८ वैशाख २०८१ शनिबार
अन्य

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्। 

अपत्यारिलो लाग्ला, यौन शोषण घरमै हुन सक्छ, आफ्नै परिवारको कुनै सदस्यले वा नजिककै नातेदारले यौन शोषण गरेका घटनाहरू छन्। आफ्नै मिल्ने साथीले वा साथीको साथीले गरेको हुन सक्छ। बलात्कार नचिनेको मानिसले वा मानिसको समूहले गर्न सक्छ भने पटकपटकको यौन शोषण त प्रायः चिनेकै व्यक्तिबाट भएको र त्यसकै कारण विभिन्न मानसिक स्वास्थ्य समस्या भएका किशोरी, युवती र विवाहिता महिला भेटिन्छन्। 

बलात्कार त यौनजन्य अपराध हो, जुन प्रायः आवेशमा आएर महिलासँग बदला लिनका लागि, यस्तो गर्न सक्छु भन्ने देखाउन र आफ्नो शक्ति प्रदर्शनका लागि महिलाको जीवन बरबाद पार्नका लागि र जीवनभर हीन भावना लिएर बाँच्न बाध्य पार्नका लागि गरिएका हुन्छन्। बलात्कार प्रायः यौन सन्तुष्टीका लागि नभएर आफ्नो रिस र फ्रस्टेसन व्यक्त गर्ने तरिका हो। रिस र फ्रस्टेसन पीडित महिलामाथि नभएर अर्कै ठाउँको पनि हुन सक्छ। यौन बलात्कार गर्ने व्यक्ति वा समूह बन्दुक, खुकुरी, चक्कु आदि देखाई ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको हुन सक्छ। घटनाबारे कसैलाई भनिस् भने आमा–बाबु, छोरा–छोरी वा लोग्नेलाई मार्दिन्छु भनेर धम्क्याउनेहरू पनि हुँदा रहेछन्। जस्तो कुनै फिल्म वा सिरियलमा देखाइएको हुन्छ, त्यस्तै घटना हुन सक्छन्।

केही पुरुषमा भने महिलालाई पिटेर, टोकेर, पीडा दिएर, रगत देखेर, महिला रोइकराइ गरेको देखेर यौन उत्तेजना हुन्छ र यौनसम्बन्धी अपराध गर्छन् भन्ने छ। यस्ता घटनाबाट पीडित महिला मानसिक स्वास्थ्य समस्या भएर आएको भने मैले भेटेको छैन। 

यौन शोषण, यौन अपराध र बलात्कारबारे यो लेख लेख्नुको मुख्य उद्देश्य यसलाई कसरी नियन्त्रण गर्ने, कसरी बँच्ने भन्ने नै हो, जुन यस प्रकार छ:

– समाजमा जनचेतना : छोरीप्रति, महिलाप्रति, किशोरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ। महिला आमा हुन्, बहिनी हुन्, छोरी हुन्, आफ्नो नभए पनि कसैका आमा, बहिनी र छोरी हुन् भनेर आदर गर्ने दृष्टिकोण हुनुपर्छ।

– आमा, बाबु र श्रीमान् नै आफ्ना छोरी, बुहारी, श्रीमतीलाई बचाउनका लागि सतर्क हुनुपर्छ। यौन शोषण गर्ने व्यक्ति आफ्नै घरको, आफूले चिनेको, आफ्नै साथी, आफ्नै दाइ, आफ्नै श्रीमान्को साथी आदि जो कोही पनि हुन सक्ने हुनाले सतर्क रहने। आफ्नो परिवारका सबै पुरुषलाई र आफ्ना सबै नातेदार पुरुषलाई शंका गर्ने भन्न खोजेको त होइन तर विनाकाम, विनामतलब आइराख्ने, सँगै बाहिर लैजान खोज्ने, राति अबेर घर फर्कने जस्ता चालचलन छ भने होसियार हुने भन्न खोजिएको मात्र हो।

किशोरी, युवती र विवाहिता महिलाले याद राख्नै पर्ने केही कुराहरू

– बलात्कार घरमा, अफिसमा, काम गर्ने ठाउँमा जहाँ पनि हुन सक्छ। यस्तो भएमा तुरुन्तै महिलाले कडा रूपमा विरोध गर्नुपर्छ। चुप लाग्ने हो र विरोध नगर्ने हो भने यो क्रम बढ्दै जान्छ। बलात्कार हो कि हैन भनेर छुट्याउनु भने पर्छ।
– बाहिर जाँदा राम्रो चिनेको विश्वासिलो साथी वा आफ्नै परिवारसँग जाने र फर्किँदा सँगै फर्किने।
– अरूले दिएको पेय पदार्थ लिँदा होस पु¥याउने। डान्स पार्टीमा पेय पदार्थमा नशालु पदार्थ केही मिसावट हुन सक्छ झुक्याएर पेय पदार्थमा नशा लाग्ने कुरा मिलाउने चलन छ।
– एक्लै कसैको मोटर साइकल÷गाडीमा लिफ्ट नलिने।
– आफ्नो वरिपरि कस्ता मानिस छन्, के कस्तो वातावरण छ सर्तक रहने।
– अङ्ग प्रदर्शन गरेको देखेर केही पुरुषले नराम्रो अर्थ लगाउने र आकर्षित हुने गर्छन् ख्याल राख्ने। 
– कुनै समस्या प-यो भने आफ्नो रक्षा कसरी गर्ने भन्ने केही तरिकाहरू सिकिराख्ने।
– नयाँ साथी बनाउँदा निकै होसियार हुन। यौन शोषण गर्नका लागि साथी बन्न खोजेको पनि हुन सक्छ। 
– झुठो बोल्ने, ठग्ने, कुटपिट गर्ने, झगडा गर्ने व्यक्ति खतरनाक हुन सक्छन् ख्याल राख्ने।

यौन शोषण तथा बलात्कारमा परेकी महिलासँग परिवारले कस्तो व्यवहार गर्ने ?

– घटनाबारे बेलाबेलामा सोध्ने नगर्ने। त्यसो गर्दा यातना भएको झन् बढ्छ।
– मेडिकल उपचार आवश्यक छ भने लिने।
– मनोविद वा मनोचिकित्सकसँग काउन्सिलिङ लिन सकिन्छ। 

यौन शोषण वा बलात्कारबाट पीडित किशोेरी, युवती वा विवाहिता महिलालाई उनकै गल्ती हो भन्ने, दोष लगाउने, बाबुआमा वा परिवारको इज्जत फाली भन्ने चलन समाजमा छ। पीडित महिलाले कुमारीत्व गुमेको, अपवित्र भएको आदि सोचहरू राखेर आत्महत्याको प्रयास गर्ने, आत्महत्या गर्ने वा घटनालाई सकेसम्म लुकाउने चलन छ। पीडित महिलालाई दोष लगाउनुको बदला उनी समाजमा कसरी आत्मसम्मानका साथ बाँच्न सक्छिन्, सार्थकपूर्ण जीवन बिताउन सक्छिन् र हीन भावनाबाट माथि उठ्छिन् भन्नेतर्फ ध्यान दिनु आवश्यक छ।

पीडित महिलालाई कस्ता स्वास्थ्य समस्या हुन सक्छन् ?
 

– डिप्रेसन (पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डर गियुल्ट एन्ड सेम) आत्महत्या गर्ने विचार र मद्यपान तथा लागूपदार्थ दुर्व्यसनजस्ता मानसिक स्वास्थ्य समस्या हुन सक्छन्।
– त्यस्तै शारीरिक स्वास्थ्य समस्यामा तल्लो पेट बराबर दुख्ने, (इरिटेबल बाउल साइन्ड्रमे) यौनाङ्गमा पीडा, यौन रोग तथा गर्भ रहने सम्भावना हुन्छन्। 

माथि लेखिएका मानसिक तथा शारीरिक समस्या यसै पनि धेरैलाई हुन्छन्। यौन शोषण र बलात्कारले पनि यस्ता समस्या हुन सक्छन् भनेको मात्र हो। भनिन्छ (दी अमाउन्ट अफ भायोलेन्स सोउन इन मिडिया इज ड्यू टू लेक अफ सोसल कन्ट्रोल)  केही व्यक्तिहरूले देखेको वा हेरेकोलाई प्रयोग गर्न खोज्छन्। व्यवसाय बढाउने नाउँमा जे जस्तो पनि देखाइनु निश्चय पनि राम्रो होइन।

अहिलेको आधुनिक शिक्षा कुनै राम्रो पोष्टमा काम गर्न र पैसा कमाउनमा केन्द्रित छ। कस्तो खालको व्यक्ति बन्ने, यो शिक्षाले सिकाउँदैन। केटाकेटी अवस्थादेखि, किशोर–किशोरी अवस्थासम्म नैतिक शिक्षा र सामाजिक शिक्षामा जोड दिनु जरुरी भइसकेको छ।

जापानमा केटाकेटी अवस्थादेखि नै झूठो नबोल्ने, चोरी नगर्ने, र आफ्नो देशलाई माया गर्ने भन्ने सिकाइँदो रहेछ । सायद कोरिया, ताइवान र चाइनामा पनि यो सिकाइन्छ। पहिले थाइल्यान्डमा पनि सिकाइन्थ्यो। आजकल अमेरिका, बेलायतका केही स्कुलमा समेत बालबालिकालाई मैत्री ध्यान सिकाउने गरिन्छ। यसले अरू व्यक्तिलाई कसरी प्रेमपूर्वक हेर्ने, कसरी करुणाको भाव ल्याउने भन्ने सिकाउँछ। 

कसरी यौन शोषण र यौन बलात्कार नियन्त्रण गर्न सकिन्छ?

कडा कानुन बनाएर, यौन अपराधमा संलग्न व्यक्तिलाई हदैसम्मको सजाय दिएर अपराध नियन्त्रण गर्न सकिन्छ कि भन्ने एउटा दृष्टिकोण हो। यस्तो कानुन र सजाय दुवै आवश्यक छन् तर यिनले मात्र आशातीत सुधार भने हुँदैन। किनकि यौन अपराध गर्ने विचार मनमा आउने हो, यौन उत्तेजना मनमा पहिले आउँछ, अपराध गर्ने योजना मनले बनाउँछ, अपराध गर्नु ठीक हो वा ठीक होइन भन्ने निर्णय मनले गर्ने हो। त्यसैले यौन अपराधलगायत सबै खाले अपराध नियन्त्रण गर्न मनमा परिवर्तन ल्याउनु आवश्यक छ। यसैले त संसारका कतिपय जेलमा व्यक्तित्व सुधारका कतिपय कार्यक्रम चलाइन्छ। 

(लेखक वरिष्ठ मनोचिकित्सक हुन्।)

प्रकाशित: २२ फाल्गुन २०७४ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App