६ वैशाख २०८१ बिहीबार
अन्य

सिनामंगल–नयाँ बसपार्क रुटमा ठूला बस

काष्ठमण्डप
आगामी वैशाखदेखि सिनामंगल–नयाँ बसपार्क रुटमा सानाखाले सवारीसाधन हट्ने भएको छ । नयाँ बसपार्क–गोंगबु–लैनचौर–रत्नपार्क–डिल्लीबजार–मैतीदेवी–पुरानो बानेश्वर हुँदै सिनामंगल रुटमा ठूला सवारीसाधन मात्र चल्ने छन्।

हाल यो रुटमा सफा ट्याम्पो र माइक्रोबस चलिरहेका छन् । उपत्यका दिगो सहरी यातायात आयोजना वैशाखबाट यो रुटमा १७ वटा ठूला बस सञ्चालनको तयारीमा छ । ‘मास ट्रान्सपोर्टेसन’ कार्यान्वयनका लागि ‘पाइलट प्रोजेक्ट’का रूपमा यो रुटमा ठूला सवारीसाधन चलाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए।
‘आयोजनाले ठूला बस खरिदका लागि टाटा मोटर्ससँग सम्झौता गरिसकेको छ,’ उनले भने, ‘चैतको अन्तिममा बस आइपुग्ने र वैशाख सुरुदेखि नै चलाउने योजना छ ।’बस सञ्चालनमा आएसँगै यो रुटमा चलिरहेका सफा टेम्पो तथा माइक्रोबस राजधानीकै अरु कुनै रुटमा सारिने आयोजनाले जनायो । यो रुटमा ठूला बस मात्रै चलाउने योजना ल्याउँदा त्यहाँ सवारीसाधन चलाइरहेका व्यवसायीले विरोध गरेका थिए।

बस खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत सहुलियत ऋण, एसियाली विकास बैंक (एडिबी)ले १५ प्रतिशत अनुदान र बाँकी पाँच प्रतिशत आयोजनाले लगानी गर्ने भएपछि भने व्यवसायी सहमति भएका हुन् । यो रुटमा ठूला बस चलाउँदा भने कम्पनीमार्फत चलाउनुपर्नेछ । हाल यातायात व्यवसायीले समितिमार्फत सवारीसाधन चलाउने गरेका छन् । व्यवसायीले पनि सार्वजनिक यातायात कम्पनी दर्ता गरेर बस खरिद प्रक्रिया अगाडि बढाएको आयोजनाले जनाएको छ।

कम्पनीले हाल्ने अपांगमैत्री बसको ४० भन्दा बढी सिट क्षमता हुनेछ । निःशुल्क वाइफाई र एलइडी टिभीजडित बसमा चढ्न र ओर्लनका लागि छुट्टाछुट्टै ढोका हुनेछन् । बसमा सिसिटिभी क्यामेरा समेत जडान गरिएको हुनेछ ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App