दैन भन्ने मान्यता छ । यसलाई निर्मूल गर्न कठिन पनि छ। परिवार र समाजमा अनौपचारिक श्रमिकको बहुमूल्य योगदानबारे जनचेतनामूलक अभियान र आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्ने आत्मविश्वास र शक्ति प्रदान गर्ने परिवर्तनमूलक कार्यक्रम समुदायमा गर्न जरुरी छ ।समानता र सामाजिक न्यायसहितको समाज तब मात्र सम्भव छ जब महिलाको श्रमको निःसर्त सम्मानको वातावरण बन्छ । श्रमिक महिलाहरूले आफ्नो अधिकारका प्राप्ति निम्ति आवाज उठाएको इतिहास बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हामी सबै श्रमिक महिलालाई शुभकामना।

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App