७ वैशाख २०८१ शुक्रबार
अन्य

जनावरसँग रमाउने बढे

चितवन टाँडी घर भएकी सुजिता काफ्ले शनिबार जावलाखेलस्थित सदर चिडियाखानाभित्र बाघ राखिएको ठाउँनजिकै भेटिइन् । उनी जालीले घेरिएको बारबाट बाघलाई चियाउँदै थिइन् । यसअघि उनले प्रत्यक्ष रूपमा बाघलाई हेर्न पाएकी थिइनन् । चिडियाखाना पुगेर बाघ हिँडेको हेर्ने उनको ठूलो रहर थियो।

चिडियाखानाभित्र रहेको बाघ भने सुतिरहेको थियो । कक्षा १२ मा अध्ययनरत उनी बाघ नब्युँझिएपछि बाघकै जस्तो स्वर निकालेर ब्युँझाउने कोसिस गर्दै थिइन् । ‘अहिलेसम्म प्रत्यक्ष रूपमा बाघ देखेकी थिइनँ,’ उनले भनिन्, ‘बिदाको मौकामा दादाहरूसँग चिडियाखाना घुम्न आएको ।’चिडियाखाना घुमेको उनको यो पहिलो अनुभव हो । ‘बरु हात्ती र चितुवा देखेकी थिएँ,’ उनले भनिन्, ‘यहाँ आएर नाम थाहा नभएका जनावर पनि देख्न पाएँ।’

उनीजस्तै चिडियाखानाभित्र रमाउँदै थिइन्, काभ्रे नाला घर भएकी उषा तिम्लिसिना । उनलाई जनावरसँग जिस्कन र रमाउन मनपर्छ । त्यसैले पनि महिनाको एकपटक चिडियाखाना पुग्ने गरेको उनले सुनाइन् । ‘जनावरसँग रम्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन्, ‘हामीले कतै नदेखेका जनावर र चराचुरुंगीहरू पनि जुभित्र हेर्न पाइन्छ, चिडियाखानाले यो अवसर पनि दिएको छ ।’ बिदाको दिन अन्य ठाउँ घुम्न जानुभन्दा चिडियाखानामा आउँदा दुवैखाले फाइदा पुग्ने उनको बुझाइ छ । ‘चिडियाखानाभित्र पसेपछि खेल्ने, रमाउने, आफन्त भेट भएर भलाकुसारी गर्नेदेखि लोप हुन थालेका जनावरबारे पनि ज्ञान लिन सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले प्रायः म यहीँ आउँछु।’

हिजोआज तिम्लिसिनाजस्तै चिडियाखाना घुम्न र रमाउन आउनेको भीड लाग्छ । प्राकृतिक दृश्य नियाल्न, बिदा मनाउन, जनावर हेर्न र केही छिन भए पनि सहरको कोलाहलबाट आनन्दको अनुभूत होस् भनेर मानिसहरू चिडियाखाना पुग्छन् । चिडियाखानाभित्र गफिने, किताब पढ्ने, खाजा खाने, फोटो खिच्नेलगायत गतिविधि भइरहेको देखिन्छ।

यहाँ रमाउने र आनन्द लिने ठाउँ पनि धेरै भएकाले अन्तभन्दा चिडियाखानामै घुम्न जानु उपयुक्त ठान्छन्, ललितपुर इमाडोलका आयुष भण्डारी । उनी बिदाको दिन परिवारसँग घुम्न चिडियाखाना नै पुग्ने गरेको बताउँछन् । ‘हामीलाई भन्दा पनि साना केटाकेटीलाई चिडियाखाना घुम्ने रहर हुन्छ,’ उनले भने, ‘बिदाको दिन नानीबाबुले जु जाउँ भनेर हैरान पार्छन्, त्यसैले आएको ।’ उनले भर्खरै स्कुल पढ्दै गरेका विद्यार्थीहरू चिडियाखाना धेरै आउने गरेको सुनाए । ‘हामी अभिभावकले पनि बिदाको दिन आफ्ना नानीबाबुलाई अरु ठाउँमा घुमाउनुभन्दा चिडियाखानामै ल्याउनु राम्रो हुन्छ,’ उनले भने, ‘यहाँ ल्याउँदा जनावरबारे उनीहरूले धेरै थाहा पाउन सक्छन् ।’

पहिले–पहिले उपत्यकाभित्र घुम्ने र रमाउने ठाउँ कम थिए । त्यतिबेला मानिसहरू बिदा मनाउन चिडियाखानामै पुग्थे । पछिल्ला समय उपत्यकाभित्र घुम्ने र आनन्द लिने धेरै ठाउँ थपिएका छन् । मानिसहरू फरक–फरक ठाउँमा बिदा मनाउन र रमाउन पुग्छन् । यद्यपि सदर चिडियाखाना घुम्न आउनेको संख्या भने हरेक वर्ष बढ्दै गएको छ । सदर चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले हिजोआज चिडियाखाना घुम्न आउनेको भीड लागेको जानकारी दिए।

उनका अनुसार चिडियाखाना घुम्नका लागि उपत्यका बाहिरबाट पनि धेरै मानिस आउने गर्छन् । बिदाको दिन घुम्न आउने विद्यार्थीको संख्या बढी हुने उनले बताए । ‘विदेशी पर्यटक र उपत्यका बाहिरका मानिस चिडियाखाना घुम्न आउने क्रम बढेको छ,’ उनले भने, ‘मुख्यतः जनावर हेर्नेकै लागि मानिस चिडियाखाना पुग्छन् ।’ उनले गत वर्षसम्म वार्षिक आठ–नौ लाखले चिडियाखाना अवलोकन गरेकामा यो वर्ष बढेर ११ लाख पुगेको बताए । ‘यो देशैभरका मानिसको गन्तव्य हो,’ उनले थपे ‘अहिले चिडियाखानाभित्र हरियाली र खेल्ने ठाउँ पनि बढाएका छौँ, त्यसैले पनि घुम्न आउनेको संख्या बढेको हो।’

६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखामा अहिले एक सय चार प्रजातिका सात सयभन्दा बढी ५४ वन्यजन्तु छन् । राणा प्रधानमन्त्री जुद्धशमशेरले १९८९ सालमा आफ्नो मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको चिडियाखाना २०११ देखि सबैका लागि खुला गरिएको हो । ०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको चिडियाखानालाई सकेसम्म मौलिकस्वरूप दिने गरी उद्यान बनाउने निर्णय सरकारले गरेको हो।  
 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App