"

एउटा दुःखद् प्रेमकथा

मङ्गलबार, २२ फागुन २०७४, २१ : ४४ प्रा. दिनेशराज पन्त


काठमाडौँका राजा प्रताप मल्लले आफ्नो समयमा अत्यन्त कुशलतापूर्वक शासन गरेका थिए। उनी आफूलाई कविन्द्र भन्न मन पराउँथे। त्यसैगरी अभिलेखहरूमा पनि मैले बनाएको स्तोत्र हो भनेर पुज्न लगाउँथे। पाटन र भादगाउँ दुवै ठाउँका राजालाई पनि उनले दबाएका थिए। काठमाडौँ खाल्डो र त्यसभन्दा बाहिरका अन्य राज्यमा पनि मौका–बेमौकामा उनी हात हाल्न पुग्थे। वि.सं. १७३१ वैशाख ९ गते प्रताप मल्लको मृत्यु भयो। 

मल्ल राज्यमा उत्तराधिकारीको बाबुपछि जेठो छोरो राजा हुनुपर्ने ढंगको प्रस्ट धारणा विकसित भएको देखिँदैन। त्यसैले प्रताप मल्लले आफूपछि आफूलाई मनपरेकी रानीका छोरा महीपतेन्द्र मल्ललाई राजगद्दीमा बसाउनू भन्ने इच्छा जाहेर गरेका थिए। प्रताप मल्लको मृत्यु हुँदा उनका विवाहिता (ठ्याहा) पट्टिका ३ जना छोरा बाँकी थिए। अविवाहिता (मठ्याहा)पट्टिका पनि केही छोरा बाँकी थिए तर सामान्यतः अविवाहितापट्टिका छोराको राज्यमा अधिकार नहुने हुनाले उनीहरूको गणना हुँदैन थियो। विवाहिता (ठ्याहा)पट्टिका छोरामध्ये सबभन्दा कान्छा महीपतेन्द्र मल्ल थिए भने उनीभन्दा केही जेठा पार्थिवेन्द्र मल्ल थिए । पार्थिवेन्द्र मल्लभन्दा जेठा छोरा नृपेन्द्र मल्ल थिए। उनी त्यसबेला १२ वर्षका थिए । प्रताप मल्लको मृत्यु भएपछि काठमाडौँका भारदार र त्यसमा पनि विशेष गरेर प्रताप मल्लका भाइ पाटनका श्रीनिवाश मल्ल (काका सिद्धिनरसिंह मल्लका छोरा)ले दाजु हुँदाहुँदै भाइ राजा हुन सक्दैन भनेर कुरा उठाए । यसैमा द्विपक्षीय छलफल भयो । एकातिर नृपेन्द्र मल्ललाई राजा बनाउनुपर्छ भन्ने पक्ष र अर्काेतिर राजा प्रताप मल्लले इच्छ्याएअनुसार महीपतेन्द्र मल्ललाई नै राजा बनाउनुपर्छ भन्ने पक्ष थियो । त्यसले गर्दा सामान्यतः राजाको मृत्युको १३ दिनपछि नयाँ राजा हुने परम्पराको प्रतिकूल तीन महिनासम्म काठमाडौँको गद्दी खाली रह्यो । नेपालको इतिहासमा यो एउटा नौलो कुरा हुन गएको छ । अन्त्यमा जेठा नृपेन्द्र मल्ल नै राजगद्दीमा बस्न योग्य हुन्छन् भन्ने निर्णय भयो र नृपेन्द्र राजा भए ।

१२ वर्षका राजाले राजकाज गर्नु सम्भव थिएन । त्यसैले त्यसबेलामा मन्त्रीहरूको अधिकार बढ्नु स्वाभाविक थियो । प्रताप मल्लको पालामा देवीदास नामका भारदार थिए । उनको प्रसिद्ध नाम टिकुटी थियो । उनको काठमाडौँ, पाटन र भक्तपुर तीनै सहरमा घरजग्गा थियो । नृपेन्द्र मल्ल राजा भएपछि तिनै टिकुटी चौतारा अर्थात् मुख्यमन्त्री भए । मुख्यतः टिकुटीले नै शासन गर्न थाले र उनले आफ्ना परिवार र आफ्ना वरिपरिका मानिसलाई ठूला–ठूला पदमा राखे । ६ वर्ष राज्य गरेपछि वि.सं. १७३७ जेठमा १८ वर्षको उमेरमा नृपेन्द्र मल्लको मृत्यु भयो । नृपेन्द्र मल्लका कुनै सन्तान थिएनन् । त्यस कारण उनका भाइ पार्थिवेन्द्र मल्ल त्यसपछि राजा भए । पार्थिवेन्द्रको पालामा पनि टिकुटी नै मुख्यमन्त्री भइरहे । वि.सं. १७४० तिर पुग्दा टिकुटी धेरै कालसम्म शासनमा बसेको हुनाले उनका विरोधीहरू बढ्दै गए । उनलाई नाश गर्नुपर्छ भन्ने ठूलो भारदार समूह काठमाडौँमा खडा हुन थाल्यो । त्यसैले उनी काठमाडौँबाट भागेर कहिले पाटन, कहिले कतै गर्दै गएर कुनै बेला त त्रिशूलीपारिको बुधसिं भन्ने ठाउँमा समेत पुगे । बुधसिं त्यसबखत गोरखा राज्यअन्तर्गत पथ्र्यो । गोरखाका राजा पृथ्वीपति शाह त्यसबेला शासन गर्थे । केही समयको अन्तरालपछि टिकुटी पुनः काठमाडौँ आएर बस्न थाले । टिकुटी भागेपछि पाटनका राजा आएर नयाँ मन्त्रिमण्डल गठन गरिदिएका थिए । त्यसमा लक्ष्मीनारायण जोशी, बावत, जयकृष्ण र उनका छोरा श्रीकण्ठु गरी ४ जनाको मन्त्रिपरिषद् गठन भयो । त्यसमा सोझै मुख्यमन्त्री लक्ष्मीनारायणलाई भनिएन तर एक नम्बरमा राखेको हुनाले उनी मुख्य भएर शासन चलाउन थाले । पार्थिवेन्द्र मल्लकी रानी मिथिला प्रदेशकी रिद्धिलक्ष्मी थिइन् । सम्पर्क हुँदै जाँदा लक्ष्मीनारायण जोशीको रिद्धिलक्ष्मीसँग लसपस सुरु भयो । यसैको फलस्वरूप वि.सं. १७४४ आषाढमा पार्थिवेन्द्र मल्ल र उनकी आमासहित उनका परिवारहरूमा विष प्रयोग भयो । विष प्रयोग हुँदा राजा पार्थिवेन्द्र मल्ल त मरे तर उनका आमाहरू निकै बिरामी भए पनि बाँच्न भने समर्थ भए।

पार्थिवेन्द्र मल्लको मृत्यु विष प्रयोगबाट भएको काठमाडौँका जनताले थाहा पाएपछि उनीहरू हनुमान ढोका दरबार अगाडि जम्मा भए । त्यहाँ उनीहरू हाम्रो राजालाई मार्ने को हो ? त्यसलाई खोज्नुप¥यो, तिनलाई हामी मार्छांै भनेर हुलका हुल उठेर कराउन थाले । कतिले शान्त गराउन खोजे तर सकेनन् । भक्तपुरका राजा जितामित्र मल्ल आएर तिम्रा राजालाई मार्ने मान्छे म खोजिदिन्छु, तिमीहरू आ–आफ्नो घर जाओ, यसरी हल्लाखल्ला नगराओ भने । 

यस घटनामा लक्ष्मीनारायण र उनकी प्यारी रिद्धिलक्ष्मीको कारणले विष प्रयोग भएको थियो । त्यो कारण खुलेको भए त दुवैको त्यसैबेला अवसान हुन्थ्यो । चतुर लक्ष्मीनारायणले यसै मौकामा आफ्ना प्रतिद्वन्द्वी टिकुटीलाई सिध्याउने योजना बुने । त्यसबेला टिकुटी धर्मकर्म गरेर पशुपति र देउपाटनतिर बसेका थिए । लक्ष्मीनारायणले टिकुटी र बहालवाला मन्त्री वंशिधरले आफ्ना मान्छे लगाएर राजा मारेका हुन् भनी हल्ला मच्चाए । र, पछि टिकुटी, वंशिधर र टिकुटीका अनुयायीहरूलाई राजद्रोही ठह¥याई मारिए । 

दाजु पार्थिवेन्द्र मल्लकै पालामा यताउता लाग्न बाध्य भएका महीपतेन्द्र पार्थिवेन्द्र मल्लको मृत्युपछि बढी सकसमा परे । राजमाता भाउजू रिद्धिलक्ष्मी र चौतारा लक्ष्मीनारायणको चर्तिकला हेर्न बाध्य महीपतेन्द्र यताउता लाग्न थाले । कुनै बेला पाटनमा बसेका उनी पछिल्लो समय पशुपति क्षेत्रमा गई बसेका थिए । लक्ष्मीनारायणले उनलाई त्यहाँबाट धपाउन अनुरोध गर्दा पनि पशुपतिका पुजारी राघवानन्द स्वामीले मानेका थिएनन् । तर लक्ष्मीनारायणले सिपाही पठाई महीपतेन्द्रलाई मारे । महीपतेन्द्रलाई बलजफ्ती मारेपछि यस्ता पापीको राज्यमा बस्दिनँ भनी राघवानन्द स्वामी काठमाडौँ राज्य छाडी हिँडे । महीपतेन्द्रको काटिएको टाउको हेरी लक्ष्मीनारायण जोशी दङ्ग परे । दाजु पार्थिवेन्द्र मारिएको दुई महिनापछि वि.सं. १७४४ भाद्रमा मारिएका महीपतेन्द्र मल्लको काजक्रिया गर्न पनि लक्ष्मीनारायण जोशीले दिएनन् । मारिएको २५ वर्षपछि वि.सं. १७६९ भाद्र ३१ मात्र जन्मपत्रिकाको अग्निसंस्कार गरी महीपतेन्द्र मल्लको काजक्रिया गरियो।

राजा पार्थिवेन्द्रको मृत्युपछि उनका ८ वर्षका छोरा भूपालेन्द्र मल्ल काठमाडौँको गद्दीमा राखिए । चौतारा पद लक्ष्मीनारायण जोशीले पाए । लक्ष्मीनारायणको प्रेममा हुरुक्क भएकी रानी रिद्धिलक्ष्मी यसपछि प्रेममा फुकुवा नै भइन् । यसपछि त उनी झनै खुलस्त रुपमा लक्ष्मीनारायणसँग प्रेम अभिव्यक्त गर्ने र उनीसितै बस्ने गर्न थालिन् ।

राजा भूपालेन्द्र कलिलै भएकाले अब काठमाडौँ राज्य लक्ष्मीनारायणकै पेवा जस्तो हुन गयो । उनी शक्तिशाली हुँदै गए । उनले प्रताप मल्लले भन्दा पनि वरिपरिका राजालाई तर्साएर राज्य सञ्चालन गरे । आफूलाई मन परेन भने भक्तपुरका राजालाई पनि (त्यतिबेला पाटनमा पनि योगनरेन्द्र मल्ल राजा भइसकेका थिए) घेरेर अपहरण गरी ल्याउने, आफूकहाँ ल्याएर भनेअनुसार गर्न लगाउने गर्थे । त्यस बेला भक्तपुरका राजा जितामित्र मल्लका शक्तिशाली र प्यारा भागिराम भन्ने मुख्यमन्त्री थिए । भागिरामविरुद्ध जनतालाई उठाएर घर तोडफोड गराउने, कामै गर्न नदिने वातावरण लक्ष्मीनारायणले  सिर्जना गरे । उनी ज्यान जोगाउन भनेर भाग्दै त्रिशूलीपारिको कल्लेरी भन्ने ठाउँमा पुगे । त्यो गोरखा राज्यअन्तर्गत पथ्र्यो । वरिपरिका राज्यलाई कज्याउन लक्ष्मीनारायणले यस्तो उपद्रो गर्थे ।

१०४ वर्षसम्म शासन गरेका राणाहरूले त्यति शक्तिशाली हुँदा पनि गर्न नसकेको काम लक्ष्मीनारायणले त्यो बेलै गरे । राणाहरूले आफू शक्तिमा रहँदा पनि मुद्रामा आफ्नो नाम कुँदाएका थिएनन् तर लक्ष्मीनारायण कति शक्तिशाली थिए भने वि.सं. १७४७ मा एकातिर राजा भूपतीन्द्र मल्लको नाम र अर्काेतिर लक्ष्मीनारायण आफ्नो नाम राखेर मोहोर निकाले । यसरी सर्वशक्तिशाली राणाहरूले गर्न नसकेको काम पनि लक्ष्मीनारायणले गरे । वि.सं. १७१९ को एउटा सुकीमा एकातिर भक्तपुरका राजा जगत्प्रकाश मल्लको र अर्कोतर्फ चौतारा चन्द्रशेखरको नाम कुँदिएको कुरा यस प्रसंगमा स्मरणीय छ । लक्ष्मीनारायण जोशीले अहिले हामीले जुन जैशीदेवल भनेर चिन्छौं, त्यो बनाएका थिए । त्यस टोललाई अझै पनि न्हुँः गल टोलका नामले चिनिन्छ । लक्ष्मीनारायणले त्यहाँ योगेश्वर महादेवको ठूलो मन्दिर बनाए । लक्ष्मीनारायण जोशीले १७४५ वैशाखमा प्रतिष्ठा गरेको यो मन्दिर जोशी बनाएकोले पछि जैशीदेवलका रुपमा प्रसिद्ध भयो र टोलकै नाम पनि जैशीदेवल कहलिन थाल्यो । 

यो मन्दिरको रेखदेख तथा पूजापाठ गर्न भनी उनले आफ्ना पुरेतलाई १२ रोपनी जग्गा दानमा दिएका थिए । त्यस बेला उनले एक–एक मोहर दक्षिणा दिए भन्ने बयान ठ्यास फुमा पाइन्छ । त्यो बेलाको एक मोहोर भनेको ठूलो धनराशि थियो । यति मात्र होइन, उनले राजमाता रिद्धिलक्ष्मी र राजा भूपालेन्द्रीसँग मिलेर वि.सं. १७४६ कात्तिकमा ठूलो गजूरको स्थापना गरे । उनले वि. सं. १७४७ सम्म रजगज गरे । उनको घर मरु टोलमा थियो तर शक्तिमा आएलगत्तै अक्सर उनी दरबारमा रानी रिद्धिलक्ष्मीसँग बस्न थाले । उनी रानी रिद्धिलक्ष्मीसँग एउटै पलङमा बसेको बयान पनि पाइन्छ । राजमातासँग बस्दा राजा लगाउने लुगा लगाएर बस्ने गरेको बयान पनि पाइन्छ । 

वि.सं. १७४० देखि शासनमा आएका र वि.सं. १७४४ देखि पूर्ण शक्तिमा आएका लक्ष्मीनारायणको परस्त्री गमन आदि पापको घडा भरियो । वि.सं. १७४७ भाद्रमा अवशान भयो । मरु टोलको आफ्नो टोलमा बसिरहेका बेला केही खसहरूले लक्ष्मीनारायण जोशीलाई आक्रमण गरे । लक्ष्मीनारायण भाग्दै हनुमानढोका दरबारतिर आए । तर बाटैमा खसहरूले खुकुरीले उनलाई काटे । सुनको बाला लगाएको हात पनि काटेर बाला लुटे । यसरी तीन वर्षसम्म काठमाडौँ राज्यलाई पूरा कब्जामा लिई वरिपरिका राज्यलाई तर्साई राजमाता रिद्धिलक्ष्मीलाई भोग्दै राज्य गरिरहेका लक्ष्मीनारायण जोशीको इहलीला समाप्त भयो ।  राजमाता रिद्धिलक्ष्मीले आफ्नो नाठो लक्ष्मीनारायण जोशीको शरीरबाट बगेको रगत चाँदीको भाँडामा उठाइन् र शवलाई दाहसंस्कार गर्न पठाइन् ।

क्रमशः भूपालेन्द्र मल्ल ठूलो हुँदै गए । यसपछि शासनमा  सहयोग गर्न अन्य चौतारा नियुक्त भए भने राजमाता रिद्धिलक्ष्मीले पनि शासनमा सहयोग गरिन् । भूपालेन्द्र मल्ल ठूलै हुँदै आएपछि उनले आफ्ना बाबु पार्थिवेन्द्र मल्लको मृत्युमा आफ्नी आमा रिद्धिलक्ष्मी र लक्ष्मीनारायण जोशीको हात छ भन्ने कुरा सुन्न थाले । यसपछि राजमाता र राजामा मतभेद सुरु भयो । त्यसपछि राजा भूपालेन्द्र आमासँग रिसाएर दरबारबाहिर गएर बस्न थाले । राजामाता र राजा भूपालेन्द्र मल्ल हनुमान ढोका दरबारको मोहन चोकमा बस्थे । पछि राजाले आफ्नी आमालाई मोहन चोकबाट निकाली दरबारको सामान्य खण्डमा राख्न लगाए । केही समयपछि काठमाडौँ सहरबाट निकाली टोखामा आमालाई पठाइदिए । यसको केही कालपछि हिमाली भेगको टौथलीमा बन्दी बनाएर राखे । वि.सं. १७५४ मा टौथलीमा पठाइएकी राजमाता रिद्धिलक्ष्मीको १७५७ वैशाखमा टौथलीमै मृत्यु भयो । यसरी तराईको गर्मीमा जन्मिएकी रिद्धिलक्ष्मीको समशीषोष्ण प्रदेश काठमाडौँमा केही वर्ष परपुरुषगमन आदि रगजग हुँदै शीतप्रदेश टौथलीमा निधन भयो ।

यसरी एउटी रानीले आफ्नो महत्वाकांक्षा र आफू अनुकूलको प्रेमी खोज्दा बुढेशकालमा दुःख मात्र पाइनन्, बेइज्जतीपूर्वक देशनिकालामा पर्नुप-यो भने एकान्तमा मृत्युवरण गर्नुप-यो ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। ...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...