७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

सागर लम्साल (बले), हाँस्य कलाकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई पोखरा प्रिय लाग्छ । पोखरा व्यवस्थित र प्रदूषणमुक्त पनि छ । मानिसको चाप पनि त्यति छैन । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । पोखरा सहरनजिकै गाउँ भेटिन्छन् ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मलाई केही कारण मात्रै राम्रो लाग्छ । मैले कलाकारिता करिअर नै काठमाडौंबाट सुरु गरेँ । यहीँबाटै मैले आफूलाई चिनाउन पाएँ । यसकारण काठमाडौं मलाई प्यारो लाग्छ । तर, यहाँको ज्यानमारा सडक, टाउको दुख्ने ट्राफिक जाम, थेग्नै नसक्ने मानिसहरूको भीड, नेताहरूको गद्दारीपन देख्दा काठमाडौं वाक्क–दिक्क लाग्छ। यहाँका सरकारी निकायले दिने झन्झट र जनताको जीवनमाथि गरेको खेलवाड देख्दा हामी संसारकै अभागी हौँ भन्ने पनि लाग्छ। कतै–कतै विकास निर्माणका काम भएको देख्दा खुसी लाग्छ, तर सरकारी कामकाज कहिले सकिने भन्ने नै टुंगो हुन्न । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ, यसैले पनि हो, सहरको विकास नभएको 

तपाईंको विचारमा कसरी काठमाडौंलाई व्यवस्थित बनाउन सकिएला ?
सरहरको विकास गर्ने मुख्य जिम्मेवार निकायले काम नगरेपछि सहर बिग्रिएको हो। राजधानीको राजनीति ठीक नभएरै सहर कुरूप भएको हो। सरकारले चाहने हो भने, सहरलाई केही वर्षमै सपार्न सक्छ, तर सरकारी निकायको काम सुस्त छ। दश मिटरको सडक पिच गर्न पनि वर्षौं लाग्छ। अर्को कुरा, सहरवासी कसैले पनि सहर सफा राख्नु मेरो दायित्व हो भन्ने बुझेनन् । अहिलेका वातावरणमन्त्रीको जाँगर हेर्दा अब काठमाडौं सुध्रिन्छ कि भन्ने लाग्छ।

नेपालका अन्य कुन–कुन सहर घुम्नुभएको छ ?
प्रायः सबैतिर पुगेको छु। उपत्यका बाहिरका सहरमध्ये पोखरा, धरान, विराटनगर, नेपालगन्ज, धनगढी पनि राम्रो लाग्यो। उपत्यका बाहिरका सहरबाट अनेकौँ प्राकृतिक दृश्य नियाल्न पाइन्छ।

कुन कुन देशका सहर घुम्नुभएको छ ?
अस्टेलिया, अमेरिका, कोरिया, मलेसिया, क्यानडा लगायत सातवटा भन्दा बढी देशका केही सहर पुगेको छु। घुमेकामध्ये लन्डन, मस्को, सिड्नी, मेलबर्न, क्यालिफोर्निया लगायत सहर मनपर्‍यो । यी सहर व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त छन् ।

विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
रमाइलो लाग्यो। नेपालका सहरभन्दा विदेशका सहर निकै भिन्न रहेछन्। त्यहाँका सहर नीति–नियम र कानुनले चलेका छन् । सबैतिर व्यवस्थित छ। सहरमा कसैले पनि मनपरी गर्न पाउँदैनन्। हाम्रोमा त भ्रष्ट नेताहरूको सोचले सहर चलेको छ । सहरमा कुनै पनि विषय चुस्त छैन ।

हाम्रा सहर किन त्यस्तै बन्न नसकेका होलान् ?
हामीले नै नगरेर हाम्रा सहर पछि परेका हुन्। अब हामीलाई विदेशी सहरजस्तै विकसित बन्न २०औँ वर्ष लाग्न सक्छ, त्यो पनि काम गर्ने हो भने। नेपालमा पाइने प्राकृतिक सौन्दर्य विदेशी मुलुकमा कमै पाइन्छ। हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन्, मात्रै तिनलाई व्यवस्थित पार्न सकेनौँ । जसकारण विकासका काममा पनि हामी पछि पर्‍यौँ ।

तपाईंको सपनाको सहर कस्तो होला ?

म बसेको सहर सफा र स्वच्छ होस्। सबैखाले सुविधा होऊन्। कतै पनि भद्रगोल नदेखियोस् । काम गरेर खाने वातावरण मिलोस् । सहरवासीमा पनि सहयोगी भावना देखियोेस् । दुःख पर्दा एकले अर्कोलाई हात दिऊन् । यति हुने हो भने सहर व्यवस्थित पनि बन्छ होला।

काठमाडौंको नराम्रो पक्ष के लाग्छ ?
धराप सडक, ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भीडभाड, प्रदूषणलगायत पक्ष नकारात्मक लाग्छ।

राम्रो लाग्ने पक्ष ?
सांस्कृतिक सम्पदा, जात्रा पर्वहरू, मठ–मन्दिर, अनुकूल मौसम यहाँको राम्रो पक्ष हो । काठमाडौैंमा सबैखाले सेवा–सुविधा पनि पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो ।

सहरवासीको बानी कस्तो लाग्छ ?
ठीकै लाग्छ । हामी सहरवासी सहरको विकासबारे जति उत्तरदायी हुनुपर्ने हो, त्यति छैनौँ कि जस्तो लाग्छ । अरु देशका सहरमा नागरिकले सहरलाई मान्छेलाई जस्तै माया गर्छन् । फोहोर गर्दैनन् । हाम्रोमा कसैलाई मतलब छैन । सहरवासीकै गलत सोच र प्रवृृत्तिले सहर बिग्रिएजस्तो लाग्छ ।

उपत्यकानजिकै घुम्न जानुपर्‍यो भने कहाँ जानुहुन्छ ?
कहिलेकाहीँ फुर्सद भएका बेला नगरकोट र पाचँखालतिर घुम्न गइन्छ ।

पछिल्लोे समय घुमेको सहर ?
पछिल्लो समय पोखरा पुगेर आएको थिएँ ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मन भएर पनि पुग्न नपाएको सहर धनकुटा हो । हेरौँ, समय जुर्‍यो भने त्यहाँ पनि छिटै पुग्नेछु।

उपत्यकाको मनपर्ने खानेकुरा ?
सबैखाले खानेकुरा मीठो लाग्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App